images
images
  • श्रमिकको पसिनामा मन्त्रीदेखि बिचौलियासम्मको रजाइँ, यस्तो छ मन्त्रीको टेबुलबाट हराएको छानबिन प्रतिवेदन

    काठमाडौं– वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकको बाध्यतालाई व्यापारमा परिणत गरेर कसरी अर्बौं रुपैयाँ असुल गरियो र त्यही रकम सरकारी निकायको स्वीकृतिमा विदेश पुर्याइयो भन्ने एउटा गम्भीर आर्थिक अपराधको प्रकरण अहिले अनुसन्धानको केन्द्रमा छ।

    रोजगारीको खोजीमा विदेश जान चाहने नेपाली युवाले आफ्नो कमाइको ठूलो हिस्सा खर्च गर्नुपर्ने बाध्यता छ। ऋण लिएर, जग्गा धितो राखेर वा परिवारको भविष्यको आशामा विदेश जाने श्रमिकका लागि स्वास्थ्य परीक्षण, भिसा प्रक्रिया र अन्य प्रशासनिक काम अनिवार्य हुन्छन्। यही बाध्यतालाई उपयोग गरेर मलेसिया जाने श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त रकम असुल गरिएको र त्यसरी उठाइएको रकममध्ये १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी मलेसिया पठाइएको अनुसन्धानबाट खुलेको छ।

    यो प्रकरणमा निजी मेडिकल व्यवसायी मात्रै होइन, श्रम मन्त्रालयका तत्कालीन मन्त्री, सचिव, उच्च अधिकारी, विदेशी कम्पनी र वित्तीय कारोबारमा संलग्न निकायहरूको भूमिकासमेत अनुसन्धानको दायरामा आएको छ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई पूर्वश्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित श्रम मन्त्रालयका तत्कालीन सचिव तथा अन्य उच्च अधिकारीहरूलाई पक्राउ गरेपछि वर्षौंदेखि चलिरहेको भनिएको यो आर्थिक कारोबारको सञ्जाल सार्वजनिक बहसमा आएको हो।

    अनुसन्धानको अर्को गम्भीर पक्ष हो– श्रमिकबाट उठाइएको रकम विदेश पठाउन भएका मन्त्रीस्तरीय निर्णयका फाइल मन्त्रालयमै फेला नपर्नु ! अर्बौं रुपैयाँ विदेश पठाउने प्रक्रिया कसको निर्णयमा अघि बढ्यो, कुन कानुनी आधारमा स्वीकृति दिइयो र त्यसको अभिलेख किन भेटिएन भन्ने प्रश्नले सरकारी निर्णय प्रक्रियामाथि नै गम्भीर प्रश्न खडा गरेको छ।

    ७ लाख ५० हजार श्रमिकबाट असुलेको रकम १७ पटकमा पठाइयो विदेश

    सीआईबीको अनुसन्धानअनुसार २०७६ सालदेखि २०२४ सम्म मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त रकम उठाइएको थियो। अनुसन्धानमा ७ लाख ५० हजार ९८८ जना श्रमिक यसबाट प्रभावित भएको देखिएको छ। उनीहरूबाट संकलित रकममध्ये १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा मलेसिया पठाइएको अनुसन्धान विवरणमा उल्लेख छ।

    यो रकम अमेरिकी डलर र बेलायती पाउन्ड स्टर्लिङमा विदेश पठाइएको थियो। अनुसन्धान विवरणअनुसार ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ बराबरको रकम विदेश पठाइएको हो।

    सबैभन्दा गम्भीर कुरा श्रमिकबाट उठाइएको रकम एकैपटक नभई विभिन्न समयमा १७ पटक बैंकिङ प्रणालीमार्फत मलेसिया पठाइएको देखिएको छ। यसका लागि नेपाल राष्ट्र बैंकमा १६ पटक निवेदन दिइएको अनुसन्धानबाट खुलेको छ। राष्ट्र बैंकको स्वीकृतिपछि लक्ष्मी सनराइज बैंकको खाताबाट मलेसियाको मेलायन बैंकिङ बर्हाडमा रहेको बेस्टिनेट एसडीएन बीएचडीको खातामा रकम पठाइएको थियो।

