images
images
  • लिबियाको तटमा रुसी जहाजमा युक्रेनी सेनाले ड्रोन आक्रमण गरेको जेलेन्स्कीको दाबी

    काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले लिबियाको तट नजिकै रुसी जहाजमाथि ड्रोन आक्रमण गरी डुबाएको दाबी गरेका छन्।

    जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको जानकारीअनुसार उक्त सैन्य कारबाहीमा युक्रेनमै निर्मित सातवटा समुद्री ड्रोन प्रयोग गरिएको थियो।

    उनका अनुसार आक्रमणमा रुसी कर्भेट युद्धपोत ‘मर्करी’ डुबेको छ। त्यससँगै केए-२७ लडाकु हेलिकोप्टर पनि नष्ट भएको उनले दाबी गरेका छन्।

    युक्रेनी सेनाको अर्को निशाना रुसी मालवाहक जहाज ‘एमभी अंगारा’ रहेको जेलेन्स्कीले बताएका छन्। रुसले उक्त जहाजलाई हतियार ओसारपसारका लागि प्रयोग गर्दै आएको उनको दाबी छ। उक्त जहाजलाई समेत आक्रमणको निशाना बनाइएको उनले उल्लेख गरेका छन्।

    जेलेन्स्कीले रुसको आक्रामक गतिविधिको जवाफ दिन युक्रेन पछि नहट्ने बताउँदै आफ्नै सैन्य प्रविधि र हतियार विकासलाई निरन्तरता दिने बताएका छन्।

    यसअघि लिबियाको पूर्वी सरकारले बेन्गाजीस्थित नौसैनिक अड्डामा रोकिएको एउटा रुसी जहाजमा विस्फोट भएको जानकारी दिएको थियो। उक्त जहाजलाई ड्रोनमार्फत निशाना बनाइएको हुन सक्ने आशंका गरिएको थियो।

    लिबियाको सरकारी सञ्चारमाध्यमका अनुसार आइतबार बिहान सबेरै विस्फोट भएको थियो। रुस फर्कने क्रममा इन्धन तथा अन्य आवश्यक सामग्री लिन उक्त जहाज त्यहाँ रोकिएको थियो।

    पूर्वी लिबियाको सरकारका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन। यद्यपि घटनाबारे रुसले अहिलेसम्म आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

    यो पनि बढ्नुस्

    लिबियाको बेन्गाजी नौसैनिक अखडामा रोकिएको रुसी पानीजहाजमा युक्रेनले ड्रोन आक्रमण गरेको आशंका

    प्रतिक्रिया दिनुहोस्
    images
    images