काठमाडौं – यात्रा गर्ने क्रममा तपाईंलाई बान्ता आउने तथा वाकवाकी लाग्छ ? यही समस्याका कारण चाहेर पनि यात्रामा जान पाइरहनु भएको त छैन ? छ भने अब चिन्ता नलिनुस् । यहाँ त्यसबाट जोगिने केही टिप्सबारे चर्चा गरिएको छ ।
सवारीसाधनमा यात्रा गर्दा हुने यस्तो समस्यालाई ‘मोशन सिकनेस’ अर्थात् यात्राजन्य वाकवाकी भनिन्छ । विशेषगरी घुम्ती धेरै भएका सडक, उकालो-ओरालो र खाल्डाखुल्डी भएका बाटोमा यात्रा गर्दा यो समस्या बढी देखिन सक्छ । बालबालिका तथा पहिले पनि यात्राका क्रममा वाकवाकी हुने व्यक्तिमा यसको जोखिम बढी हुन्छ ।
आँखाले देखेको दृश्य र भित्री कानले महसुस गरेको शरीरको गति तथा सन्तुलनबीच तालमेल नमिल्दा यस्तो समस्या देखिन्छ । यसका कारण वाकवाकी लाग्ने, चक्कर आउने, चिसो पसिना आउने, थकान महसुस हुने र बान्ता हुने जस्ता लक्षण देखिन सक्छन् ।
यद्यपि यात्रा गर्नुअघि केही तयारी गर्ने र यात्राका क्रममा सामान्य सावधानी अपनाउने हो भने यस्तो समस्या हुनबाट बच्न सकिन्छ । दसैंको यात्रा सहज बनाउन यी उपाय अपनाउन सकिन्छ ।
यात्रा गर्नुअघि हल्का खाना खानुहोस्
यात्रामा निस्कनुअघि पेट खाली नराख्नुस् । धेरै टन्न हुने गरी पनि नखानुस् । धेरै चिल्लो, पिरो वा आफूलाई अपच हुने खानेकुरा कम खानुस् । हल्का र सजिलै पच्ने खाना खाएर यात्रा गर्दा बान्ता आउने समस्या कम हुनसक्छ ।
मोबाइल चलाउने बानी कम गर्नुहोस्
गाडी गुडिरहेका बेला मोबाइल चलाउने, भिडियो हेर्ने, सामाजिक सञ्जाल स्क्रोल गर्ने गर्दा पनि वाकवाकी बढ्न सक्छ । त्यसैले सकेसम्म मोबाइलबाट ध्यान हटाएर अगाडि टाढाको स्थिर दृश्य हेर्ने गर्नुस् ।
टाउकोलाई सिटमा अड्याएर स्थिर राख्दा पनि केही राहत मिल्न सक्छ । सम्भव भए आँखा बन्द गरेर आराम गर्नुस् ।
आफूलाई सहज हुने सिट रोज्नुहोस्
सिटको स्थानले पनि यात्राजन्य वाकवाकी हुनसक्छ । कारमा यात्रा गर्दा सम्भव भए अगाडिको सिट रोज्नुस् । यसले बान्ता हुन केही मात्रामा कम हुनसक्छ । बसमा हो भने अगाडितिरको भागमा, झ्यालबाट बाहिरको दृश्य स्पष्ट देखिने सिट रोज्नुस् ।
गाडीभित्र ताजा हावा आउने स्थानमा बस्नुस्
गाडीभित्रको अत्यधिक गर्मी, बन्द वातावरण र इन्धन वा अत्तरको कडा गन्धले वाकवाकी हुने वा टाउको दुख्न सक्छ । सम्भव भएसम्म ताजा हावा आउने स्थानमा बस्ने र आफूलाई सहज हुने तापक्रम कायम राख्ने कोसिस गर्नुस् ।
लामो यात्रामा बीचबीचमा विश्राम लिनुस्
लामो दूरीको यात्रा गर्दा सम्भव भएसम्म सुरक्षित स्थानमा रोकिएर केही समय विश्राम लिनुस् । गाडीबाट ओर्लिएर ताजा हावामा बस्दा वा केहीबेर आराम गर्दा असहज कम हुनसक्छ । वाकवाकी सुरु भएमा मोबाइल हेर्ने काम रोक्नुस् । टाउको स्थिर राखेर आराम गर्नुस् ।
पानी थोरै-थोरै गरेर पिउनुस्
यात्राका क्रममा नियमित रूपमा थोरै-थोरै पानी पिउने गर्नुस् । एकै पटक धेरै पानी पिउँदा केही व्यक्तिमा वाकवाकी बढ्नसक्छ । बान्ता भएमा शरीरमा पानी र लवणको कमी हुन सक्छ ।
बान्ता भइरहने बानी छ भने यात्राको क्रममा साथमा जीवनजल (ओआरएस) राख्नु उपयोगी हुन्छ । यसको घोल प्याकेटमा उल्लेख गरिएको निर्देशनअनुसार सही मात्राको सफा पानीमा तयार गर्नुस् र आवश्यकताअनुसार सेवन गर्नुस् ।
औषधि प्रयोग गर्नुअघि सल्लाह लिनुस्
यात्राजन्य वाकवाकी कम गर्न प्रयोग गरिने औषधि उपलब्ध छन् । तर केही औषधिले निद्रा लाग्ने, मुख सुक्ने, चक्कर आउने वा प्रतिक्रिया दिने क्षमता कम गर्ने असर गर्न सक्छन् । त्यसैले औषधि प्रयोग गर्नुअघि चिकित्सक वा स्वास्थ्यकर्मीसँग सल्लाह लिनु उचित हुन्छ ।
विशेषगरी बालबालिका, गर्भवती, ज्येष्ठ नागरिक तथा दीर्घरोग भएका व्यक्तिले औषधि छनोट गर्दा सावधानी अपनाउनुपर्छ ।
तस्विर : एआई






















