काठमाडौं- अमेरिकाको निर्यात प्रतिबन्धको सूचीमा रहेको चीनको एक विश्वविद्यालयले गत महिना एनभिडियाका शक्तिशाली एआई चिप एच २०० खरिद गरेको पाइएको छ ।
चीनको रक्षा क्षेत्रमा केन्द्रित प्रतिष्ठित विश्वविद्यालयहरूको समूह ‘सेभेन सन्स अफ नेशनल डिफेन्स’मा आवद्ध नर्थवेस्टर्न पोलिटेक्निकल युनिभर्सिटीले गत महिना दुई थान एच २०० चिप ८ लाख ७४ हजार ७०० चिनियाँ युआन (१ लाख २३ हजार अमेरिकी डलर) मा खरिद गरेको हो ।
रोयटर्स समाचार संस्थाका अनुसार विश्वविद्यालयको वेबसाइटमा अक्टोबर २१ मा प्रकाशित खरिदसम्बन्धी अभिलेखमा यस्तो विवरण उल्लेख छ ।
उक्त चिप एनभिडियाबाट सीधै नभई सान्सी बोसुआन नेटवर्क टेक्नोलोजी नामक चिनियाँ कम्पनीमार्फत विश्वविद्यालयको व्यवस्थापन संकायका लागि खरिद गरिएको अभिलेखमा उल्लेख छ ।
रोयटर्सको यो अनुसन्धान यस्तो समयमा सार्वजनिक भएको छ, जतिबेला एनभिडिया र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ अमेरिकामा बढ्दो निगरानी र आलोचनाको सामना गरिरहेका छन् ।
चीनमा एआई चिप बिक्रीमा लगाइएका प्रतिबन्ध खुकुलो बनाउन हुआङले अमेरिकी राजधानी वासिङ्टनमा लबिङ गर्दै आएका छन् ।
यसैबीच उनी चिनियाँ जासुसी अभियानको निशानामा परेको भन्ने समाचार सार्वजनिक भएपछि उनीमाथिको निगरानी थप बढेको छ ।
एच २०० एनभिडियाका सबैभन्दा शक्तिशाली चिपमध्ये एक हो । यसको प्रयोग उन्नत कृत्रिम बुद्धिमता (एआई) प्रणाली विकास गर्न, तालिम दिन र सञ्चालन गर्न गरिन्छ । अमेरिकी निर्यात कानुनअनुसार यस्तो चिप बिक्री गर्न सरकारी अनुमति आवश्यक हुन्छ । नर्थवेस्टर्न पोलिटेक्निकल जस्ता अमेरिकी प्रतिबन्धको सूचीमा रहेका संस्थालाई यस्तो अनुमति सामान्यतः दिइँदैन ।
अभिलेखअनुसार नर्थवेस्टर्न पोलिटेक्निकलले यस वर्ष चिनियाँ कम्पनीहरूसँग पाँचवटा सम्झौता गरी भाडामा कम्प्युटिङ क्षमता लिएर पनि एच २०० लगायत एनभिडियाका शक्तिशाली एआई प्रोसेसर प्रयोग गरेको छ ।
एनभिडियाका सीईओ हुआङले चीनमा अमेरिकी चिपको बिक्री जारी राख्दा अमेरिकाको प्राविधिक नेतृत्व कायम रहने र चिनियाँ ग्राहक अमेरिकी प्रविधिमै निर्भर रहने तर्क गर्दै आएका छन् ।
तर अमेरिकी केही सांसदको भनाइमा एनभिडियाका अत्याधुनिक एआई चिपमा चीनको पहुँच बढ्दा हतियार डिजाइन, गुप्तचर विश्लेषण र सैन्य आधुनिकीकरणका लागि आवश्यक एआई प्रणाली विकास गर्न चीनलाई सहज हुन सक्छ ।
अमेरिकी प्रतिबन्धको सूचीमा विश्वविद्यालय
चीनको उत्तरपश्चिमी सहर सियानमा रहेको नर्थवेस्टर्न पोलिटेक्निकल युनिभर्सिटीले सैन्य विमान, क्षेप्यास्त्र र भूउपग्रहसम्बन्धी अनुसन्धान गर्दै आएको छ ।
क्षेप्यास्त्र प्रसारसम्बन्धी गतिविधि र सैन्य अनुसन्धानमा संलग्न रहेको आरोप लगाउँदै अमेरिकी वाणिज्य मन्त्रालयले सन् २००१ मै उक्त विश्वविद्यालयलाई आफ्नो व्यापार प्रतिबन्धको सूची अर्थात् ‘इन्टिटी लिस्ट’मा राखेको थियो । सन् २०१९ मा अमेरिकाले प्रतिबन्ध थप कडा बनाउँदै विश्वविद्यालयलाई निर्यात गरिने नियन्त्रित अमेरिकी प्रविधिका लागि अनुमति दिने विषयमा अधिकांश अवस्थामा अस्वीकार गर्ने नीति लागू गरेको थियो ।
