सुर्खेत– कर्णाली प्रदेशका अर्थमन्त्री टेकराज पछाईले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
सार्वजनिक विवरणअनुसार उनको ३१ ठाउँमा जग्गाजमिन, सुन–चाँदी र विभिन्न कम्पनीमा करोडौं सेयर लगानी रहेको उल्लेख छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार पछाई र उनकी श्रीमतीको नाममा २९ वटा कम्पनी तथा वित्तीय संस्थामा सेयर लगानी छ ।
पछाईसँग मात्रै ४३ हजार ५४२ कित्ता सेयर रहेको छ भने सम्पदा लघुवित्तमा उनको सेयरको मूल्य ७२ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
पछाईको नाममा जुम्ला र बर्दियाका विभिन्न स्थानमा जग्गाजमिन रहेको छ ।
उनले पुर्ख्यौली सम्पत्ति, सेयर कारोबार र पारिश्रमिकलाई आफ्नो आयआर्जनको स्रोत बताएका छन् ।
विवरणमा ७० तोला सुन–चाँदी, बैंक तथा अन्य संस्थामा मौज्दात रकम र नागरिक लगानी कोषमा बचत रहेको पनि उल्लेख छ ।
उनका नाममा मोटरसाइकल, श्रीमतीका नाममा स्कुटर, जुम्लामा स्याउ र ओखरका बोट तथा एउटा गाईसमेत रहेको विवरणमा उल्लेख छ ।
यति धेरै सम्पत्ति र लगानी भए पनि आफूहरूमाथि कुनै ऋण नरहेको उनले जनाएका छन् ।






















