काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाले ४३ हजार ५१ ऋणीलाई ६५ अर्ब ४० करोड रुपैयाँभन्दा बढी सहुलियतपूर्ण कर्जा स्वीकृत गरेका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार सबैभन्दा बढी व्यावसायिक कृषि तथा पशुपन्छी कर्जाअन्तर्गत १८ हजार ३४२ ऋणीलाई ४० अर्ब १८ करोड रुपैयाँभन्दा बढी कर्जा स्वीकृत भएको छ। त्यस्तै, महिला उद्यमशीलता कर्जाअन्तर्गत २४ हजार १७८ ऋणीले २४ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी कर्जा स्वीकृति पाएका छन्।
सहुलियतपूर्ण कर्जा कार्यक्रममा शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा, दलित समुदाय व्यवसाय विकास तथा प्राकृतिक विपद् प्रभावितको निजी आवासलगायत शीर्षक समेटिएका छन्। सरकारले यस्तो कर्जाको ब्याजदरमा तीन प्रतिशतसम्म ब्याज अनुदान उपलब्ध गराउँदै आएको छ। अनुदान अधिकतम पाँच वर्षसम्म उपलब्ध हुने व्यवस्था छ।
यसैबीच, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका शहरी क्षेत्रका शाखा समायोजन गर्न लचकता अपनाएको छ। संशोधित व्यवस्थाअनुसार शहरी क्षेत्रमा शाखा गाभ्न सकिने भए पनि ग्रामीण क्षेत्रमा शाखा बन्द वा स्थानान्तरण गर्न राष्ट्र बैंकको पूर्वस्वीकृति आवश्यक पर्नेछ। शाखा समायोजन गर्दा सेवाग्राहीको वित्तीय पहुँचमा असर नपर्ने सुनिश्चित गर्नुपर्ने र कम्तीमा ९० दिनअघि सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्था गरिएको छ।






















