काठमाडौं- सरकारी खर्चमा हुने विदेश भ्रमणको औचित्य, पारदर्शिता र जवाफदेहितामाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रैबाट प्रश्न उठ्न थालेको छ । विगतमा सार्वजनिक पदमा रहेका व्यक्तिहरूको विदेश भ्रमणलाई लिएर आलोचना गर्दै आएको रास्वपाका सांसदहरूले अहिले आफ्नै पार्टीका जनप्रतिनिधिको विदेश भ्रमण र त्यसमा हुने सरकारी खर्चबारे जवाफ माग्न थालेका छन् ।
हिमालय टेलिभिजनले सार्वजनिक गरेको एक ग्राफिक्समा रास्वपाका सांसद टीका सङ्ग्रौला (ज्वाला), गणेश कार्की, आशिका तामाङ र राजु पाण्डेले विदेश भ्रमणको पारदर्शिता र सरकारी स्रोतको उपयोगबारे उठाएका प्रश्नहरू समेटिएका छन् ।
सांसद टीका सङ्ग्रौलाले विगतमा विदेश भ्रमणलाई गलत ठहर गर्ने र अहिले आफैँले गर्दा सही मान्ने प्रवृत्तिमाथि प्रश्न गरेकी छन् । उनले भनेकी छन्, ‘हिजो अरूले गर्दा गलत, आज हामीले गर्दा सही ?’
त्यस्तै सांसद गणेश कार्कीले सांसदहरूको विदेश भ्रमणमा सरकारी खर्च भएको हो वा होइन भन्ने विषय सार्वजनिक गर्नुपर्ने धारणा राखेका छन् ।
उनले भनेका छन्, ‘सधैँ झैँ यसपालि पनि कोपमा जानेहरूको लर्को छ । जानेहरूले आफू सरकारी खर्चमा गएका हुन् कि होइनन् सार्वजनिक गरून् ।’
सांसद आशिका तामाङले राज्यको ढुकुटीबाट जनप्रतिनिधिहरूले कति पटक विदेश भ्रमण गर्न पाउँछन् भन्ने प्रश्न उठाएकी छन् । उनले आफ्नै पार्टीका अन्य सांसदलाई समेत विदेश भ्रमणबारे जानकारी नहुने अवस्था रहेको भन्दै पारदर्शिताको आवश्यकता औंल्याएकी छन् ।
उनको प्रश्न छ, ‘राज्यको ढुकुटीबाट एउटा सांसदले कति पटक विदेश भ्रमण गर्न पाउँछ ? जनता त परको कुरा आफ्नै पार्टीका अन्य सांसदलाई समेत थाहा पत्तो हुँदैन ।’
त्यस्तै सांसद राजु पाण्डेले जनप्रतिनिधिहरू जिम्मेवारीमा पुगेपछि विदेश भ्रमणलाई प्राथमिकता दिने प्रवृत्तिमाथि व्यङ्ग्य गरेका छन् । उनले भनेका छन्, ‘जिम्मेवारी/कुर्सीमा पुगेपछि प्राथमिकता त विदेश जाने नै हुँदो रहेछ… अचम्म ! लाज पनि लजायो कि ?’
विदेश भ्रमणमा पारदर्शिता किन आवश्यक ?
विदेश भ्रमण आफैँमा गलत विषय होइन । अन्तर्राष्ट्रिय सम्मेलन, कूटनीतिक सम्बन्ध विस्तार, अनुभव आदानप्रदान तथा देशको हितसँग जोडिएका विषयमा हुने भ्रमणले सकारात्मक परिणाम दिन सक्छ । तर त्यस्ता भ्रमणको उद्देश्य, खर्चको स्रोत, सहभागीको छनोट र भ्रमणबाट प्राप्त उपलब्धिबारे नागरिकलाई जानकारी गराउनु राज्य र जनप्रतिनिधिको दायित्व हो ।
विशेषगरी सरकारी खर्चमा हुने विदेश भ्रमणमा खर्चको विवरण, भ्रमणको औचित्य र त्यसबाट देशले प्राप्त गरेको उपलब्धि सार्वजनिक हुनुपर्छ ।
विगतमा सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई प्रमुख राजनीतिक मुद्दा बनाउँदै आएको रास्वपाका जनप्रतिनिधिहरूले पनि यी विषयमा आफ्नै पार्टीभित्र समान मापदण्ड लागू गर्नुपर्ने देखिन्छ ।
सत्तामा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को मापदण्ड अपनाउने राजनीतिक प्रवृत्तिको अन्त्य हुनुपर्ने आवाज उठिरहेका बेला आफ्नै सांसदहरूले विदेश भ्रमणको खर्च र विवरण सार्वजनिक गर्न माग गर्नुले राजनीतिक जवाफदेहिताको बहसलाई थप सान्दर्भिक बनाएको छ ।





















