काठमाडौं– श्रीलङ्काका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षे स्वास्थ्यमा एक्कासि गम्भीर समस्या आएपछि अस्पताल भर्ना भएका छन् ।
राजपाक्षेको राजनीतिक दल ‘श्रीलङ्का पोदुजाना पेरामुना’ ले दिएको जानकारीअनुसार सोमबार बिहान अचानक स्वास्थ्य बिग्रिएपछि उनलाई नवलोका अस्पताल पुर्याइएको थियो । हाल उनको चिकित्सकहरूले गहन निगरानीमा आईसीयूमा राखेर उपचार गरिरहेका छन् ।
उनकी श्रीमती शिरान्ती राजपाक्षे पनि श्रीलंकाको प्रहरीको नियन्त्रण रहेकै बेला राजपाक्षे अस्वस्थ भएका छन् । यसबीच शिरान्तीको अग्रिम जमानत याचिकालाई अदालतले खारेज गरिदिएको छ ।
शिरान्तीलाई घूसखोरी तथा भ्रष्टाचार अनुसन्धान आयोगका अधिकारीहरूले बयान लिएपछि उनको किरुलापोनेस्थित निवासबाटै गिरफ्तार गरेका थिए ।
कोलम्बोस्थित ‘लेडी रिडवे चिल्ड्रन्स हस्पिटल’लाई एउटा सीटी स्क्यानर मेसिन खरिद गरी हस्तान्तरण गर्न ‘सिरिलिया सेविया’ नामक संस्थाको माध्यमबाट १० मिलियन श्रीलङ्काली रुपैयाँ सङ्कलन गरिएको उनीमाथि आरोप छ । आरोपअनुसार उक्त मेसिन अस्पताललाई नदिई रकम हिनामिना गरिएको थियो ।
सोही भ्रष्टाचार मुद्दामा गिरफ्तारीबाट बच्न शिरान्तीले दायर गरेको अग्रिम जमानत याचिकालाई कोलम्बोका मजिस्ट्रेटले विचार विमर्शपछि खारेज गरिदिएका हुन् ।
राजपाक्षे परिवारमाथि भइरहेको कानुनी कारबाही शिरान्तीमा मात्र सीमित छैन । महिन्दा राजपाक्षेका जेठा छोरा, सांसद तथा विपक्षी नेता नमल राजपाक्षे पनि वित्तीय गडबडीका फरक फरक मुद्दाहरूमा छानबिनको दायरामा छन् ।






