नर्थवेस्टर्न पोलिटेक्निकलले गरेको खरिदले सैन्य सम्बन्ध भएका चिनियाँ संस्थाहरूले घरेलु आपूर्तिकर्तामार्फत अमेरिकी एआई कम्प्युटिङ प्रविधि कसरी प्राप्त गरिरहेका छन् भन्ने देखाएको छ । उनीहरूले चिप सीधै खरिद गर्ने वा त्यस्ता चिप जडान गरिएका सर्भरको कम्प्युटिङ क्षमता भाडामा लिने गरेका छन् ।
रोयटर्सले यस वर्षका २६ वटा चिनियाँ सरकारी खरिद तथा कम्पनीसम्बन्धी अभिलेख अध्ययन गर्दा विश्वविद्यालय र अनुसन्धान संस्थाहरूले अमेरिकी प्रतिबन्धमा रहेका एनभिडियाका चिप खरिद गरेको वा त्यस्ता चिप प्रयोग हुने कम्प्युटिङ सेवा चिनियाँ आपूर्तिकर्ताबाट भाडामा लिएको पाएको छ ।
तीमध्ये केही संस्थाको चीनको रक्षा उद्योग वा सैन्य अनुसन्धानसँग निकट सम्बन्ध रहेको पाइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गत जनवरीदेखि केही अवस्थामा एच २०० चिप चीन निर्यात गर्न अनुमति दिन थालेको थियो । तर यो नीतिले नर्थवेस्टर्न पोलिटेक्निकल जस्ता ‘इन्टिटी लिस्ट’मा रहेका संस्थामाथिको छुट्टै प्रतिबन्ध भने हटाएको थिएन ।
अमेरिकी संसद्का डेमोक्रेट र रिपब्लिकन दुवै दलका सांसदले चीनको अत्याधुनिक एआई चिपमा पहुँच नियन्त्रण गर्न थप कडा व्यवस्था गर्न माग गर्दै आएका छन् । उनीहरूले चिपको आवागमन निगरानी गर्ने प्रणाली लागू गर्न र निर्यातसम्बन्धी निर्णयमा संसद्को निगरानी बढाउनुपर्ने बताएका छन् ।
हुआङमाथि बढ्दो दबाब
एनभिडियाका सीईओ हुआङमाथि दबाब बढिरहेका बेला विश्वविद्यालयले अमेरिकी प्रतिबन्धका बाबजुद एनभिडियाका चिप खरिद गरेको विवरण सार्वजनिक भएको हो ।
चिनियाँ गुप्तचर निकायका लागि काम गरेको आरोप लागेकी एलिस हुआङसँग जेन्सेन हुआङको अन्तरंग सम्बन्ध रहेको समाचार सार्वजनिक भएपछि कम्पनी विवादमा परेको छ । यसै विषयलाई लिएर अमेरिकी सिनेटको बैंकिङ समितिमा रहेका रिपब्लिकन सिनेटर केभिन क्रेमरले हुआङलाई सीईओ पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।
‘यस्तो संवेदनशील विषयमा ब्ल्याकमेल हुने सम्भावना निकै ठूलो छ । एनभिडियाका चिप जस्तो संवेदनशील प्रविधिको मामिलामा मलाई लाग्छ, उनले पद छाड्नुपर्छ’, क्रेमरले मंगलबार अबेर पोलिटिकोसँग भनेका थिए ।
अमेरिकी संसद्का तीन रिपब्लिकन समितिका अध्यक्षले कथित चिनियाँ गुप्तचर अधिकारीसँग हुआङको सम्पर्कबारे जानकारी लिन नोभेम्बर १८ मा उनीसँग छलफल गर्न अनुरोध गरेका छन् ।
तीन दशकभन्दा अघि एनभिडियाको सहस्थापना गरेका हुआङ एप्पलपछि विश्वको दोस्रो मूल्यवान् कम्पनीका संस्थापक हुन् । उनले आइतबार आफ्नी पत्नीसँग विश्वासघात गरेको स्वीकार गरेका थिए । तर कम्पनीले भने अमेरिकी राष्ट्रिय सुरक्षा वा गोप्य सूचनामा कुनै सम्झौता भएको विश्वास गर्ने आधार नरहेको जनाएको छ ।
मिडिया रिपोर्टमा सिंगापुरमा मुख्यालय रहेको एक डेटा सेन्टर कम्पनीकी पूर्वकार्यकारी एलिस हुआङसँग जेन्सेन हुआङको सम्बन्ध रहेको उल्लेख भएपछि एनभिडियाको सञ्चालक समितिले आइतबार स्वतन्त्र अनुसन्धान घोषणा गरेको थियो ।
६३ वर्षीय हुआङ ताइवान र अमेरिकाको दोहोरो नागरिकता भएका व्यक्ति हुन् । उनी विदेशी गुप्तचर निकायको निशानामा परेका थिए वा थिएनन् भन्ने विषयमा अनुसन्धान भइरहेको कम्पनीले जनाएको छ ।
-अलजजिरालगायतका एजेन्सीहरुको सहयोगमा






















