images
images
  • लिबियाको बेन्गाजी नौसैनिक अखडामा रोकिएको रुसी पानीजहाजमा युक्रेनले ड्रोन आक्रमण गरेको आशंका

    काठमाडौं– लिबियाको पूर्वी सरकारका अनुसार बेन्गाजी नौसैनिक अखडामा रोकिएको रुसी पानीजहाजमा भएको विस्फोट सम्भावित ड्रोन आक्रमणका कारण भएको हो। लिबियाको सरकारी सञ्चारमाध्यमले पूर्वी सरकारलाई उद्धृत गर्दै जनाएअनुसार आइतबार बिहान सबेरै उक्त विस्फोट भएको थियो।

    रुस फर्कने क्रममा इन्धन र आवश्यक सामग्री लिन जहाज त्यहाँ रोकिएको थियो।

    सरकारले घटनामा कुनै मानवीय क्षति नभएको जनाएको छ। यसबारे मस्कोले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। आइतबारपछि स्वास्थ्य मन्त्रालयले बेन्गाजीको समुद्री तटबाट केही टाढा अर्को व्यावसायिक पानीजहाजलाई पनि निशाना बनाइएको र त्यसबाट घाइते भएका केही व्यक्तिलाई उपचारका लागि ल्याइएको जनाएको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेको छ। मन्त्रालयका अनुसार उनीहरूको चोट सामान्य छ र स्वास्थ्य अवस्था स्थिर छ।

    डिबियास्थित संयुक्त राष्ट्रसङ्घीय मिसन (यूएनएसएमआईएल) ले आक्रमणप्रति ‘गम्भीर चिन्ता’ व्यक्त गर्दै तत्काल स्वतन्त्र र पारदर्शी अनुसन्धान गर्न माग गरेको छ। यूएनएसएमआईएलले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘लिबियाले विदेशी द्वन्द्वको रणभूमि बन्ने अवस्था सहन सक्दैन र बन्नु पनि हुँदैन।’

    सामाजिक सञ्जालमा सार्वजनिक गरिएका भिडियोमा आइतबार बिहान आक्रमणमा परेको जहाज आगो र धुवाँले घेरिएको देखिन्छ।

    त्यस्तै प्लानेट ल्याब्स पीबीसीको भूउपग्रह तस्बिरमा पनि बेन्गाजी बन्दरगाहमा नेपाली समयअनुसार आइतबार बिहान ११ बजेर ३२ मिनेटमा (ग्रिनविच समय ०५ः४७ बजे) एउटा जहाजमा आगो लागेको देखिएको छ।

    प्लानेट ल्याब्स पीबीसीको भूउपग्रह तस्बिरमा बन्दरगाहमा रहेको जहाजबाट धुवाँ र आगो निस्किरहेको देखिन्छ। अमेरिकामा आधारित गुप्तचर संस्था भ्यान्टरले उच्च रिजोल्युसनका तस्बिरहरू सार्वजनिक गरेको छ। संस्थाका अनुसार ती तस्बिरमा रुसी नौसेनाको प्रोजेक्ट २०३८० स्टेरेगुश्ची श्रेणीको युद्ध पोत ‘मर्कुरी’ शनिबार बन्दरगाहमा रोकिएको देखिएको थियो।

    तर आइतबारका तस्बिरमा उक्त जहाजको अधिकांश भाग पल्टिएर डुबेको र अगाडिको भाग मात्र पानीमाथि देखिएको छ।

    पूर्वी लिबियामा रहेको राष्ट्रिय स्थायित्व सरकार (जीएनएस) ले रुसी जहाजको नाम वा पहिचान खुलाएको छैन। विद्यमान समुद्री सम्झौताअन्तर्गत उक्त जहाजले बेन्गाजी बन्दरगाह प्रयोग गरिरहेको जनाएको छ।

    जीएनएसका अनुसार आइतबारको घटनाबारे अनुसन्धान भइरहेको छ। सम्भावित आक्रमणको स्रोत र त्यसमा संलग्न पक्ष पहिचान गर्न रुसी अधिकारीहरूसँग समन्वय भइरहेको पनि सरकारले जनाएको छ।

