images
images
  • विपीनको विज्ञप्तिले उब्जाएका नौ प्रश्न: छताछुल्ल विषयको आन्तरिक छानबिन ?

    काठमाडौं– खगेन्द्र सुनारको सम्बन्धमा काइते र लुलो–लंगडो विज्ञप्ति दिएका छन् रास्वपा महामन्त्री विपीन आचार्यले । उनको विज्ञप्तिले प्रश्नमाथि झन् धेरै प्रश्न उठाएको छ । त्यसैले विज्ञप्तिको पोष्टमोर्टम आवश्यक छ ।

    विज्ञप्तिको पोष्टमार्टम गर्दा यस्तो रिपोर्ट आउँछ-

    १) रास्वपाको केन्द्रीय अनुशासन आयोग भनेको के हो ? के रास्वपा उहिलेको माओवादी जस्तो पार्टी हो । माओवादीले आफ्नै सेना-प्रहरी चलाउँथ्यो, आफ्नै अदालत चलाउँथ्यो । रास्वपा पनि त्यस्तै हो ? रास्वपाको कथित अनुशासन आयोगले यस्ता प्रकृतिको घटनाको छानबिन गर्न मिल्छ ?

    २) के हो आन्तरिक छानबिन भनेको ? अपराध सडकमा छताछुल्ल भइसक्यो, आन्तरिक छानबिन गर्ने भनेर के ढाकछोप गर्न खोजेको हो ? यस्तो आपराधिक घटनाको छानबिन पार्टीले गर्ने हो कि सरकारले ?

    ३) सरकारी छानबिन समेत पत्याउन नसकिने अवस्था छ । सुदन गुरुङको बारेमा सरकारले समिति बनाएर छानबिन गरेको हामीले देखेका छौं । छानबिनको नाममा चोख्याउने काम गरियो । रास्वपा पार्टीले गर्ने छानबिन पत्याउन सकिँदैन ।

    ४) विज्ञप्तिमा आन्तरिक छानबिनको कुरा पहिले लेखिएको छ । त्यसपछि मलिन भाषामा राज्यका सम्बन्धित निकायहरुबाट अविलम्ब छानबिन हुने विश्वास छ लेखिएको छ । सरकारी छानबिनको बारेमा यति मलिन र नरम भाषा किन ? विश्वास किन ? माग नै गर्नुपर्ने होइन र ?

    ५) खगेन्द्र सुनारको काण्डमा ‘विश्वास’ गर्ने कि निर्देशन दिने ? मन्त्रीले नियुक्तिमा गडबडी गरे भनेर राजीनामा दिन निर्देशन दिने रास्वपाले सरकारलाई पनि तत्काल छानबिन गर भनेर निर्देशन किन नदिएको ?

    848815277 1168822982139227 1963388844718298903 n

    ६) राज्यका निकायले गर्ने अनुसन्धानमा पार्टीको पूर्ण सहयोग हुने प्रतिवद्धता विज्ञप्तिमा छ । यो प्रतिवद्धता अर्थहीन छ । कारबाही गर भनेर निर्देशन दिनुपर्नेमा ‘गरेको खण्डमा सहयोग हुने’ टाइपको भाषा काइते र लुलो छ ।

    ७) के हो ‘राज्य’ भनेको ? सिधै सरकार किन नभनेको ? सर्वसाधारणले राज्य र सरकारलाई एकै अर्थमा बुझ्छन्, बोल्छन् भन्दैमा पार्टीले पनि राज्य भन्न मिल्छ ? राज्य र सरकारमा धेरै फरक छ । खगेन्द्रको छानबिन राज्यले गर्ने होइन, सरकारले गर्ने हो । आफ्ना सांसद्को कर्तूत आउँदा यति लुलो भाषा किन ?

    ८) विज्ञप्तिमा महिलाप्रतिको संवेदनशीलता प्रकट गरिएको छ, यो राम्रो हो । तर यहाँ ती महिलाकै सुरक्षाको प्रश्न छ । डा. सुन्दरी पोखरेलले ती महिला रास्वपा पार्टी र सरकारबाटै असुरक्षित हुने खतरा औंल्याएकी छन् । अरुले पनि त्यसै भनिरहेका छन् । ती महिलाको सुरक्षाका बारेमा विज्ञप्ति नबोलेको किन ?

    ९) खगेन्द्रलाई कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नहुनु भनेर दिएको निर्देशन झनै डरलाग्दो छ । महामन्त्री विपीनजी, सभापति रवि लामिछानेजी, तपाईंका सांसद् फरार छन्, सार्वजनिक कार्यक्रममा सहभागी बन्ने कुरै आउँदैन । तपाईंहरुले सार्वजनिक कार्यक्रममा सहभागी नहुनु भनेर निर्देशन दिनुको अर्थ छैन । बरु तुरुन्तै सम्पर्कमा आउनु, सार्वजनिक हुनु, अफ गरेको फोन अन गर्नु भनेर निर्देशन दिनुस् ।

    खगेन्द्र सुनारको बारेमा सरकारले गर्ने अनुसन्धान सुदन गुरुङको सम्पत्ति छानबिन जस्तो हुँदैन भन्ने प्रत्याभूति नै अहिलेको आवश्यकता हो । त्यसैगरी असाध्यै महत्त्वपूर्ण कुरा पीडित महिलाको सुरक्षा हो ।

    जनताले रास्वपालाई ‘रगत पिउने पार्टी’ भन्न थालिसके । कृपया ढाकछोप नगर्नुहोला, नजोगाउनुहोला, रास्वपाको इज्जत जोगाउनुहोला ।

    – राजकुमार रेग्मीको फेसबुक वालबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images