काठमाडौं– भारतको दिल्लीस्थित एक अदालतले युट्युबर ध्रुव राठीविरुद्ध सन् २०१८ को मानहानि मुद्दामा गैरजमानती पक्राउ पुर्जी जारी गरेको छ।
सोमबार न्यायिक मजिस्ट्रेट प्रथम श्रेणी (जेएमएफसी) अनम रइस खानको इजलासले यस्तो आदेश दिएको हो। यस मुद्दाको अर्को सुनुवाइ डिसेम्बर ३ का लागि तोकिएको छ।
यो मुद्दा विकास सांकृत्यायन अर्थात् विकास पाण्डेले दायर गरेका हुन्। कानुनी समाचार पोर्टल बार एन्ड बेन्च र लाइभ लका अनुसार मुद्दा सन् २०१८ को मे महिनामा ध्रुव राठीले सार्वजनिक गरेको एउटा भिडियोसँग सम्बन्धित छ।
उक्त भिडियोमा ध्रुव राठीले विकास पाण्डेविरुद्ध झुटा दाबी गरेको आरोप उजुरीकर्ताको छ।
ध्रुव राठीको एक्स अकाउन्टबाट सार्वजनिक गरिएको उक्त भिडियो तत्कालीन दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि पुनः पोस्ट गरेका थिए। त्यसपछि विकास पाण्डेले केजरीवाल र ध्रुव राठी दुवैविरुद्ध मानहानिको मुद्दा दायर गरेका थिए।
यसअघि पनि अदालतले ध्रुव राठीविरुद्ध जमानती पक्राउ पुर्जी जारी गरिसकेको थियो।
अक्टोबर १२ मा अदालतले मुद्दाको शीघ्र सुनुवाइ गर्न र ध्रुव राठीलाई व्यक्तिगत रूपमा समन बुझाउने मागसहित दायर निवेदन स्वीकार गरेको थियो।
उजुरीकर्ताका वकिल समक्ष शर्माले अदालतमा ध्रुव राठी मुख्यतः विदेशमा बस्ने भएकाले लामो समयदेखि उनीसम्म समन पुर्याउन कठिन भइरहेको तर्क गरेका थिए। सोही आधारमा हातमै समन बुझाउने प्रक्रिया अघि बढाउन माग गरिएको थियो।






