    अनुसन्धान विवरणअनुसार पहिलोपटक सन् २०२० फेब्रुअरी २७ मा करिब १० करोड ४० लाख रुपैयाँ मलेसिया पठाइएको थियो। सबैभन्दा ठूलो कारोबार सन् २०२२ डिसेम्बर २६ मा भएको देखिन्छ। त्यस दिन करिब २८ करोड ३० लाख रुपैयाँ विदेश पठाइएको थियो।

    अन्तिमपटक सन् २०२४ मे २२ मा रकम पठाइएको अनुसन्धानमा उल्लेख छ।

    यसरी सात लाखभन्दा बढी श्रमिकबाट उठाइएको रकम औपचारिक बैंकिङ प्रणालीबाटै विदेश पुगेको देखिएपछि अब अनुसन्धानको केन्द्रमा रकम असुल गर्ने निजी कम्पनीसँगै त्यसलाई विदेश पठाउन अनुमति दिने सरकारी निकाय र अधिकारीहरू पनि परेका छन्।

    लक्ष्मी सनराइज बैंकको खाताबाट मलेसियासम्म कसरी पुग्यो पैसा ?

    सामान्यतया वैदेशिक रोजगारीमा जाने श्रमिकबाट उठाइएको कुनै पनि रकम विदेश पठाउन कानुनी आधार, व्यावसायिक सम्झौता, सेवा प्रदान गरेको प्रमाण र विदेशी मुद्रा कारोबारसम्बन्धी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। तर अनुसन्धानमा प्रश्न उठेको छ– नेपाल र मलेसियाबीचको श्रम समझदारीमा स्पष्ट व्यवस्था नभएको भनिएको शुल्कबाट उठाइएको रकम कुन कानुनी आधारमा विदेश पठाइयो ?

    सीआईबीको अनुसन्धानमा लक्ष्मी सनराइज बैंकको खाताबाट मलेसियास्थित बेस्टिनेटको खातामा रकम गएको देखिएको छ। यसका लागि नेपाल राष्ट्र बैंकमा पटकपटक विदेशी मुद्रा पठाउने अनुमति मागिएको थियो। राष्ट्र बैंकको स्वीकृतिपछि बैंकिङ प्रणालीबाट रकम मलेसिया पुगेको देखिन्छ।

    चार पटक मन्त्रीस्तरीय निर्णय, तर निर्णयका दस्तावेज नै गायब

    यो प्रकरणमा सार्वजनिक भएको अर्को रहस्यमय पक्ष हो– रकम विदेश पठाउन गरिएको मन्त्रीस्तरीय निर्णयको फाइल मन्त्रालयमा नहुनु !

    सीआईबीको अनुसन्धानमा चारपटक मन्त्रीस्तरीय निर्णयका आधारमा रकम विदेश पठाउन अनुमति दिइएको देखिएको छ। तत्कालीन श्रममन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवरको कार्यकालमा भएका निर्णयहरू अहिले अनुसन्धानको केन्द्रमा छन्। तर ती निर्णयका मूल फाइल मन्त्रालयमा खोज्दा फेला नपरेको अनुसन्धानसम्बन्धी सार्वजनिक विवरणमा उल्लेख छ।

    सीआईबीले मन्त्रीस्तरीय निर्णय, मन्त्रालयबाट राष्ट्र बैंकलाई पठाइएका पत्र, विदेशी कम्पनीसँगको सम्झौता र रकम पठाउँदा पेस गरिएका कागजात अध्ययन गरिरहेको जनाएको छ।

    यस प्रकरणमा तत्कालीन मन्त्रीहरूको भूमिकामाथि अनुसन्धान भइरहे पनि मन्त्रीस्तरीय निर्णयमा हस्ताक्षर हुनु मात्रै कसुर प्रमाणित हुने आधार होइन। निर्णयको प्रकृति, त्यसबेला उपलब्ध कागजात, सम्बन्धित अधिकारीहरूको भूमिका र उनीहरूलाई जानकारी भएको विषय अनुसन्धानबाट स्थापित हुनुपर्नेछ।

    बेस्टिनेट र माइक्रोटेकको सम्झौताले जन्माएको विवाद

    मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण प्रक्रियामा मलेसियाको बेस्टिनेट एसडीएन बीएचडी र नेपालका निजी स्वास्थ्य संस्थाबीचको सम्बन्ध पुरानै हो। श्रम मन्त्रालयको विशेष कार्यदलले गरेको अध्ययनअनुसार बेस्टिनेटले २०७१ जेठ १ गते नेपालका सुनापती पोलिक्लिनिक सेन्टर प्रालिसहित ३६ वटा स्वास्थ्य संस्थासँग बायोमेडिकल प्रणालीका उपकरण खरिद तथा बिक्रीसम्बन्धी सम्झौता गरेको थियो।

