जाजरकोट– अविरल वर्षापछि आएको पहिरोले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा घर तथा टहरा भत्किँदा १० जना घाइते भएका छन् भने तीन जना सम्पर्कविहीन भएका छन् ।
साउन ३० गते दिउँसो करिब ४ बजेदेखि परेको लगातार वर्षाका कारण भेरी नगरपालिका–२ रिसाङका विभिन्न स्थानमा पहिरो गएको हो ।
पहिरोले घर तथा संरचनामा क्षति पुर्याउनुका साथै स्थानीय बासिन्दालाई जोखिममा पारेपछि उद्धार तथा खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ५० जनाको टोली परिचालन गरिएको छ ।
पहिरोका कारण भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको ६ कोठे दुईतले ढुंगा–माटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । घरमा रहेका पाँच जनाको परिवार भने सुरक्षित रूपमा आफन्तको घरमा बसेको प्रहरीले जनाएको छ ।
त्यस्तै, सोही क्षेत्रका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । ती टहरामा भने हाल मानिस बसोबास नगर्ने बताइएको छ ।
१० जना घाइते
प्रहरीका अनुसार पहिरोमा परी घाइते हुनेमा भेरी नगरपालिका–२ रिसाङका ६० वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५७ वर्षीया भद्राकली कार्की, भेरी–१ डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा, १६ वर्षीया मनिषा विक, ४७ वर्षीया मोतीकला विक, भेरी–२ का करिब ५२ वर्षीय केदार कार्की, करिब २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिश शाही र ४५ वर्षीया सुन्तली चदरा रहेका छन् ।
आरनमा काम गरिरहेका बेला पहिरोले पुरिएर छाती, टाउको र हातमा चोट लागेका रामबहादुर शाहीको अवस्था गम्भीर रहेको छ । जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि उनलाई राति ८:३० बजे थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।
आरन सञ्चालक सिद्धिबहादुर कामीको ढाडमा चोट लागेको छ । उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, शरीरका विभिन्न भागमा चोट लागेकी भद्राकली कार्कीको अवस्था गम्भीर रहेको छ । उनलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि राति ९:१५ बजे थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ ।
मनवीर चदराको टाउकोमा चोट लागेको छ भने मनिषा विक तथा मोतीकला विकको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
केदार कार्कीको हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । जिल्ला अस्पतालमा सामान्य उपचारपछि उनलाई राति १०:५५ बजे थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।
अनिता कार्कीको बायाँ खुट्टामा चोट लागेको छ । उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । यस्तै, १० वर्षीय युनिश शाहीलाई सामान्य चोट लागेको छ भने सुन्तली चदराको खुट्टामा चोट लागेको छ । दुवैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
तीन जना सम्पर्कविहीन
पहिरो आएपछि भाग्ने क्रममा भेरी नगरपालिका–२ फारुलाका करिब ५४ वर्षीय उमासिंह खत्री, भेरी–२ चिसापानीका करिब ७० वर्षीय भीमबहादुर कार्की र भेरी–२ का करिब ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन् ।
उनीहरूको खोजी तथा पहिरोमा फसेका व्यक्तिको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको छ ।
लगातारको वर्षाका कारण थप पहिरोको जोखिमसमेत रहेकाले घटनास्थलमा उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको छ । घटनास्थलको क्षति र उद्धारसम्बन्धी थप विवरण आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।






















