काठमाडौं – अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । कोषको विश्व आर्थिक परिदृश्य प्रतिवेदनअनुसार सन् २०२७ मा नेपालको आर्थिक वृद्धिदर सामान्य सुधार हुँदै ३.७ प्रतिशत पुग्ने अनुमान छ ।
आईएमएफका अनुसार सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत रहेको अनुमान गरिएको छ । यसले आगामी दुई वर्ष नेपालको आर्थिक विस्तार चार प्रतिशतभन्दा तल रहने संकेत गरेको छ ।
आर्थिक वृद्धिदर सुस्त रहने प्रक्षेपणसँगै नेपालमा मुद्रास्फीतिको दबाब पनि बढ्न सक्ने आईएमएफले जनाएको छ । सन् २०२५ मा ४.१ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फीति सन् २०२६ मा घटेर ३.१ प्रतिशतमा झर्ने र सन् २०२७ मा बढेर ५.८ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
नेपालको अर्थतन्त्रमा बाह्य जोखिमसमेत चुनौतीका रूपमा रहने आईएमएफको विश्लेषण छ । विशेषगरी ऊर्जा आयातमा निर्भर अर्थतन्त्र भएकाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा इन्धन, ढुवानी तथा उत्पादन लागतमा दबाब पर्न सक्छ । मध्यपूर्वको युद्ध र ऊर्जा आपूर्तिमा हुन सक्ने अवरोधलाई पनि जोखिमका रूपमा औंल्याइएको छ ।
विश्व आर्थिक वृद्धिदर पनि सुस्त हुने
आईएमएफले सन् २०२६ मा विश्व अर्थतन्त्रको वृद्धिदर ३.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ । सन् २०२५ मा विश्व आर्थिक वृद्धिदर ३.५ प्रतिशत रहेको अनुमान छ । सन् २०२७ मा भने विश्व अर्थतन्त्र ३.४ प्रतिशतले विस्तार हुने अपेक्षा गरिएको छ ।
भूराजनीतिक तनाव, युद्ध र व्यापारसम्बन्धी अनिश्चितताले विश्व अर्थतन्त्रमा दबाब सिर्जना गरे पनि प्रविधि क्षेत्रमा भइरहेको लगानी र अर्थतन्त्रले बदलिँदो परिस्थितिअनुसार आफूलाई अनुकूल बनाउने क्षमताले अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्न सहयोग गरेको आईएमएफको विश्लेषण छ ।
विशेषगरी कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी पूर्वाधार, उपकरण र प्रविधिमा भइरहेको लगानीले केही प्रमुख अर्थतन्त्रमा आर्थिक गतिविधि बढाएको छ । तर, यसबाट प्राप्त हुने लाभ सबै देशमा समान रूपमा नपुगेको कोषले जनाएको छ ।
अमेरिका र भारतको वृद्धि तुलनात्मक रूपमा बलियो
आईएमएफको प्रक्षेपणअनुसार अमेरिकाको अर्थतन्त्र सन् २०२६ र २०२७ मा समान २.३ प्रतिशतले विस्तार हुनेछ । निजी उपभोग, कर कटौती तथा एआई क्षेत्रमा भइरहेको लगानीले अमेरिकी आर्थिक गतिविधिलाई सहयोग गर्ने अपेक्षा गरिएको छ ।
भारतको आर्थिक वृद्धिदर भने सन् २०२६ र २०२७ दुवै वर्ष सात प्रतिशत रहने अनुमान छ । बलियो आन्तरिक माग, सेवा क्षेत्रको विस्तार र प्रविधिमा भइरहेको लगानीले भारतीय अर्थतन्त्रको वृद्धिलाई टेवा दिने अपेक्षा गरिएको छ ।
युरोजोनको आर्थिक वृद्धिदर सन् २०२६ मा १.१ प्रतिशत रहने प्रक्षेपण छ । यसअघि जुलाईमा गरिएको अनुमानमा वृद्धिदर ०.९ प्रतिशत रहने आकलन गरिएको थियो । एआईमा बढ्दो लगानी, औद्योगिक आपूर्ति शृङ्खलामा सहभागिता र रक्षा खर्च वृद्धिले युरोपको आर्थिक गतिविधिमा सहयोग गर्ने अपेक्षा छ ।
बेलायतको आर्थिक वृद्धिदरको अनुमान पनि बढाएर १.३ प्रतिशत पुर्याइएको छ । चीनको अर्थतन्त्र सन् २०२६ मा ४.५ प्रतिशत र सन् २०२७ मा चार प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ ।
मध्यपूर्वको युद्धले बढायो आर्थिक जोखिम
मध्यपूर्वमा जारी युद्धले विश्व ऊर्जा बजारमा अनिश्चितता बढाएको आईएमएफले जनाएको छ । युद्ध लम्बिँदा कच्चा तेलको मूल्य बढ्न सक्ने र त्यसले ऊर्जा आपूर्ति, उत्पादन लागत तथा उपभोक्ता मूल्यमा दबाब सिर्जना गर्ने जोखिम छ ।
युद्धबाट प्रत्यक्ष प्रभावित देशको आर्थिक अवस्था कमजोर हुन सक्ने संकेत गर्दै आईएमएफले साउदी अरबको अर्थतन्त्र सन् २०२६ मा ३.३ प्रतिशतले संकुचित हुने प्रक्षेपण गरेको छ । यसअघि जुलाईमा साउदी अरबको अर्थतन्त्र १.७ प्रतिशतले विस्तार हुने अनुमान गरिएको थियो ।






