    उक्त सम्झौताअनुसार स्वास्थ्य संस्थाले आवश्यक उपकरण तथा प्रणाली खरिद गर्नुपर्ने व्यवस्था थियो।

    सम्झौतामा उपकरण तथा प्रणालीको मूल्य ५ हजार अमेरिकी डलर, फिर्ता हुने धरौटी २ हजार अमेरिकी डलर र सेवा शुल्क १ हजार अमेरिकी डलर उल्लेख गरिएको थियो। यसरी कुल ८ हजार अमेरिकी डलर बराबरको कारोबारको व्यवस्था गरिएको थियो।

    तर केही वर्षपछि माइक्रोटेक प्राइभेट लिमिटेड नामको अर्को कम्पनी खडा गरियो। २०७५ फागुन ६ गते स्थापना भएको भनिएको उक्त कम्पनीको नाममा मलेसिया जाने श्रमिकबाट प्रतिव्यक्ति अतिरिक्त शुल्क उठाउने व्यवस्था गरिएको विषयमा कार्यदलले प्रश्न उठाएको थियो।

    कार्यदलको प्रतिवेदनले यिनै प्रश्न उठाउँदै सम्बन्धित कम्पनी र व्यक्तिको कारोबारमाथि थप अनुसन्धान गर्न सिफारिस गरेको थियो।

    ३ हजार १६४ रुपैयाँको शुल्कमा समेत कसरी मिलेन हिसाब ?

    बायोमेडिकल सेवाका नाममा श्रमिकबाट रकम उठाउने विषयमा मलेसियाली दूतावासको पत्राचारसमेत विवादमा परेको छ।

    कार्यदलको प्रतिवेदनमा संलग्न कागजातअनुसार २०७६ असार ४ गते मलेसियाली दूतावासले माइक्रोटेकलाई पत्र पठाएको थियो। उक्त पत्रमा प्रतिश्रमिक बायोमेडिकल सेवा शुल्क ३ हजार ९६४ रुपैयाँ निर्धारण गरिएको उल्लेख थियो।तर पत्रमा दिइएको शुल्कको विवरण र कुल रकमबीच नै हिसाब नमिलेको देखिन्छ।

    पत्रमा बायोमेडिकल सेवाबापत २ हजार ८०० रुपैयाँ र नेपालमा लाग्ने १३ प्रतिशत मूल्य अभिवृद्धि करबापत ३६४ रुपैयाँ उल्लेख गरिएको थियो।

    यी दुई रकम जोड्दा ३ हजार १६४ रुपैयाँ मात्रै हुन्छ। तर पत्रमा कुल रकम ३ हजार ९६४ रुपैयाँ उल्लेख गरिएको थियो।

    यसरी ८०० रुपैयाँको अन्तर देखिएपछि कार्यदलले शुल्क निर्धारणको आधारमाथि प्रश्न उठाएको थियो।

    भिसा शुल्क रु.७००, श्रमिकसँग असुलियो रु.७ हजार ७०० सम्म

    स्वास्थ्य परीक्षणका नाममा मात्रै होइन, मलेसियाको भिसा प्रक्रियामा समेत श्रमिकमाथि अतिरिक्त आर्थिक भार थोपरेको गुनासो कार्यदलको प्रतिवेदनमा समावेश छ।

    प्रतिवेदनअनुसार कैलाश खड्का, धनबहादुर गिरी र रवीन्द्र केसीले काठमाडौंको सिनामंगलस्थित क्रिस्टल डायग्नोस्टिक सेन्टर रहेको भवनमा मलेसियन भिसा सेन्टर सञ्चालन गरेका थिए।

    मलेसियाली दूतावासले भिसा शुल्कबापत ७०० रुपैयाँ लिने गरेको अवस्थामा उक्त भिसा सेन्टरले श्रमिकसँग ७ हजार ७०० रुपैयाँसम्म लिने गरेको गुनासो प्राप्त भएको थियो। कार्यदलले गरेको अनुगमनमा पनि श्रमिकसँग सोही दरमा रकम असुली भइरहेको पाइएको प्रतिवेदनमा उल्लेख छ।

    यदि भिसा शुल्क ७०० रुपैयाँ मात्रै थियो भने बाँकी ७ हजार रुपैयाँ कुन सेवाबापत लिइएको थियो ? त्यसको आधिकारिक शुल्क निर्धारण कसले गरेको थियो ? श्रमिकलाई बिलबिजक दिइएको थियो कि थिएन ?

