काठमाडौं– दसैँको मुखमा पनि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव कायमै छ। उद्योगीहरूका अनुसार आपूर्ति प्रणालीमा थप समस्या नआए पनि ग्यासको आपूर्ति सहज हुन अझै चार महिना लाग्न सक्छ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौँदीमा सडक भासिएपछि काठमाडौं भित्रिने १३० भन्दा बढी ग्यास बुलेट बाटोमै रोकिएका छन्। यसले उपत्यकामा ग्यास आपूर्तिमा थप समस्या सिर्जना गरेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ।
अभाव कम गर्न उपत्यकाका छ स्थानबाट जुनसुकै कम्पनीका खाली सिलिन्डर साटेर भरिएको सिलिन्डर लिन सकिने व्यवस्था गरिए पनि उपभोक्ताले घण्टौँ लाइनमा बस्दा समेत ग्यास नपाएको गुनासो गरेका छन्। कतिपय उद्योगले आफ्नै ब्रान्डका सिलिन्डर मात्र साट्ने गरेको उपभोक्ताको भनाइ छ।
ग्यास बिक्रेता महासंघका महासचिव विनोद काफ्लेका अनुसार वितरण केन्द्रहरूमा दैनिक सयौँदेखि दुई हजारसम्म सिलिन्डर बिक्री भइरहे पनि लाइनमा बसेका सबै उपभोक्ताले ग्यास पाउन सकेका छैनन्।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दले जाडोयाममा ग्यासको खपत गर्मीयामभन्दा करिब २० प्रतिशत बढ्ने भएकाले आपूर्ति सहज हुन समय लाग्ने बताए। उनका अनुसार अहिलेको अभाव जाडोयामसम्म कायम रहन सक्छ।
नेपाल आयल निगम र ग्यास बिक्रेता महासंघको समन्वयमा घटस्थापनादेखि फूलपातीसम्म लागू गरिएको सिलिन्डर साट्ने व्यवस्थाअन्तर्गत उपभोक्ताले अतिरिक्त शुल्कबिना अर्को ब्रान्डको सिलिन्डर लिन सक्नेछन्। तर, भरिएको ग्यासको निर्धारित मूल्य भने तिर्नुपर्नेछ।






















