काठमाडौं– मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा नियुक्ति हुनुअघिसम्म माथिल्लो वरीयतामा थिए- न्यायाधीश हरि फुयाल । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि सिफारिस गरेकामध्ये चौथोमा थिए- प्रधानन्यायाधीश शर्मा । उनीभन्दा माथि तेस्रोमा थिए हरि फुयाल, दोस्रोमा थिए कुमार रेग्मी । सिफारिस हुँदा न्यायाधीश सपना प्रधान मल्ल थिइन् पहिलोमा । तर चौथो वरीयतामा रहेका मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भए र उनी नियुक्ति पनि भए ।
त्यसबेला शर्माभन्दा वरीयतामा माथि रहेका तीन जना न्यायाधीशहरु शर्मासँग असन्तुष्ट रहेको समाचारहरु बाहिर आएका थिए । तर यसबेला भने प्रधानन्यायाधीश शर्मा र न्यायाधीश हरि फुयाल एउटै प्रकरणमा विवादमा तानिएका छन् ।
बुधबारमात्र संवैधानिक इजालास बस्नुपर्ने थियो । तर फुयालले इजालासमा बस्न अस्वीकार गरे । त्यसपछि संवैधानिक इजलास नै बसेको छैन । संवैधानिक इजालस नबस्नुमा मुख्य कारण थिए- न्यायाधीश फुयाल ।
प्रधानन्यायाधीश शर्मा र पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सम्बन्ध भने यसअघि नै चर्चामा आएको थियो । राणाकै पहलमा शर्मा प्रधानन्यायाधीश भएको भन्नेबारे त्यसैबेला धरै समाचारहरु बाहिर आएका थिए । तर गएको असारतिर शहरमा एउटा अनौठो स्वर सुनियो- प्रतिनिधिसभाको पुनःस्थापना । त्यो पनि फागुन २१ गते चुनावमा भाग लिएर पराजित भएका अनुहारहरुबाट ।
नयाँ चुनाव भएर नयाँ संसद्ले काम गरिसकेपछि बैमौसमको बाजा किन बज्यो भनेर धेरैले शंका गरेका थिए । यसको जायज उत्तर समेत अहिलेसम्म सुनिएको छैन । यो बेमौसमको बाजामा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको हात रहेको भनेर बजारमा अनेकथरिका चर्चा समेत भए । त्यसमा अदालतबाट प्रतिनिधिसभाको पुनःस्थापना गराउने डिजाइनअन्तर्गत यो माग आएको भन्ने पनि अनेक टिप्पणी भएका थिए ।
पुरानो प्रतिनिधिसभा पुनःस्थापना गर्ने एउटा यो खेलोमेलो नै थियो ।
जुन बेला प्रतिनिधिसभा पुनःस्थापनाको मागले चर्चा पाएको थियो, त्यसै बेला प्रधानन्यायाधीश शर्मा चीनमा आयोजना भएको एक कार्यक्रममा थिए । चीनमा रहेका शर्मा र नेपालमा रहेका चोलेन्द्र शमशेरबीच पटक-पटक भएको फोन वार्ताले भने अदालतबाट प्रतिनिधिसभाको पुनःस्थापना गराउने कुरा संयोग मात्र मान्न सकिएला र भनेर धेरैले शंकासहित प्रश्न उठाए ।
यसले देशमा एउटै खतरनाक सेटिङ भएको आशंका गरिएको थियो । तर त्यसमा प्रधानन्यायाधीशसँग असन्तुष्ट रहेका हरि फुयालको नाम थिएन । यो चर्चासँग जोडेर पनि फुयाललाई हेरिएको थियो । तर पछिल्लो चरणमा उनको नाम बिचौलियासँगको सेटिङमा देखेर सबै चकित भएका छन् ।
चोलेन्द्रको पक्राउपछि प्रतिनिधिसभा पुनःस्थापनाको मागमा एकाएक सेलाउनुको रहस्य पनि अहिलेसम्म बाहिर आएको छैन । प्रतिनिधिसभा पुनःस्थापनाको माग किन उठ्यो र किन थन्कियो भन्ने विषय पनि रहस्यको गर्भमा नै छ ।
यस प्रकरणमा सर्वोच्च अदालतका न्यायाधीश फुयाल र इनम सापकोटाबीच भएको भनिएको ह्वाट्सएप संवाद पनि चर्चामा आएको छ । सार्वजनिक विवरणअनुसार विवादास्पद कारोबारी दीपक भट्टको समूहका सदस्य रोहित गुप्तालाई धरौटीमा छाड्ने आदेशसँग सम्बन्धित विषयमा फुयालले सापकोटालाई सन्देश पठाएका थिए ।
विशेष अदालतले गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको निवेदनमा न्यायाधीश फुयाल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गत भदौ १७ गते उक्त आदेश उल्ट्याउँदै गुप्तालाई धरौटीमा छाड्ने आदेश दिएको विवरण सार्वजनिक भएको छ ।
आदेश भएकै दिन न्यायाधीश फुयाल र सापकोटाबीच संवाद भएको भनिएको छ । उक्त संवादमा फुयालले सापकोटालाई भोलिपल्ट साँझ ७ बजे कुपण्डोलस्थित हिमालय होटलमा भेट्न प्रस्ताव गरेको दाबी गरिएको छ ।
यदि संवादको विवरण आधिकारिक रूपमा पुष्टि हुन्छ भने विचाराधीन मुद्दासँग सम्बन्धित व्यक्तिसँग बिचौलियामार्फत भएको सम्पर्कको प्रकृति र उद्देश्यबारे प्रश्न उठ्छ । तर संवाद हुनु वा भेट्ने प्रस्ताव आउनुले मात्रै अनुचित प्रभाव, आर्थिक लेनदेन वा न्यायिक निर्णयमा हस्तक्षेप भएको स्वतः प्रमाणित गर्दैन । प्रस्तावित भेट वास्तवमै भएको थियो वा थिएन भन्ने विषयको पनि छुट्टै पुष्टि गर्नुपर्छ ।
प्रहरीले सम्भावित भेटको यथार्थ पत्ता लगाउन होटलको सीसीटीभी फुटेज संकलन गरेर अनुसन्धान गरिरहेको बताएको छ । अनुसन्धानको आधिकारिक निष्कर्ष सार्वजनिक नभएसम्म संवाद र भेटसम्बन्धी दाबीलाई पुष्टि भएको तथ्यका रूपमा लिन मिल्दैन ।





