    कार्यदलले यस्ता प्रश्नको जवाफ खोज्न र रकम असुल गर्ने व्यक्ति तथा संस्थाको कारोबार अनुसन्धान गर्न सिफारिस गरेको थियो।

    वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि भिसा प्रक्रिया अनिवार्य हुने भएकाले उनीहरूसँग अतिरिक्त रकम असुलिएको भए त्यसको प्रत्यक्ष आर्थिक भार श्रमिक र उनीहरूको परिवारमाथि परेको देखिन्छ।

    ३६ मेडिकल सेन्टरको सञ्जाल र सिन्डिकेटको आरोप

    कार्यदलको प्रतिवेदनले मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा सीमित स्वास्थ्य संस्थाको प्रभाव र व्यावसायिक सञ्जालमाथि पनि प्रश्न उठाएको छ।
    प्रतिवेदनअनुसार नेपाल स्वास्थ्य व्यवसायी महासंघका तत्कालीन अध्यक्ष प्रवीण तिवारी र वरिष्ठ उपाध्यक्ष कैलाश खड्काको भूमिकामाथि अनुसन्धान गर्नुपर्ने देखिएको थियो।

    उनीहरूले मलेसियाको बेस्टिनेटसँग सम्झौता गरी बायोमेडिकल प्रणालीका उपकरण र संरचना भएका संस्थाले मात्रै स्वास्थ्य परीक्षण गर्न पाउने व्यवस्था स्थापित गर्न भूमिका खेलेको आरोप प्रतिवेदनमा उल्लेख छ।

    यसबाट मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण निश्चित मेडिकल संस्थामा केन्द्रित भएको र अन्य संस्थालाई प्रतिस्पर्धाबाट बाहिर राखिएको आशंका गरिएको छ।

    कार्यदलले ३६ वटा स्वास्थ्य संस्थाको अनुगमन गरी कारोबारसम्बन्धी कागजात, बिल, भौचर तथा अन्य प्रमाण संकलन गरेको थियो।

    अनुगमनमा स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त रकम असुली, एउटै श्रमिकलाई पटक–पटक परीक्षण गराउने, आवश्यकताभन्दा बढी रोगको परीक्षण गराउने र श्रमिकमाथि अनावश्यक आर्थिक भार थप्ने प्रवृत्तिसम्बन्धी गुनासो अध्ययन गरिएको थियो।

    कतिपय श्रमिकले गलत स्वास्थ्य परीक्षण प्रतिवेदनका कारण मलेसिया पुगेर पनि फर्किनुपरेको उजुरीसमेत कार्यदलले अध्ययन गरेको थियो।

    यसरी स्वास्थ्य परीक्षणको प्रक्रिया श्रमिकको स्वास्थ्य सुरक्षाका लागि हुनुपर्नेमा कतै सीमित व्यवसायीको आर्थिक लाभको माध्यम त बनेन भन्ने प्रश्न अनुसन्धानको अर्को महत्त्वपूर्ण पक्ष बनेको छ।

    कैलाश खड्काको सम्पत्तिको स्रोतबारे पनि अनुसन्धान सिफारिस

    कार्यदलको प्रतिवेदनमा व्यवसायी कैलाश खड्काको आर्थिक अवस्था र सम्पत्तिको स्रोतबारे समेत प्रश्न उठाइएको छ।

    प्रतिवेदनमा संलग्न विवरणअनुसार २०७३ सालमा कैलाश विकास बैंकले खड्काको नाममा ३५ दिने सूचना प्रकाशित गर्दै ४ लाख ५४ हजार ८५२ रुपैयाँ ८० पैसा कर्जा चुक्ता गर्न भनेको थियो।

    त्यतिबेला उक्त रकम चुक्ता गर्न नसक्ने अवस्थामा रहेका भनिएका खड्काले त्यसपछिका वर्षमा विभिन्न स्थानमा चल–अचल सम्पत्ति जोडेको, चारभन्दा बढी मेडिकल सेन्टर सञ्चालन गरेको र अस्वाभाविक जीवनशैली अपनाएको विवरण प्रतिवेदनमा समावेश गरिएको छ।

