images
images
  • प्रहरीसहित तालिमप्राप्त कुकुरले गरे लागुऔषध तथा विस्फोटक पदार्थको जाँच

    काठमाडौं- निर्वाचन सुरक्षालाई केन्द्रित गरेर सुर्खेत प्रहरीले तालिमप्राप्त कुकुर (के–९)सहित लागुऔषध तथा विस्फोटक पदार्थको चेक जाँच सुरु गरेको छ ।

    निर्वाचन सुरक्षालाई लक्षित गरी केनाइन शाखा कोहलपुरबाट दुईवटा तालिमप्राप्त कुकुरको सहयोगमा जिल्ला प्रहरी कार्यालय सुर्खेत, लागुऔषध नियन्त्रण शाखा सम्मिलित २५ जनाको संयुक्त प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना चेकपोष्टबाट चेकजाँच सुरु गरिएको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जनाएको छ ।

    प्रहरीका अनुसार फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको अवधिमा सीमानाकाबाट भित्रिन सक्ने अवैध हातहतियार तथा विस्फोटक पदार्थ र लागुऔषध नियन्त्रण गर्ने ध्येयले तालिमप्राप्त कुकुरसहितको संयुक्त जाँच अगाडि बढाइएको छ।

    उक्त चेकजाँचका क्रममा वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीका २४ वर्षीय गौरव रावललाई नियन्त्रणमा लिइएको छ।

    रावललाई शङ्का लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट नापतौल नगरेको लागुऔषध ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थ सात पोका भेटिएको प्रहरीले जनाएको छ।

    प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सुरक्षा व्यवस्था मजबुत बनाउन सुर्खेत जिल्लाका प्रवेश नाका, मुख्य बजारलगायत दुवै निर्वाचन क्षेत्रमा लागुऔषध, हातहतियार, विस्फोटक पदार्थ खोजी गर्न तालिमप्राप्त कुकुर, प्राविधिक जनशक्तिको सहायताले सुर्खेत जिल्ला तथा मातहत प्रहरी कार्यालयसहित सुरक्षा निकायबाट नियमित गस्ती, जाँच तथा सुरक्षा कारबाही भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images