सियोल– उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकासम्म मार हान्न सक्ने क्षेप्यास्त्र प्रदर्शन गरेका छन् ।
अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आईसीबीएम) प्रदर्शन गरिएको रक्षा उद्योग सङ्ग्रहालय जनाएको छ ।
उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार किमले आइतबार नवनिर्मित ‘डिफेन्स रिभोलुसन म्युजियम’को उद्घाटन कार्यक्रममा सहभागिता जनाएका हुन् ।
यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रस्तावित एसिया भ्रमणका क्रममा किमसँग भेट हुन सक्ने सङ्केत गरेको एक दिनपछि सार्वजनिक भएको हो ।
ट्रम्प नोभेम्बरको मध्यतिर चीनको सान्जेनमा आयोजना हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन एसिया आउने अपेक्षा गरिएको छ ।
किमसँगै उनकी पत्नी रि सोल जु र छोरीका रूपमा चिनिएकी जु ए पनि सङ्ग्रहालय उद्घाटन कार्यक्रममा सहभागी भएको केसीएनएले जनाएको छ ।
सङ्ग्रहालयमा किमको नेतृत्वमा विकसित गरिएका ड्रोनदेखि ‘ह्वासङ–२०’ नामक अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रसम्मका हतियार प्रदर्शनमा राखिएका छन् ।
ह्वासङ–२० क्षेप्यास्त्रको प्रक्षेपण प्रणालीअगाडि राखिएको प्रदर्शनीमा एकभन्दा बढी वारहेड भएको क्षेप्यास्त्रको स्वरूप देखाइएको छ ।
त्यहाँ राखिएको विश्व नक्सामा उक्त क्षेप्यास्त्रको सम्भावित मारक दूरी अमेरिकी मुख्यभूमि, मध्यपूर्व, अस्ट्रेलिया र दक्षिण अमेरिकासम्म फैलिएको देखाइएको छ ।
कोरिया डिफेन्स एन्ड सेक्युरिटी फोरमका महासचिव सिन जोङ वुले प्रदर्शनीले उत्तर कोरियाको रक्षा विज्ञान विकास कार्यक्रमका उपलब्धि उजागर गर्न खोजेको बताए ।
उनका अनुसार सम्भावित उत्तर कोरिया–अमेरिका शिखर वार्ताअघि रणनीतिक लाभ हासिल गर्ने उद्देश्यले प्रचारात्मक सन्देश दिन खोजिएको हुन सक्छ ।
क्युङनाम विश्वविद्यालयको इन्स्टिच्युट फर फार इस्टर्न स्टडिजका प्राध्यापक लिम उल चुलले स्थायी सङ्ग्रहालय निर्माण गर्नु उत्तर कोरियाको सैन्य उपलब्धिलाई संस्थागत गर्ने प्रयास भएको बताए ।
उनका अनुसार यसअघि अस्थायी रूपमा प्रदर्शन गरिने हतियारलाई स्थायी सङ्ग्रहालयमा राखेर किमले देशको आणविक तथा क्षेप्यास्त्र विकास कार्यक्रमलाई दीर्घकालीन सैन्य उपलब्धिका रूपमा प्रस्तुत गर्न खोजेका छन् ।
यसैबीच, उत्तर कोरियाले सोमबार सामरिक ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको पनि पुष्टि गरेको छ ।
केसीएनएका अनुसार हतियार प्रणालीको एउटा महत्त्वपूर्ण तर सार्वजनिक नगरिएको अवयवमा गरिएको प्राविधिक सुधार सफल भएको पुष्टि गर्न परीक्षण गरिएको हो ।
उत्तर कोरियाली सञ्चारमाध्यमले उक्त सुधारले देशका सबै आक्रामक हतियार प्रणालीको कार्यक्षमता बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने जनाएको छ ।
तर, सुधार गरिएको अवयव र परीक्षणका प्राविधिक विवरण भने सार्वजनिक गरिएको छैन ।
दक्षिण कोरियाली सेनाले सोमबार उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट समुद्रतर्फ लक्षित गरी एकैपटक धेरै ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको थियो ।
दक्षिण कोरियाले हालै हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेपछि उत्तर कोरियाले एक महिनाभित्र गरेको यो चौथो क्षेप्यास्त्र प्रक्षेपण भएको समाचार संस्था रोयटर्सले जनाएको छ । –रोयटर्स






















