काठमाडौं – बडादसैंलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका छन् । मुस्ताङ, दार्चुला, बझाङ, बाजुरा र डोल्पालगायत हिमाली जिल्लाबाट व्यापारीले बिक्रीका लागि भेडाच्याङ्ग्रा पोखरा ल्याएका हुन् । पोखरा महानगरपालिका–१ सिमपानी र वडा नम्बर २५ हेमजामा भेडाच्याङ्ग्राको हाटबजार सञ्चालनमा छ । महानगरपालिकाको पशु सेवा शाखाका अनुसार अझै केही भेडाच्याङ्ग्रा बाटोमै रहेकाले फूलपातीभन्दा एक–दुई दिनअघिसम्म बजारमा आइपुग्नेछन् ।
पशु सेवा शाखाका पशु चिकित्सक नवराज अधिकारीका अनुसार मुस्ताङबाट नौ हजार, दार्चुलाबाट दुई हजार, बझाङबाट एक हजार ८०० तथा बाजुरा र डोल्पाबाट एक–एक हजार भेडाच्याङ्ग्रा पोखरा ल्याइएको छ । “दसैँका लागि पोखरामा भेडाच्याङ्ग्रा आइसकेका छन् । कतिपय व्यापारीले हाटबजारमा ल्याइसकेका छन् भने धेरैले पोखरावरपरका चरन क्षेत्रमा राखेका छन्,” अधिकारीले भने ।
गण्डकी प्रदेशका अन्य जिल्लाबाट समेत स्थानीय भेडा बिक्रीका लागि पोखरा ल्याउने गरिन्छ । पोखराको हाटबजारमा च्याङ्ग्रा प्रतिकेजी एक हजार २५० रुपैयाँसम्म र भेडा प्रतिकेजी ७०० रुपैयाँमा बिक्री भइरहेको महानगरपालिकाले जनाएको छ ।
भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण र अनुगमन
दसैंका लागि ठूलो सङ्ख्यामा भेडाच्याङ्ग्रा भित्रिएसँगै पशु सेवा शाखा, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्की र पशु क्वारेन्टाइन कार्यालय पोखराको संयुक्त टोलीले स्वास्थ्य परीक्षण तथा बिक्री वितरणको अनुगमन थालेको छ । अनुगमनका क्रममा अधिकांश भेडाच्याङ्ग्रा स्वस्थ पाइएको टोलीले जनाएको छ । फूलपातीसम्म अनुगमनलाई निरन्तरता दिइनेछ ।
व्यापारीले भेडाच्याङ्ग्रा ढुवानी गर्नुअघि सम्बन्धित जिल्लाका पशु सेवा कार्यालयबाट स्वास्थ्य परीक्षण गराई भेटेरिनरी निरीक्षकको प्रमाणपत्र लिनुपर्ने व्यवस्था छ । अनुगमनका क्रममा बिरामी पशु भेटिएमा अन्य पशुबाट अलग राख्न आइसोलेसनको व्यवस्था गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्कीका प्रमुख डा। ग्रिष्म न्यौपानेले चाडपर्वमा ठूलो सङ्ख्यामा पशु भित्रिने भएकाले स्वास्थ्य अवस्था, रोगको जोखिम र बिक्री वितरणलाई ध्यानमा राखेर संयुक्त अनुगमन गरिएको बताए ।
उनले उपभोक्तालाई भेडाच्याङ्ग्रा खरिद गर्दा स्वास्थ्य अवस्थाबारे ध्यान दिन आग्रह गरे । सामान्य अवस्थामा श्वासप्रश्वासको गति अस्वाभाविक रूपमा नबढेको, र्याल नकाढेको र रौँ चिल्लो भएको पशु छनोट गर्न उहाँको सुझाव छ । “लामो समय हिँडाएर वा गाडीमा ल्याइएका भेडाच्याङ्ग्रालाई एक–दुई दिनअघि नै खरिद गरेर लैजानु र बध गर्नुभन्दा कम्तीमा २४ घण्टाअघि घरमा ल्याउनु राम्रो हुन्छ,” डा. न्यौपानेले भने ।
वर्षा र पहिरोले ढुवानीमा समस्या
हिमाली क्षेत्रमा चिसो हावापानीमा हुर्किएका च्याङ्ग्राको मासुको माग दसैँका बेला पोखरा र आसपासका क्षेत्रमा बढ्ने गरेको छ । पोखरामा भेडाच्याङ्ग्रासँगै सुर्खेत, अर्घाखाँची, दाङ, पाल्पा र तनहुँलगायत जिल्लाबाट समेत ठूलो सङ्ख्यामा खसीबोका ल्याएर बिक्री गरिन्छ । मुगुका व्यापारी नवराज देवकोटाले हुम्लाबाट ११ दिन लगाएर च्याङ्ग्रा पोखरा ल्याइपुर्याएको बताउनुभयो । उनका अनुसार केही दूरी पैदल हिँडाएर र केही ठाउँमा गाडीमा राखेर च्याङ्ग्रा ढुवानी गरिएको हो ।
यस वर्ष अविरल वर्षा र पहिरोका कारण ढुवानीमा विगतका वर्षको तुलनामा बढी कठिनाइ भएको उनले बताए । “यसपटक कहिले पानीले सतायो, कहिले बाढीले समस्या भयो । पहिले बजार राम्रो थियो, अहिले बजार पनि राम्रो छैन,” देवकोटाले भने ।बाटोमा विभिन्न स्थानीय तह तथा पशु सेवा कार्यालयमा तिर्नुपर्ने शुल्क र चरनका लागि समेत खर्च गर्नुपर्ने भएकाले च्याङ्ग्राको मूल्य महँगो पर्ने गरेको उनको भनाइ छ ।






















