काठमाडौं- इरानले आफ्नो आणविक कार्यक्रमबारे सूचना उपलब्ध गराउने व्यक्तिलाई २० मिलियन अमेरिकी डलरसम्म पुरस्कार दिने अमेरिकी घोषणाको निन्दा गर्न संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) सँग आग्रह गरेको छ । इरानले अमेरिकाको उक्त कदमले आफ्ना आणविक वैज्ञानिकहरूको हत्यालाई प्रोत्साहन गर्न सक्ने जनाएको छ ।
दुवै निकायका प्रमुखलाई सम्बोधन गर्दै पठाइएको पत्रमा इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी विदेश मन्त्रालयले यसै साता सार्वजनिक गरेको र अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले समेत प्रसार गरेको घोषणाको कडा शब्दमा निन्दा गरेका छन् ।
अराघचीले उक्त प्रस्तावले जासुसी गतिविधि र आणविक वैज्ञानिक तथा प्राविधिक कर्मचारीलाई निशाना बनाउने जोखिम बढाउने बताएका छन् ।
साथै यसले आईएईएको सुरक्षा अनुगमन प्रणालीको विश्वसनीयता, अखण्डता र भरोसा योग्यतामाथि गम्भीर प्रश्न उठाएको उनको भनाइ छ ।
अराघचीले इरानका आणविक केन्द्र र त्यहाँ कार्यरत कर्मचारीहरू हत्या, तोडफोड तथा आक्रमणको जोखिममा रहेसम्म आफ्नो आणविक कार्यक्रमको निरीक्षण गर्नुपर्ने माग पूरा गर्न नसकिने बताएका छन् ।






















