काठमाडौं – मलेसिया बायोमेडिकल प्रकरणमा सभामुख डोलप्रसाद (डीपी) अर्याल पनि छानबिनको घेरमा परेका छन्। १ अर्ब ६९ करोड रुपैयाँ विदेश पठाइएको प्रकरणमा दुई पूर्वश्रममन्त्रीसहित उच्च अधिकारी पक्राउ परेपछि अनुसन्धानका क्रममा हराएका भनिएका सरकारी कागजातले तत्कालीन श्रममन्त्री तथा वर्तमान सभामुख डीपी अर्यालको नाम पनि विवादमा परेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘फेला नपारेका’ दुई पत्र सभामुख डीपी अर्यालको पालामा पनि मलेसिया पठाउन प्रयोग भएका कारण उनी विवादमा परेका हुन्। ती हराएका पत्र यसबेला फेला परेपछि सभामुख समेत छानबिनको घेरामा परेका हुन्। यस प्रकरणमा यही प्रकृतिको अभियोगमा केही पूर्वमन्त्री तथा प्रशासक हिरासतमा छन्। तर त्यही प्रकरणमा सभामुख अर्यालको नाम आएपनि अनुसन्धान सुरु नहुँदा यसमा धेरै प्रश्न उठेको छ।
नेपाली श्रमिकको बाध्यता र पसिनामाथि खडा गरिएको भनिएको मलेसिया रोजगारीको मेडिकल सिन्डिकेट प्रकरणले अहिले नेपालको राजनीतिक तथा प्रशासनिक वृत्तमा ठूलो तरंग पैदा गरेको छ। रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क उठाएर अर्बौं रुपैयाँ विदेश पठाइएको घटनामा तत्कालीन श्रममन्त्रीदेखि मन्त्रालयका उच्च अधिकारी र निजी क्षेत्रका सञ्चालकसम्म प्रहरी अनुसन्धानको दायरामा परेका छन्।
सीआईबीले सार्वजनिक गरेको अनुसन्धान विवरणअनुसार नेपाल र मलेसियाबीच भएको श्रमसम्बन्धी समझदारीविपरीत नेपाली कामदारबाट प्रतिव्यक्ति १०० मलेसियन रिंगिटका दरले रकम उठाइएको थियो। यसरी संकलित रकममध्ये ९० प्रतिशत मलेसिया पठाइएको प्रहरीको दाबी छ। अहिलेसम्म १७ पटकमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम विदेश पठाइएको अनुसन्धानबाट खुलेको बताइएको छ।
यही प्रकरणमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका उच्च अधिकारी पक्राउ परिसकेका छन्। यसअघि मेडिकल तथा बायोमेडिकल प्रक्रियामा संलग्न व्यवसायीहरू पनि पक्राउ परेका थिए। पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध समेत पक्राउ अनुमति जारी भएको छ।
यो प्रकरणमा तत्कालीन श्रममन्त्री तथा वर्तमान प्रतिनिधिसभाका सभामुख डीपी अर्यालको कार्यकालमा पनि बायोमेडिकल सेवा शुल्कबापतको रकम मलेसिया पठाउन नेपाल राष्ट्र बैंकसँग विदेशी मुद्रा सटही सुविधा माग गरिएको देखिन्छ।
सभामुख अर्याल श्रममन्त्री रहेका बेला दुई किस्तामा गरी २१ लाख ३१ हजार ७४० मलेसियन रिंगिट बराबरको रकम सटहीका लागि मन्त्रालयले राष्ट्र बैंकलाई पत्राचार गरेको थियो। तत्कालीन विनिमय दरअनुसार यो रकम करिब ७ करोड २९ लाख रुपैयाँ बराबर हुन्छ।
यी पत्रले एउटा गम्भीर प्रश्न खडा गरेका छन्– एउटै प्रकृतिको कारोबारमा संलग्न भनिएका केही पूर्वमन्त्री र अधिकारी पक्राउ पर्दा सभामुख अर्यालको कार्यकालमा भएको पत्राचार र त्यसपछिको कारोबारबारे अनुसन्धान कहाँ पुगेको छ ? धेरैले कतै शक्तिको आडमा अर्यालमाथि अनुसन्धान नभएको हो कि भन्ने प्रश्न समेत गरेका छन् ।
७३ अर्बको कारोबार, ७ लाखभन्दा बढी श्रमिक प्रभावित
सीआईबीको अनुसन्धानअनुसार २०७६ साउन १ देखि मलेसिया जाने नेपाली कामदारबाट बायोमेडिकल सेवा शुल्कका नाममा अतिरिक्त रकम संकलन गर्ने क्रम सुरु भएको थियो। प्रतिकामदार १०० मलेसियन रिंगिट उठाउने व्यवस्था गरिएको थियो।
मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेडिकल प्रक्रियामा म्याक्रोटेक प्रालिले समन्वयकारी भूमिका खेलेको प्रहरीको दाबी छ। कम्पनीले मलेसियाको बेस्टिनेट नामक संस्थासँगको सम्बन्धका आधारमा नेपालमा कामदारबाट रकम संकलन गरेको अनुसन्धानमा उल्लेख छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार २०७५ सालको अन्त्यदेखि २०८० सालसम्म मात्रै ७ लाख ३३ हजारभन्दा बढी नेपाली कामदारबाट अतिरिक्त बायोमेडिकल शुल्क असुल गरिएको थियो।
प्रतिकामदार १०० रिंगिटका दरले उठाइएको रकममध्ये ९० प्रतिशत मलेसिया पठाइएको र बाँकी १० प्रतिशत स्थानीय साझेदारले राखेको प्रहरीको दाबी छ। यसरी कामदारबाट संकलित रकममध्ये १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी विदेश पठाइएको अनुसन्धानबाट खुलेको हो।
सीआईबीका अनुसार रकम पठाउन नेपाल राष्ट्र बैंकमार्फत १७ पटक विदेशी मुद्रा सटही तथा हस्तान्तरणको प्रक्रिया अघि बढाइएको थियो। अमेरिकी डलर र बेलायती पाउन्डमार्फत रकम विदेश पठाइएको अनुसन्धानमा उल्लेख छ।
यसरी रकम विदेश पठाउने प्रक्रियामा निजी कम्पनीको पत्राचार मात्रै नभई श्रम मन्त्रालय, राष्ट्र बैंक र काठमाडौंस्थित मलेसियाली दूतावासको भूमिकासमेत अनुसन्धानको विषय बनेको छ।
डीपी अर्यालको कार्यकालका दुई पत्रले के भन्छन् ?

विश्वखबरलाई प्राप्त कागजातअनुसार तत्कालीन श्रममन्त्री डीपी अर्यालको कार्यकालमा दुईपटक नेपाल राष्ट्र बैंकसँग मलेसियन रिंगिट सटही सुविधा माग गरिएको थियो।
अर्याल २०८० फागुन २३ गते दोस्रोपटक श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री नियुक्त भएका थिए। उनी २०८१ असार ३१ गतेसम्म उक्त मन्त्रालयको नेतृत्वमा थिए।
पहिलो पत्र २०८० चैत २५ गतेको हो। उक्त पत्रमा मन्त्रालयले नेपाल राष्ट्र बैंकसँग १९ लाख ३० हजार २३० मलेसियन रिंगिट सटही सुविधाका लागि अनुरोध गरेको थियो। सो रकम २१ हजार ४४७ जना नेपाली कामदारबाट संकलन गरिएको विवरण पत्रमा उल्लेख छ।
त्यस्तै दोस्रो पत्र २०८१ वैशाख ३१ गते लेखिएको थियो। उक्त पत्रमा थप २ लाख १ हजार ५१० मलेसियन रिंगिट सटहीका लागि अनुरोध गरिएको थियो। दोस्रो किस्ताको रकम २ हजार २१९ जना कामदारबाट संकलन गरिएको विवरणमा उल्लेख छ।
दुवै पत्रमा उल्लेखित रकम जोड्दा २१ लाख ३१ हजार ७४० मलेसियन रिंगिट हुन्छ। यो रकम तत्कालीन विनिमय दरका आधारमा करिब ७ करोड २९ लाख रुपैयाँ बराबर हुन आउँछ।
यसबाट अर्याल श्रममन्त्री रहेको अवधिमा बायोमेडिकल सेवा शुल्कका नाममा संकलित रकम विदेश पठाउने प्रक्रियाका लागि मन्त्रालयबाट पत्राचार भएको देखिन्छ।
यद्यपि यी पत्रले सटही सुविधा माग गरिएको तथ्य पुष्टि गरे पनि राष्ट्र बैंकले कति रकम स्वीकृत ग¥यो र वास्तवमै कति रकम विदेश हस्तान्तरण भयो भन्ने छुट्टै बैंकिङ अभिलेखबाट पुष्टि हुनुपर्छ।
यहीनेर अनुसन्धानको महत्त्वपूर्ण प्रश्न छ। ती दुई पत्रका आधारमा गरिएको कारोबार सीआईबीको १७ पटकको रकम हस्तान्तरणसम्बन्धी अनुसन्धानमा समेटिएको छ कि छैन ? समेटिएको भए तत्कालीन मन्त्रीको कार्यकालको निर्णय प्रक्रिया र जिम्मेवारीबारे के निष्कर्ष निकालिएको छ ?
