images
images
  • अमेरिकाले बहराइनमा रहेका आफ्ना नागरिकलाई सुरक्षा सतर्कता अपनाउन दियो चेतावनी

    काठमाडौं– अमेरिकी विदेश मन्त्रालयले बहराइनमा रहेका आफ्ना नागरिकलाई लक्षित गर्दै पुनः सुरक्षा चेतावनी जारी गरेको छ। सम्भावित सशस्त्र आक्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले त्यहाँ रहेका अमेरिकी नागरिकलाई उच्च सतर्कता अपनाउन र कुनै पनि परिस्थितिको सामना गर्न तयार रहन आग्रह गरेको हो।

    आइतबार सामाजिक सञ्जाल एक्समार्फत जारी सूचनामा बहराइनमा सशस्त्र आक्रमणको खतरा बढ्दै गएको उल्लेख गरिएको छ। मन्त्रालयले आफ्ना नागरिकलाई आफ्नो सुरक्षाप्रति विशेष ध्यान दिन र सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन सुझाव दिएको छ।

    सूचनामा इरान समर्थित हुथी विद्रोहीबाट आक्रमण हुन सक्ने जोखिम बढेको उल्लेख छ। इरानले यस क्षेत्रमा रहेका अमेरिकी अधिकारी र सरकारी संरचनालाई निशाना बनाउने प्रयास गरिरहेको पनि अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

    मन्त्रालयले बहराइनमा रहेका अमेरिकी नागरिकलाई सुरक्षा अवस्था थप बिग्रन सक्ने सम्भावनालाई ध्यानमा राख्न आग्रह गरेको छ। सम्भावित सुरक्षा सतर्कता, उडान रद्द हुने तथा हवाई क्षेत्र बन्द हुन सक्ने अवस्थाका लागि पनि तयारी अवस्थामा रहन भनिएको छ।

    यसअघि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले बहराइनमा रहेको अमेरिकी सेनाको प्याट्रियट हवाई रक्षा प्रणालीका दुईवटा राडारमा आक्रमण गरेको दाबी गरेको थियो।

    आईआरजीसीको जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिमा इरानको हवाई क्षेत्रमा निरन्तर हस्तक्षेप भइरहेको र इरानविरुद्ध आक्रामक गतिविधि सञ्चालन गरिएको भन्दै त्यसको जवाफस्वरूप राडारलाई निशाना बनाइएको दाबी गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images