काठमाडौं– कांग्रेस नेता अफताब आलमलाई सफाइ दिएको फैसलामाथि उठेका प्रश्नका कारण छानबिनमा तानिएका दुई न्यायाधीशमाथिको अनुसन्धान डेढ वर्ष बित्दा पनि टुंगिएको छैन ।
उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारू र अर्जुन महर्जनमाथि न्यायपरिषद्ले २०८२ असार ५ गतेदेखि छानबिन थालेको थियो ।
सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको नेतृत्वमा गठित समितिले करिब ६ महिनाअघि नै प्रतिवेदन बुझाए पनि परिषद्मा छलफल र निर्णय हुन सकेको छैन ।
न्यायाधीशद्वयले २०८२ जेठ १४ गते राजापुर बम विस्फोट तथा इँटाभट्टामा जलाएर हत्या गरिएको भनिएको घटनामा आलमसहितका आरोपीलाई सफाइ दिएका थिए ।
जिल्ला अदालत रौतहटले भने आलमसहित चार जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।
फैसलामा प्रमाणको उचित मूल्यांकन नभएको र सुनुवाइ हतारमा गरिएको भन्दै पीडित परिवारले न्यायपरिषद्मा उजुरी दिएका थिए ।
फैसलाको समयमा तत्कालीन कानुनमन्त्री अजयप्रसाद चौरसिया र न्यायाधीशहरूबीच पटक–पटक कुराकानी भएको दाबीसहित कल डिटेल विवरणसमेत परिषद्मा पुगेको थियो ।
पीडित परिवारका तर्फबाट श्रीनारायण सिंहले २०८२ असार २ गते उजुरी दिएका थिए ।
उनका छोरा त्रिलोकप्रताप सिंह (पिन्टु) र अर्का युवा ओसी अख्तरलाई २०६४ चैत २७ गते बम विस्फोटमा घाइते भएपछि इँटाभट्टामा जलाएर हत्या गरिएको प्रहरी अनुसन्धानको निष्कर्ष थियो ।
उच्च अदालतको फैसलापछि आलम कारागारमुक्त भएका थिए ।
उनको गत वर्ष कात्तिकमा मृत्यु भइसकेको छ ।
फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले २०८२ साउन २ गते सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
उक्त मुद्दा अहिले विचाराधीन छ ।






