मन्त्रीको टेबुलबाट हरायो निर्णयको फाइल
मलेसिया प्रकरणमा अहिले सबैभन्दा रहस्यमय बनेको विषय हो– रकम विदेश पठाउन स्वीकृति दिने निर्णयसँग सम्बन्धित सरकारी कागजात।
सीआईबीको अनुसन्धानमा रकम विदेश पठाउन मन्त्रालयको प्रशासनिक संयन्त्रबाट विभिन्न चरणमा प्रक्रिया अघि बढाइएको देखिएको छ। नेपाल राष्ट्र बैंकले रकम सटहीका लागि आएका निवेदनमाथि श्रम मन्त्रालयसँग राय माग्ने गरेको थियो। त्यसपछि मन्त्रालयका कानुन अधिकृत, सचिव र मन्त्रीसम्म फाइल पुग्ने गरेको अनुसन्धानमा संलग्न अधिकारीहरूको भनाइ सार्वजनिक भएको छ।
तर रकम विदेश पठाउन गरिएको भनिएको मन्त्रीस्तरीय निर्णयका मूल कागजात अहिले मन्त्रालयमा फेला नपरेको बताइएको छ।
अनुसन्धानसम्बन्धी विवरणअनुसार सीआईबीले श्रम मन्त्रालयसँग पटक–पटक कागजात माग गरेको थियो। तर मन्त्रालयबाट आवश्यक निर्णयका कागजात र यसअघि गठन गरिएको कार्यदलको प्रतिवेदनसमेत प्राप्त हुन सकेको छैन।
सीआईबीका अनुसन्धानकर्ताहरूले मन्त्रालयभित्रै प्रतिवेदन हराएको बताएका छन्। यसले सरकारी कागजातको संरक्षण र अनुसन्धानमा सहयोग गर्ने प्रशासनिक दायित्वमाथि समेत प्रश्न उठाएको छ।
अझ गम्भीर पक्ष के छ भने रकम विदेश पठाउने प्रक्रियामा संलग्न भनिएका व्यक्तिहरूको जिम्मेवारी निर्धारण गर्न आवश्यक पर्ने निर्णयका मूल कागजात नै उपलब्ध नहुँदा अनुसन्धान प्रभावित हुन सक्छ।
डीपी अर्यालको कार्यकालका दुई पत्रले पनि यही कागजातसम्बन्धी विवादलाई थप महत्त्वपूर्ण बनाएका छन्। ती पत्र मन्त्रालयको अभिलेखमा कसरी सुरक्षित रहे ? सीआईबीले ती पत्र प्राप्त गरेको थियो कि थिएन ? ती पत्रसँग सम्बन्धित निर्णयका फाइल कहाँ छन् ? यी प्रश्नको जवाफ सार्वजनिक हुन आवश्यक छ।
मलेसियाली दूतावासको पत्रले पनि उठायो प्रश्न

यस प्रकरणमा काठमाडौंस्थित मलेसियाली दूतावासको भूमिकामाथि पनि अनुसन्धान भइरहेको छ।
सीआईबीको प्रारम्भिक अनुसन्धानमा मलेसियाली दूतावासले रकम विदेश पठाउने प्रक्रियामा नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको पाइएको बताइएको छ। तर त्यस्तो पत्राचारको कूटनीतिक तथा कानुनी हैसियत के थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।
कूटनीतिक नियोगले कुनै निजी कम्पनीको व्यावसायिक कारोबारका लागि सम्बन्धित सरकारी निकायलाई रकम हस्तान्तरण गर्न दबाब दिन मिल्ने वा नमिल्ने भन्ने प्रश्नसमेत उठेको छ।
नेपाल र मलेसियाबीच सन् २०१८ अक्टोबर २९ मा श्रम सम्झौता भएको थियो। तत्कालीन श्रममन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संसाधनमन्त्री एम कुलासेगरनबीच भएको उक्त सम्झौताले नेपाली कामदारको स्वास्थ्य परीक्षणलगायतका खर्च रोजगारदाताले व्यहोर्ने व्यवस्था गरेको थियो।
