images
images
  • बागमतीकी पूर्वसांसदसँग ‘लिभिङ टुगेदर’ मा थिए सुनार, पक्राउ गर्न प्रहरी ‘स्ट्यान्ड बाई’

    काठमाडौं– बागमती प्रदेशकी पूर्वसांसदसँगको अडियोमा विवाद गरेका रास्वपा सांसद खगेन्द्र सुनार उनीसँगै लिभिङ टुगेदरमा रहेको रहस्य खुलेको छ । केही समय अघि मात्रै उनीहरुको सम्बन्धमा फाटो आएको स्रोतले बतायो ।

    सांसद सुनारसँग लिभिङ टुगेदरमा रहेकी महिलाको एक जना वयस्क छोरा रहेको  स्रोतको दाबी छ । ती महिलासँग काठमाडौंको डल्लुमा एक फ्लाटमा लिभिङ टुगेदरमा सुनार बस्ने गरेको स्रोतले बतायो ।

    अहिले अडियो सार्वजनिक भएपछि ती महिला आफू र आफ्नो छोराको सुरक्षामा उनी चिन्तित भएको बताइएको छ । अडियो सार्वजनिक भएपछि आवश्यक प्रक्रिया पु¥याएर प्रहरीले समेत पक्राउ गर्ने तयारी गरेको बताइएको छ ।

    खगेन्द्र सुनारको पार्टी रास्वपाले पनि सरकारलाई यस विषयमा स्वतन्त्र ढङ्गले अनुसन्धान गर्न आग्रह गर्दै यस बिषयमा पार्टीले सहयोग गर्ने आग्रह गरेको छ ।

    अडियो सार्वजनिक भएपछि एमाले नेतृ एवम् सांसद रामकुमारी झाँक्रीले आमा र बच्चाको सुरक्षामा तत्काल ध्यान दिन सरकार र नेपाल प्रहरीसँग आग्रह गरेकी छन् ।

    झाँक्रीले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेकी हुन् । सार्वजनिक भएको अडियोमा एक महिला र उनका नाबालक बच्चालाई अश्लील गालीगलौज तथा ज्यान मार्ने धम्की दिइएको सुनिने उनले बताएकी छन् ।

    ‘त्यो अडियो त मैले सुन्न पनि सकिनँ । अझ बच्चालाई समेत मारिदिने, रगत खाने कुरा गरेको सुनिन्छ’, झाँक्रीले लेखेकी छन् । सार्वजनिक रूपमा राख्न नमिल्ने सामग्रीसमेत भएकाले अडियो सम्पादन गरिएको देखिएको उनले बताइन् ।

    अडियो मा महिला डरका कारण बोल्न नसकेको जस्तो सुनिने उल्लेख गर्दै झाँक्रीले नाबालक बच्चालाई समेत लक्षित गरी गालीगलौज गरिएको विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताएकी छन्।

    ‘अडियो मा महिला डरले बोल्नै नसकेको जस्तो देखिन्छ । बच्चालाई समेत त्यो तहको गालीगलौज सहन सक्ने कुरा पटक्कै होइन । बच्चालाई विनाबावुको वेश्याको छोरा भनेको सुन्दा मेरो समेत रगत तात्यो । उनीहरूको सबन्धमा बच्चाको यहाँ के को दोष ? हिंसाको पनि हद हुन्छ नि ? यो घटना सामान्य छैन । बच्चामाथि एकदमै सुरक्षा खतरा छ । सरकार, नेपाल प्रहरीले तत्काल महिला र बच्चाको ज्यानको सुरक्षामा ध्यान दियोस्’, उनले लेखेकी छन् ।

    झाँक्रीले घटनालाई सामान्य व्यक्तिगत मामिलाका रूपमा मात्र हेर्न नमिल्ने बताउँदै यसमा हिंसा, असुरक्षा र मानसिक दबाबको प्रश्नसमेत जोडिएको उल्लेख गरेकी छन् ।

    ’अपराधीमाथि कारबाहीभन्दा पहिले पीडितको सुरक्षाको सवाल आउँछ’, झाँक्रीले भनेकी छन् । उनले नेपाल प्रहरीलाई महिला र बच्चाको ज्यानको सुरक्षाका लागि तत्काल आवश्यक प्रबन्ध मिलाउन तथा त्यसपछि घटनाबारे अनुसन्धान गरी दोषी देखिएकामाथि कानुनी कारबाही गर्न आग्रह गरेकी छन् ।

    झाँक्रीले रास्वपा सभापति रवि लामिछानेको पनि यस विषयमा तत्काल ध्यानाकर्षण हुनुपर्ने बताउँदै पार्टीले घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने उल्लेख गरेकी छन् ।

    ‘यो तहको हिंसा किमार्थ स्वीकार्य हुन सक्दैन’, उनले भनिन् । उनले नेपाल प्रहरीलाई आमा र बच्चाको सुरक्षामा ध्यान दिन तथा आवश्यक परे तत्काल उद्धारको व्यवस्था गर्नसमेत आग्रह गरेकी छन् । ‘प्लिज नेपाल प्रहरी, बच्चा र आमाको सुरक्षामा ध्यान दिनु पर्‍यो । तत्काल रेस्क्यु होस् । घटना जे पनि हुन सक्छ’, उनले लेखेकी छन् ।

    नेपाल प्रहरीले भने सांसद सुनार आफूहरुको निगरानीमा रहेको जनाएको छ । आवश्यक परे जहिले पनि पक्राउ गर्न सकिने गरी आफूहरु स्ट्यान्ड बाई रहेको प्रहरीले जनााएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images