काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार प्रभु बैंक लिमिटेडको वित्तीय स्वास्थ्यमा गम्भीर चुनौती देखिएका छन् । बैंकले सार्वजनिक गरेको प्रथम त्रैमासको तथ्याङ्क अनुसार खराब कर्जामा भएको अनपेक्षित वृद्धि र सञ्चित मुनाफा उच्च घाटामा जाँदा बैंकका प्रमुख वित्तीय सूचकहरू दबाबमा परेका हुन् ।
चालु आर्थिक वर्ष ०८३/०८४ को पहिलो त्रैमाससम्म आइपुग्दा बैंकको निष्कृय कर्जा अघिल्लो वर्षको सोही अवधिको ५.७८ प्रतिशतबाट १५६.०६ प्रतिशतको तीव्र अन्तरले बढेर १४.८ प्रतिशत पुगेको छ । खराब कर्जामा आएको यो भारी वृद्धिका कारण बैंकको कर्जा असुली तथा जोखिम व्यवस्थापन पक्ष निकै फितलो बनेको देखिएको छ ।
वित्तीय विवरण अनुसार बैंकको सञ्चित मुनाफा तथा वितरणयोग्य नाफामा ठूलो गिरावट आएको छ । गत वर्षको पहिलो त्रैमासमा ४० करोड ६० लाख रुपैयाँ धनात्मक रहेको सञ्चित मुनाफा यस वर्ष १७७१.५० प्रतिशतले घट्दै ६ अर्ब ७८ करोड रुपैयाँ ऋणात्मक (घाटा) मा पुगेको छ । सञ्चित नाफा भारी मात्रामा ऋणात्मक भएसँगै बैंकको प्रतिशेयर वितरणयोग्य आम्दानी पनि २८ रुपैयाँ ८३ पैसा ऋणात्मक बनेको छ ।
बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानीमा समेत संकुचन आएको छ । अघिल्लो आवको पहिलो त्रैमासमा २ अर्ब ८९ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालू आवको सोही अवधिमा १९.३६ प्रतिशतले घटेर २ अर्ब ३३ करोड रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानीमा आएको गिरावट र सम्भावित कर्जा नोक्सानी व्यवस्थाका कारण बैंकको सञ्चालन नाफा १.५० प्रतिशतले घटेर १ अर्ब १५ करोड रुपैयाँमा झरेको छ ।
यस्तै, कर्जा प्रवाहमा देखिएको सुस्तताका कारण कुल कर्जाको आकार पनि खुम्चिएको छ । अघिल्लो वर्षको सोही अवधिमा २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको बैंकको चालू आवमा कर्जा ८.५४ प्रतिशतले घटेर २ खर्ब ११ अर्ब रुपैयाँमा झरेको छ । कर्जा विस्तार रोकिँदा बैंकको कर्जा(निक्षेप अनुपात पनि ६९.४६ प्रतिशतबाट घटेर ६५.०७ प्रतिशतमा सीमित भएको छ ।
कमजोर वित्तीय कार्यसम्पादनका कारण बैंकको कुल इक्विटी र जगेडा कोषमा क्षति पुगेको छ । अघिल्लो वर्ष ३८ अर्ब ५० करोड रुपैयाँ रहेको कुल इक्विटी १२.१७ प्रतिशतले घटेर ३३ अर्ब ८१ करोड रुपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ६४ पैसामा समेटिएको छ । यसैगरी बैंकको जगेडा तथा कोष ३१.३३ प्रतिशतले घटेर १० अर्ब २७ करोड रुपैयाँमा झरेको छ ।
पछिल्लो समयमा प्रभु बैंकको खुद नाफामा सामान्य वृद्धि देखिए तापनि चुलिँदो खराब कर्जा र पौने ७ अर्ब रुपैयाँभन्दा बढीको ऋणात्मक सञ्चित मुनाफाका कारण प्रभु बैंकको लाभांश वितरण क्षमता र वित्तीय स्थायित्वमा दीर्घकालीन असर पर्ने देखिन्छ ।




















