काठमाडौं– दक्षिण कोरियामा यस वर्ष कर लेखापाल बन्न लिइएको राष्ट्रिय परीक्षामा सर्वाधिक अंक ल्याउने उम्मेदवारले कृत्रिम बुद्धिमता (एआई) प्रयोग गरेर चिट गरेको स्वीकार गरेका छन् । आइतबार उनले आफूले विद्युतीय उपकरण र जेनेरेटिभ एआईको सहायताले परीक्षामा अनियमितता गरेको सार्वजनिक रूपमा स्वीकार गरेका हुन् ।
दुवै चरणका परीक्षामा सयौं प्रश्नमध्ये लगभग सबैमा पूर्ण अंकको हाराहारीमा नतिजा ल्याएपछि उनको सफलतामाथि केही महिनादेखि शंका व्यक्त हुँदै आएको थियो । अन्ततः ती शंका सही साबित भएका छन् ।
आफ्नो थर हान रहेको बताउने ती उम्मेदवारले युट्युब च्यानल ‘अटर्नी ली डोन हो’ मार्फत माफी माग्दै आफूले अनुचित तरिकाले परीक्षा उत्तीर्ण गरेको स्वीकार गरेका हुन् ।
उनले परीक्षाका प्रश्नहरू सूक्ष्म क्यामेराको सहायताले खिचेर एआई उपकरणमा पठाउने र त्यसबाट प्राप्त उत्तर स्मार्टफोनमा हेरेर लेख्ने गरेको बताएका छन् । अप्रिल र जुलाईमा सञ्चालन भएका दुई चरणका परीक्षामा उनले यही विधि अपनाएको खुलासा गरेका हुन् ।
अनुहारमा मास्क लगाएर भिडियोमा प्रस्तुत भएका हानले आफूले सोल प्रहरीसमक्ष लिखित रूपमा समेत गल्ती स्वीकार गरिसकेको जानकारी दिएका छन् ।
यस विषयमा प्रतिक्रिया लिन सोलको जङ्बु प्रहरी चौकीमा सम्पर्क गर्ने प्रयास गरे पनि आइतबार जवाफ प्राप्त हुन नसकेको रोयटर्सले उल्लेख गरेको छ ।
यो घटनाले दक्षिण कोरियामा ठूलो बहस सिर्जना गरेको छ । त्यहाँ शैक्षिक तथा व्यावसायिक क्षेत्रमा हुने प्रतिस्पर्धात्मक परीक्षालाई सामाजिक प्रतिष्ठा, रोजगारी र करियर निर्माणको प्रमुख आधार मानिन्छ ।
विशेषगरी आगामी बिहीबार हुने वार्षिक राष्ट्रिय विश्वविद्यालय प्रवेश परीक्षाको चार दिनअघि यो घटना सार्वजनिक भएपछि परीक्षा आयोजक र सरकारी निकायमाथि निष्पक्षता कायम राख्न थप दबाब परेको छ ।
दक्षिण कोरियाको राष्ट्रपतीय कार्यालयका एक वरिष्ठ अधिकारीले आइतबार पत्रकारहरूसँग कुरा गर्दै घटनालाई सरकारले गम्भीर रूपमा लिएको बताए । उनले विश्वविद्यालय प्रवेश परीक्षा नजिकिएकाले सम्भावित अनियमितता रोक्न आवश्यक उपायहरूबारे तयारी भइरहेको जानकारी दिए ।
उनका अनुसार चार्टर्ड एकाउन्टेन्ट परीक्षामा पनि एआई प्रयोग गरेर हुन सक्ने अनियमितताबारे आएका समाचार चिन्ताजनक छन् । यस विषयमा छलफल गर्न राष्ट्रपतीय कार्यालयका नीति प्रमुखको नेतृत्वमा आइतबार दिउँसो आकस्मिक बैठक बोलाउने तयारी गरिएको उनले बताए ।
यसअघि शुक्रबार प्रधानमन्त्री हान सोक-सुकले पनि राष्ट्रिय विश्वविद्यालय प्रवेश परीक्षामा एआईको सहायताबाट हुन सक्ने नक्कलप्रति सर्वसाधारणले व्यक्त गरेको चिन्तालाई स्वीकार गरेकी थिइन् ।
दक्षिण कोरियामा विश्वविद्यालय प्रवेश परीक्षा अत्यन्त प्रतिस्पर्धात्मक मानिन्छ । धेरै विद्यार्थीले आफ्नो जीवनको लामो समय यही परीक्षाको तयारीमा बिताउने गर्छन् ।
प्रधानमन्त्री कार्यालयले जारी गरेको वक्तव्यमा परीक्षा निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन सरकारले पूर्वतयारी गर्ने तथा अन्तिम समयसम्म पनि परीक्षा प्रक्रियालाई नजिकबाट निगरानी गर्ने प्रतिबद्धता जनाएको छ ।





















