images
images
  • ऊर्जा सङ्कट र ऋणको दबाब झेल्दै विश्व अर्थतन्त्र

    काठमाडौं– अमेरिका-इरान युद्धबाट बढेको ऊर्जा सङ्कट, चुलिँदो ऋण र कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा भइरहेको लगानीले विश्व अर्थतन्त्र प्रभावित भइरहेका बेला अर्थमन्त्री तथा केन्द्रीय बैंकका प्रमुखहरू अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकको वार्षिक बैठकका लागि बैङ्ककमा भेला हुँदैछन् ।

    सोमबारदेखि शनिबारसम्म चल्ने बैठकमा बढ्दो मुद्रास्फीति, जलवायु सङ्कट र आर्थिक दबाबबीच सरकारी खर्च नियन्त्रण तथा प्रभावित नागरिकलाई सहयोग गर्ने चुनौतीबारे छलफल हुनेछ । आईएमएफले वित्तीय सञ्चिति बढाउन खर्च नियन्त्रण गर्न आग्रह गरे पनि आलोचकहरूले विकासशील देशलाई थप वित्तीय सहयोग आवश्यक रहेको बताएका छन् ।

    आईएमएफ प्रमुख क्रिस्टालिना जर्जिएभाका अनुसार विश्व अर्थतन्त्र एकातिर ऊर्जा आपूर्तिमा आएको धक्का र अर्कातिर एआईका कारण बढेको मागको दोहोरो दबाबमा छ । इरान युद्धका कारण तेल तथा ग्यास आपूर्ति प्रभावित हुँदा आयातित ऊर्जामा निर्भर विकासशील देश बढी मारमा परेका छन् ।

    बोस्टन विश्वविद्यालयका विकास नीति केन्द्रका निर्देशक केभिन पी. गलाघेरले युद्ध, बढ्दो ब्याजदर र एल निनोबाट तीव्र बनेको जलवायु सङ्कटले गरिब देशलाई समस्यामा पारेको बताए । उनले ती देशलाई तत्कालीन आर्थिक सहायता र दीर्घकालीन वित्तीय सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिए । यूएनडीपीले पनि ऊर्जा तथा खाद्यान्नको मूल्यवृद्धिले लाखौं मानिसलाई पुनः गरिबीमा धकेल्न सक्ने चेतावनी दिएको छ ।

    विकसित देशमा ऊर्जा मूल्यवृद्धिले मुद्रास्फीति बढाएपछि केन्द्रीय बैंकहरूले ब्याजदर बढाएका छन् । अर्कातिर एआईमा बढ्दो लगानीले सेयर बजार र आर्थिक वृद्धिलाई टेवा दिएको छ । आईएमएफले एआईमा हुने लगानी रेलमार्ग, विद्युत् तथा दूरसञ्चार सञ्जाल निर्माणमा हुने लगानीभन्दा बढी हुन सक्ने जनाएको छ । तर यसको आपूर्ति शृङ्खला बाहिर रहेका विकासशील देशले आर्थिक लाभ लिन नसक्ने चिन्ता छ ।

    यस साता जी- २० का अर्थमन्त्रीहरूको बैठकसहित अन्य छलफल पनि हुनेछन् । सरकारी ऋणपत्रको बढ्दो प्रतिफल प्रमुख कार्यसूचीमा रहने बैठकमा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट भने घरेलु व्यस्तताका कारण सहभागी नहुने अमेरिकी अर्थ मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images