images
images
  • सिटिजन्स बैंक नाफामा फर्किए पनि दबाबमा, ऋणात्मक सञ्चित मुनाफाले सेयरधनी लाभांशविहीन हुने जोखिम

    काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड खुद नाफामा फर्किए तापनि बैंकको मुख्य वित्तीय सूचकहरूमा गम्भीर दबाब देखिएको छ ।

    खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानीमा संकुचन आउनुका साथै उच्च निष्कृय कर्जा र ऋणात्मक वितरणयोग्य नाफाका कारण सेयरधनीहरूको प्रतिफल क्षमता खुम्चिएको बैंकको असोज मसान्तसम्मको वित्तीय विवरणले देखाएको छ ।

    वितरणयोग्य नाफा र सञ्चित मुनाफा ऋणात्मक, लाभांश क्षमतामा धक्का

    चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १० करोड ७७ लाख खुद नाफा कमाएको भए तापनि विभिन्न नियमनकारी समायोजन पश्चात् खुद वितरणयोग्य नाफा ऋणात्मक ४५ करोड ७७ लाख पुगेको छ । अघिल्लो वर्षको लाभांश भुक्तानी तथा नियमनकारी समायोजनका कारण बैंकको सञ्चित मुनाफा ऋणात्मक ४४ करोड ८४ लाखमा झरेको छ ।

    नेपाल राष्ट्र बैंकको नियम अनुसार सञ्चित मुनाफा ऋणात्मक रहेसम्म सेयरधनीहरूलाई लाभांश वितरण गर्न नपाइने भएकाले लगानीकर्ताहरू लाभांशबाट बञ्चित हुने जोखिम बढेको छ ।

    प्रतिशेयर नेटवर्थमा १० रुपैयाँको गिरावट

    बैंकको सेयरधनीहरूको वास्तविक सम्पत्ति दर्शाउने प्रतिशेयर नेटवर्थ अघिल्लो वर्षको सोही अवधिको १६५.४३ बाट घटेर १५५.४३ मा सीमित भएको छ । एकै वर्षमा प्रतिशेयर नेटवर्थ १० रुपैयाँले (५.५३ प्रतिशत) ले घट्नुले सेयरधनीहरूको इक्विटी मूल्यमा क्षयीकरण भएको पुष्टि गर्छ ।

    यस्तै बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी २.६८ मात्र रहेको अवस्थामा बजार मूल्य र आम्दानीको अनुपात ८४.३३ गुणा पुग्दा सेयरको मूल्याङ्कन अत्यधिक जोखिमयुक्त देखिएको छ ।

    खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानीमा संकुचन

    बैंकिङ क्षेत्रको मूल आम्दानी मानिने खुद ब्याज आम्दानीमा चालु त्रैमासमा ७.४३ प्रतिशतको गिरावट आएको छ । गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ६६ करोड खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष १ अर्ब ५४ करोड मात्र आर्जन गर्न सकेको छ ।

    बैंकको कुल ब्याज आम्दानी पनि ४ अर्ब ६ करोडबाट १०.६३ प्रतिशतले घटेर ३ अर्ब ६३ करोडमा झरेको छ । यसैगरी, कुल सञ्चालन आम्दानी गत वर्षको २.२१ अर्बबाट ६.५१ प्रतिशतले घटेर २.०७ अर्बमा सीमित भएको छ ।

    ६.८० प्रतिशत निष्कृय कर्जा र १ अर्ब ७ करोडको इम्पेयरमेन्ट भार

    बैंकको निष्कृय कर्जा अनुपात ६.८० प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ६.८४ प्रतिशतको तुलनामा सामान्य कम भए पनि नियामक निकायले तोकेको सुरक्षित सीमा (५ प्रतिशत) भन्दा निकै माथि छ ।

    निष्कृय कर्जा नियन्त्रण हुन नसक्दा बैंकले असोज मसान्तसम्ममा १ अर्ब ७ करोड ८५ लाख रकम इम्पेयरमेन्ट चार्ज बापत छुट्ट्याउनु परेको छ । कुल सञ्चालन आम्दानीको ५२ प्रतिशतभन्दा बढी हिस्सा सम्भावित कर्जा नोक्सानी व्यवस्थापनमा खर्चनु पर्दा बैंकको खुद नाफामा सोझै धक्का पुगेको छ ।

    कोर बैंकिङ नाफा कमजोर, गैर-सञ्चालन आम्दानीको सहारा

    इम्पेयरमेन्ट चार्ज पछिको बैंकको खुद सञ्चालन नाफा ११ करोड १४ लाख मात्र रहेको छ । बैंकले गैर-सञ्चालन आम्दानी बापत ४ करोड ३८ लाख आर्जन गरेपछि मात्र कर अघिको नाफा १५ करोड ५३ लाख पुग्न सफल भएको हो । यसले बैंकको नाफामा कोर बैंकिङ व्यवसायभन्दा बाहिरका स्रोतको उल्लेख्य योगदान रहेको प्रस्ट पार्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images