images
images
  • आइसेनकोटले स्वीकारेनन् इजरायलमा पालैपालो प्रधानमन्त्री बन्ने नेतान्याहुको प्रस्ताव

    काठमाडौं– इजरायलमा सरकार गठन गर्न आवश्यक समर्थन जुटाउन कठिनाइ भएपछि याशर पार्टीका अध्यक्ष गादी आइसेनकोटले अप्रत्याशित रूपमा गठबन्धन घोषणा गरी एक–दुई दिनभित्रै संसद् नेसेटमा मतदान गराउने रणनीति बनाएका छन् ।

    टाइम्स अफ इजरायलका अनुसार अल्ट्रा–अर्थोडक्स, अरब नेतृत्वका दल र प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीसँगको वार्तामा प्रगति नभए पनि आइसेनकोट सरकार गठनको प्रयासमा छन् । सम्भावित साझेदारलाई दलबदल गर्ने समय नदिई मतदान गराउने उनको योजना छ । केही दल तटस्थ बसेमा अल्पमतको सरकार गठन गरी उनी प्रधानमन्त्री बन्न सक्ने आकलन गरिएको छ ।

    आइसेनकोटले लिकुडसँग व्यापक सहभागिताको सरकार गठनबारे छलफल गर्न वार्ता टोलीलाई निर्देशन दिएका थिए । तर बेन्जामिन नेतान्याहुसँग पालैपालो प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गर्दै उनले आफू नै एकमात्र प्रधानमन्त्री हुनुपर्ने अडान राखेका छन् । लिकुडले भने अरब दलसँगको सहकार्य अन्त्य गर्न आग्रह गरेको छ ।

    डेमोक्रेटिक पार्टीका अध्यक्ष यायर गोलानले अल्ट्रा–अर्थोडक्स दल सहभागी सरकारको विरोध नगर्ने बताएका छन् । तर नेतान्याहुलाई सत्तामा कायम राख्ने उद्देश्यको एकता सरकारमा सहभागी नहुने उनको भनाइ छ ।

    नेतान्याहुले भने देशको चुनौती सामना गर्न सबै पक्ष समेटिएको राष्ट्रिय एकता सरकार आवश्यक रहेको बताएका छन् ।

    राष्ट्रपति आइज्याक हर्जोगले नोभेम्बर ८ मा आइसेनकोटलाई सरकार गठनका लागि २८ दिनको समय दिएका थिए । १२० सदस्यीय नेसेटमा सरकार बनाउन कम्तीमा ६१ सांसदको समर्थन आवश्यक छ ।

    निर्वाचनमा नेतान्याहुको गठबन्धनले ५३ र आइसेनकोट नेतृत्वको समूहले ४८ सिट जितेका थिए । जोइन्ट द लिस्ट र राम नामका दुई अरब बहुल दलले क्रमशः ११ र आठ सिट जितेका भए पनि आइसेनकोट समूहका नेताहरूले उनीहरूसँग औपचारिक गठबन्धन नगर्ने बताउँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images