सम्झौताअनुसार मलेसियामा रोजगारीका लागि जाने कामदारको स्वास्थ्य परीक्षण र अन्य आवश्यक प्रक्रियाको खर्च रोजगारदाताले व्यहोर्ने व्यवस्था थियो।
तर त्यसबाहेक प्रतिकामदार १०० रिंगिट बायोमेडिकल सेवा शुल्क उठाउन पाउने व्यवस्था उक्त द्विपक्षीय सम्झौतामा स्पष्ट रूपमा नरहेको सीआईबीको दाबी छ।
सीआईबीका अनुसार यस्तो शुल्क उठाउन नेपाल र मलेसियाबीचको संयुक्त कार्यदलबाट आवश्यक निर्णय हुनुपर्ने थियो।
तर शुल्क उठाउनुअघि त्यस्तो निर्णय भएको प्रमाण अनुसन्धानमा फेला नपरेको उसको भनाइ छ। यद्यपि श्रम मन्त्रालयका केही अधिकारीहरूले भने नेपाल–मलेसिया संयुक्त प्राविधिक समितिबाट बायोमेडिकल सेवा शुल्कसम्बन्धी व्यवस्था स्वीकृत भएको दाबी गरेका छन्।
यही विषयमा प्रहरी र मन्त्रालयका अधिकारीहरूबीच फरक धारणा देखिएको छ। त्यसैले शुल्क उठाउने निर्णयको वैधानिकता पुष्टि गर्न संयुक्त प्राविधिक समितिका बैठकका निर्णय, द्विपक्षीय पत्राचार र सरकारी अभिलेख सार्वजनिक हुनु आवश्यक छ।
सीमित स्वास्थ्य संस्थाको पहुँच, सिन्डिकेटको आरोप
मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सीमित स्वास्थ्य संस्थालाई मात्रै अवसर दिइएको विषय पनि अनुसन्धानको महत्त्वपूर्ण पाटो हो।
सीआईबीको अनुसन्धानअनुसार मलेसियाको बेस्टिनेटले नेपालका २९ वटा स्वास्थ्य संस्थालाई प्रारम्भिक स्वास्थ्य परीक्षणका लागि तोकेको थियो। ती संस्थाले बेस्टिनेटले तोकेको उपकरण तथा मापदण्डअनुसार काम गर्नुपर्ने व्यवस्था थियो।
नेपालमा स्वास्थ्य परीक्षण गर्न सक्ने अन्य संस्थाहरू हुँदाहुँदै सीमित संस्थालाई मात्रै यस्तो प्रक्रियामा सहभागी गराइएको भन्दै सिन्डिकेटको आरोप लागेको छ।
म्याक्रोटेक प्रालिले नेपालमा बेस्टिनेटको स्थानीय साझेदारका रूपमा काम गरेको प्रहरीको दाबी छ। अनुसन्धानका क्रममा उक्त कम्पनीको दर्ता उद्देश्य सूचना प्रविधिसम्बन्धी उपकरण, हार्डवेयर तथा सफ्टवेयर आयात र आपूर्तिसँग सम्बन्धित रहेको विवरणसमेत सार्वजनिक भएको छ।
तर कम्पनीले स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक प्रक्रियामा समन्वय गर्ने जिम्मेवारी कसरी प्राप्त ग¥यो, त्यसका लागि कुन निकायले अनुमति दिएको थियो र स्वास्थ्य संस्थाको छनोटमा सरकारी निकायको भूमिका के थियो भन्नेमा प्रश्न उठेको छ।
यसअघि स्वास्थ्य परीक्षणमा सीमित संस्थाको पहुँच र सम्भावित एकाधिकारको विषय अदालतसम्म पुगेको थियो। उच्च अदालत र सर्वोच्च अदालतले सम्बन्धित व्यवसायीहरूले दायर गरेका रिटमा मागबमोजिम आदेश जारी नगरेको विवरण पनि सार्वजनिक भएको छ। यसले मेडिकल सेवा सञ्चालनको व्यवस्थापन, प्रतिस्पर्धा र अतिरिक्त शुल्क असुलीसम्बन्धी प्रश्नलाई थप जटिल बनाएको छ।
यो पनि पढ्नुस्


बालकुमार नेपाल 



















