images
images
  • प्रधानमन्त्री बालेनको भारत भ्रमण : भारतमा राजकीय सम्मान, नेपालमा राष्ट्रप्रमुखकै अपमान

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारत भ्रमणलाई लिएर उनको कूटनीतिक कार्यशैली र राज्यको संस्थागत मर्यादाबारे बहस सुरु भएको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार नयाँदिल्ली पुगेका शाहले नेपालबाट प्रस्थान गर्दा नेपाली सेनाको गार्ड अफ अनर र औपचारिक बिदाइ समारोह अस्वीकार गरे पनि भारतमा भने राजकीय सम्मान ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

    प्रधानमन्त्रीले विदेश भ्रमणअघि राष्ट्रपति, पूर्वप्रधानमन्त्री तथा प्रमुख राजनीतिक दलहरूसँग राष्ट्रिय हितका विषयमा परामर्श गर्ने स्थापित अभ्याससमेत पालना नगरेको भन्दै आलोचना भइरहेको छ ।

    भारतसँगको सम्बन्ध, हवाई प्रवेश मार्ग, व्यापार, पारवहन, ऊर्जा र सीमा विवादजस्ता महत्वपूर्ण विषयमा राष्ट्रिय सहमति निर्माणको प्रयास नभएको टिप्पणी गरिएको छ ।

    त्यस्तै, विमानस्थलमा प्रधानमन्त्रीलाई बिदाइ गर्न पुगेका कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुदन गुरुङ र रास्वपा प्रवक्ता जगदीश खरेल एप्रोन क्षेत्रमा आवश्यक सुरक्षा पोसाकबिना पुगेको विषय पनि विवादमा आएको छ ।

    भारतमा प्रधानमन्त्री शाहलाई विमानस्थलमा सांस्कृतिक कार्यक्रमसहित स्वागत गरिएको थियो ।

    सोमबार राष्ट्रपति भवनमा औपचारिक स्वागत तथा गार्ड अफ अनर ग्रहण गर्ने, राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्ने र भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम छ ।

    करिब २५ घण्टाको दिल्ली बसाइमा सरकारी तथा कूटनीतिक भेटघाटलाई प्राथमिकता दिइएको छ ।

    नेपाली समुदाय, भारतस्थित नेपाली दूतावासका अधिकारी तथा विपक्षी दलका नेताहरूसँग भेटघाटको कार्यक्रम भने राखिएको छैन ।

    नेपाल–भारत बिजनेस फोरमलाई सम्बोधन गर्ने कार्यसूची छ ।

    भ्रमणमा महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषय प्रमुख एजेन्डामा छ ।

    साथै करिब दुई अर्ब अमेरिकी डलर बराबरको अनुदान तथा सहुलियतपूर्ण ऋण, ऊर्जा व्यापार, जलविद्युत्, प्रसारण लाइन, व्यापार तथा पारवहन र विपद्पछिको पुनर्निर्माणमा भारतीय सहयोग जुटाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

    यसैबीच, प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच आइतबार नयाँदिल्लीमा भेटवार्ता भएको छ ।

    भेटमा कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा, संस्कृति, शिक्षा तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    भारतमा राजकीय सम्मान ग्रहण गर्ने तर नेपालमा स्थापित औपचारिक अभ्यास अस्वीकार गर्ने प्रधानमन्त्रीको शैलीले राज्यको संस्थागत मर्यादा, कूटनीतिक परम्परा र प्रधानमन्त्रीको प्राथमिकताबारे नयाँ बहस सिर्जना गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images