    उनले आफन्त, नातागोता तथा साथीभाइका नाममा समेत सम्पत्ति राखेको हुन सक्ने आशंका गर्दै कार्यदलले सम्पत्तिको स्रोत, कम्पनीमा भएको लगानी र कारोबारको विस्तृत अनुसन्धान गर्न सिफारिस गरेको थियो।

    तर कुनै व्यक्तिको सम्पत्ति वृद्धि वा जीवनशैलीका आधारमा मात्रै गैरकानुनी सम्पत्ति आर्जन गरेको निष्कर्ष निकाल्न मिल्दैन। त्यसका लागि आम्दानीको स्रोत, लगानी, बैंकिङ कारोबार, कर विवरण र सम्पत्ति खरिदका प्रमाणको परीक्षण आवश्यक हुन्छ।

    कार्यदलले दिएको थियो १८ बुँदे कारबाही सिफारिस

    स्वास्थ्य परीक्षणका नाममा श्रमिकमाथि अतिरिक्त आर्थिक भार थोपरिएको गुनासो बढेपछि तत्कालीन श्रममन्त्री शरदसिंह भण्डारीले विशेष कार्यदल गठन गरेका थिए।

    मन्त्रालयका कर्मचारी र प्रहरी अधिकारीसमेत सहभागी कार्यदलले मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने ३६ वटा संस्थाको अनुगमन गरेको थियो। कार्यदलले स्वास्थ्य संस्थाहरूबाट कारोबारका कागजात, बिल, भौचर र अन्य प्रमाण संकलन गरी प्रतिवेदन तयार पारेको थियो।

    प्रतिवेदनमा ठगी, संगठित अपराध, विदेशी मुद्रा विनिमयसम्बन्धी कसुर, सम्पत्ति शुद्धीकरण र कर छलीलगायतका विषयमा अनुसन्धान गर्न सिफारिस गरिएको थियो। कार्यदलले १८ वटा बुँदामा कारबाहीको सिफारिस गरेको थियो। तर प्रतिवेदन बुझाएपछि त्यसका आधारमा प्रभावकारी कारबाही अघि बढेको देखिएन।

    बरु पछि सरकार परिवर्तन र मन्त्रालयको नेतृत्व फेरिएसँगै प्रतिवेदन र त्यससँग सम्बन्धित मिसिल नै मन्त्रालयमा खोज्दा नभेटिएको विषय सार्वजनिक भयो।

    कसरी हरायो मन्त्रीको टेबुलमा पुगेको प्रतिवेदन ?

    कार्यदलले विस्तृत अध्ययन र अनुगमनपछि तयार पारेको प्रतिवेदन मन्त्रालयमा बुझाएको थियो। त्यसमा स्वास्थ्य संस्थाको कारोबार, अतिरिक्त शुल्क असुली, मेडिकल व्यवसायीको भूमिका र विदेशी कम्पनीसँगको सम्झौतासम्बन्धी विवरण समावेश थिए।

    प्रतिवेदनले विभिन्न व्यक्ति तथा संस्थामाथि थप अनुसन्धान र कारबाही गर्न सिफारिस गरेको थियो। तर प्रतिवेदन बुझाएपछि त्यसको कार्यान्वयन प्रक्रिया अघि बढेन।

    पछि नयाँ सरकार आएपछि मन्त्रालयमा प्रतिवेदन र त्यससँग सम्बन्धित मिसिल खोज्दा भेटिएनन्। प्रतिवेदन हराएको विषय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पुगेपछि पुरानो प्रकरण पुनः अनुसन्धानको दायरामा आएको हो।

    प्रधानमन्त्री कार्यालयको चासोपछि सीआईबीले श्रम मन्त्रालयसँग कार्यदलको प्रतिवेदन, मिसिल र अनुसन्धानका क्रममा संकलित कागजात मागेको थियो।
    मन्त्रालयले प्रतिवेदनको छायाँ प्रति सीआईबीलाई उपलब्ध गराएपछि त्यसकै आधारमा पुरानो प्रकरणको अनुसन्धान अघि बढाइएको हो।

    प्रतिवेदन गायब हुनुमा प्रशासनिक लापरबाही थियो वा कसैको स्वार्थ जोडिएको थियो भन्ने विषय पनि अनुसन्धानबाट स्पष्ट हुनुपर्नेछ।

