दोलखा– दोलखाको बिगु गाउँपालिका–५ चिलंखाले प्रथम वडा अध्यक्ष कप ‘सेभेन ए साइड’ वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आपसी सद्भाव, भाईचारा, एकता तथा स्थानीय खेलकुदको विकास गर्ने उद्देश्यले यही कात्तिक १९ देखि २१ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको सो वडाका अध्यक्ष काले शेर्पा ‘कर्मा’ ले जानकारी दिए ।
उनका अनुसार स्थानीय मुकाम सिंगटीस्थित खोलीखिम चौरमा सञ्चालन हुने प्रतियोगितामा बिगु, गौरीशंकर र कालिञ्चोक गाउँपालिकाअन्तर्गतका वडास्तरीय टोलीले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा सहभागिता जनाउन इच्छुक टोलीले कात्तिक १६ गते साँझ ७ बजेसम्ममा टीम दर्ता गरिसक्नुपर्ने छ भने १७ गते साँझ ५ बजे टाइसिट सार्वजनिक गरिने बताइएको छ ।
प्रतियोगितामा सहभागी प्रत्येक टीममा अनिवार्य सात जनासहित बढीमा कूल १२ खेलाडी रहन पाउने छन् । सहभागी खेलाडीले आफ्नो पहिचान खुल्ने परिचयपत्र पेश गर्नाका साथै साथमा समेत राख्नुपर्ने, फिफाको नियमअनुसार खेल सञ्चालन गरिने, खेलाडीले टीम परिवर्तन गर्न नपाउने तथा सहभागी टीम सबैले आयोजकले जारी गर्ने फिफासँग सम्बन्धित अनुशासन र नियम पूर्णरूपमा पालना गर्नुपर्ने सूचनामा उल्लेख छ ।
प्रतियोगिताको विजेता टोलीले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ३० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई सामेत १०/१० हजार रुपैयाँ सान्त्वना पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरलाई पनि नगद, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ । ‘म्यान अफ द म्याच’को पुरस्कार भने क्वार्टरफाइनलदेखि मात्र उपलब्ध गराइने आयोजकले स्पष्ट पारेको छ ।
बिगु गाउँपालिका वडा नं. ५ चिलंखाले आयोजना गर्ने सो प्रतियोगिताको व्यवस्थापन जिम्मेवारी स्थानीय श्री देवीटार माध्यमिक विद्यालय, बिगु–५ चिलंखाले लिएको छ ।





