    लिबियाको बन्दरगाहभित्रै जहाजमाथि भएको आक्रमणको निन्दा गर्दै जीएनएसले यसलाई समुद्री सुरक्षाको उल्लङ्घन र आफ्नो सार्वभौमिकतामाथिको आक्रमण भनेको छ। सरकारले लिबिया रुस–युक्रेन युद्ध वा आफ्नो सीमा बाहिरका अन्य कुनै द्वन्द्वको पक्ष नरहेको पनि स्पष्ट पारेको छ।

    यसैबीच अन्तर्राष्ट्रिय मान्यता प्राप्त त्रिपोलीस्थित लिबियाको अर्को सरकार राष्ट्रिय एकता सरकार (जीएनयू) ले विदेशी सेनालाई आफ्नो भूमिमा राख्ने र उनीहरूलाई बन्दरगाह तथा अन्य पूर्वाधार प्रयोग गर्न दिने कार्यप्रति चेतावनी दिएको छ।

    सरकारी सञ्चारमाध्यममार्फत जारी विज्ञप्तिमा जीएनयूले यस्तो गतिविधिले ‘बाह्य द्वन्द्वसँग सम्बन्धित गतिविधिमा बन्दरगाह र नागरिक पूर्वाधार प्रयोग गर्दा उत्पन्न हुनसक्ने जोखिम तथा नागरिकको जीवन र राष्ट्रिय पूर्वाधार एवम् सम्पत्तिको सुरक्षामाथि गम्भीर खतरा’ निम्त्याउने आशङ्का व्यक्त गरेको छ।

    सन् २०११ मा लिबियाका तत्कालीन शासक मुअम्मर गद्दाफी सत्ताच्युत भएपछि देश हिंसा र अस्थिरतामा फसेको थियो। त्यसपछि देशमा परस्पर विरोधी सरकारहरू अस्तित्वमा आएका हुन्। बेन्गाजी रुसी राजधानी मस्कोबाट दुई हजार किलोमिटरभन्दा बढी (१ हजार २४३ माइल) टाढा छ।

    आक्रमण कसले गराएको हो भन्ने आधिकारिक पुष्टि नभए पनि बेलायतस्थित रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्युट (रुसी) का लिबिया मामिला विज्ञ जलाल हरचाउईले यसमा युक्रेनको संलग्नता हुन सक्ने बताएका छन्।

    उनले बीबीसीसँग भने, ‘यस्तो आक्रमण गर्ने साहस गर्न सक्ने एक मात्र पक्ष युक्रेन हो। यदि मैले आफ्नै पैसा बाजीमा लगाउनुपर्‍यो भने म युक्रेनकै पक्षमा लगाउँछु।’

    यदि यो आक्रमण पुष्टि भएमा युक्रेनी सेनाले यस किसिमको कारबाही गरेको पहिलो घटना भने हुनेछैन ।

    गत मार्चमा पनि रुसले लिबिया र माल्टाबीचको भूमध्यसागरमा रहेको रुसी तेल ट्याङ्कर ‘आर्कटिक मेटागाज’ लाई युक्रेनले लिबियाको तटबाट प्रक्षेपण गरिएका मानवरहित समुद्री ड्रोन प्रयोग गरेर निशाना बनाएको आरोप लगाएको थियो।

    यस्ता आक्रमणले रुसको अर्थतन्त्रमा असर पार्नुका साथै तेल र ग्यास निर्यात गर्न प्रयोग हुने तथाकथित ‘छायाँ जहाज बेडा’ को क्षमता कमजोर बनाउँछन्। रुसी विश्लेषक हरचाउईका अनुसार यस्ता घटनाले क्रेमलिनलाई अन्तर्राष्ट्रिय स्तरमा अपमानितसमेत बनाउने गरेका छन्। पछिल्लो घटनाप्रति प्रतिक्रिया जनाउन चाहने पक्ष मस्को मात्र होइन ।

    उक्त रुसी जहाज पूर्वी लिबियाको सरकारसँग भएको सम्झौताअन्तर्गत त्यस क्षेत्रमा पुगेको थियो। उक्त सरकार लिबियाली राष्ट्रिय सेना (एलएनए) का कमान्डर खलिफा हफ्तरसँग गठबन्धनमा छ । हरचाउईका अनुसार हफ्तरले यस आक्रमणलाई व्यक्तिगत अपमानका रूपमा लिनेछन्।

    उनले भने, ‘हफ्तर परिवारले यसको जवाफ खोज्नेछ। उनीहरूले युक्रेनीहरूलाई कसले आश्रय दिइरहेको छ भन्ने प्रश्न उठाउनेछन्।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images