    दुई पूर्वमन्त्रीसहित उच्च अधिकारी पक्राउ

    सीआईबीले यस प्रकरणमा तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका तत्कालीन उच्च अधिकारीहरूलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तत्कालीन श्रमसचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङसमेत छन्।

    यसअघि मेडिकल व्यवसायी कैलाश खड्कासहित प्रवीण तिवारी, रवीन्द्र केसी र रामपुकार तिवारी पनि पक्राउ परेका थिए । तत्कालीन मुख्यसचिव एकनारायण अर्यालको भूमिकामाथि पनि अनुसन्धान भइरहेको छ। उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको सार्वजनिक विवरण आएको छ।

    सीआईबीले उनीहरूमाथि नेपाल र मलेसिया सरकारबीच भएको समझदारी तथा प्रचलित कानुनी प्रक्रियाविपरीत श्रमिकबाट उठाइएको रकम विदेश पठाउने निर्णयमा सहयोग गरेको आरोपमा अनुसन्धान गरिरहेको छ।

    यद्यपि पक्राउ पर्नु वा अनुसन्धानको घेरामा पर्नु दोष प्रमाणित हुनु होइन। सम्बन्धित व्यक्तिहरूको भूमिका, निर्णय प्रक्रिया र आर्थिक लाभको सम्बन्ध प्रमाणका आधारमा स्थापित हुन बाँकी छ।

    मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा अतिरिक्त शुल्क उठाइएको र अर्बौं रुपैयाँ विदेश पठाइएको प्रकरणले नेपालको वैदेशिक रोजगार प्रशासन, सरकारी निर्णय प्रक्रिया र वित्तीय नियमनमाथि गम्भीर प्रश्न उठाएको छ।

    श्रमिकको पसिनाको हिसाब कसले दिने ?

    वैदेशिक रोजगारी नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण आधार हो। लाखौँ नेपाली युवा परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले विदेश जाने गरेका छन्। उनीहरूले विदेशमा कमाएको रकमले घरपरिवारको खर्च, बालबालिकाको शिक्षा, स्वास्थ्य उपचार र मुलुकको विदेशी मुद्रा सञ्चितिमा योगदान पु¥याउँदै आएको छ।

    तर विदेश जानुअघि नै श्रमिकलाई विभिन्न शीर्षकमा आर्थिक भार थप्ने प्रवृत्तिले वैदेशिक रोजगारीको प्रक्रियालाई महँगो बनाइरहेको छ।

    मलेसिया प्रकरणमा उठेको सबैभन्दा गम्भीर प्रश्न यही हो– रोजगारीका लागि विदेश जान बाध्य श्रमिकबाट संकलित रकमको ठूलो हिस्सा कसरी निजी कम्पनी हुँदै विदेश पुग्यो र त्यसका लागि सरकारी निकायको स्वीकृति कसरी प्राप्त भयो ?

    साढे सात लाखभन्दा बढी श्रमिकबाट संकलित रकमको वास्तविक हिसाब सार्वजनिक हुनुपर्छ। गैरकानुनी रूपमा रकम उठाइएको प्रमाणित भए श्रमिकले क्षतिपूर्ति पाउनुपर्छ। सरकारी पद र अधिकारको दुरुपयोग भएको प्रमाणित भए संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याउनुपर्छ।

    मन्त्रालयबाट हराएको भनिएको प्रतिवेदन, विदेशी मुद्रा पठाउन दिइएका स्वीकृति र बैंकिङ कारोबारका सम्पूर्ण कागजात सार्वजनिक अनुसन्धानको विषय बन्नुपर्छ।

    यो प्रकरण केही मेडिकल व्यवसायी र पूर्वमन्त्रीको पक्राउमा मात्र सीमित रहनु हुँदैन। श्रमिकको बाध्यतालाई आर्थिक लाभको माध्यम बनाउने सम्पूर्ण संरचना, त्यसलाई संरक्षण गर्ने सम्भावित संयन्त्र र सरकारी निर्णय प्रक्रियामा भएको भनिएको मिलेमतोको निष्पक्ष छानबिन आवश्यक छ।

    किनकि विदेशमा पसिना बगाउने श्रमिकको कमाइमा कसैको एकाधिकार हुन सक्दैन। उनीहरूको श्रम, अधिकार र पैसाको संरक्षण गर्नु राज्यको दायित्व हो।

    यस्तो छ मन्त्रीको टेबुलबाट हराएको छानबिन प्रतिवेदन

    प्रतिक्रिया दिनुहोस्
    images
    images