काठमाडौं– तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सरकारले आफूलाई प्रधानमन्त्री बालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरेको पत्र नबुझेको बताएका छन् ।
प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गरिएको पत्र बुझिसकेको भन्ने समाचारको खण्डन गर्दै कार्कीले समाचारमा उल्लेख भए जस्तो आफूले कुनै पनि सल्लाहकार नियुक्तिको पत्र नबुझेको स्पष्ट पारेका छन् ।
उनले सम्बन्धित व्यक्तिसँग कुनै जानकारी वा प्रतिक्रिया नलिई समाचार सम्प्रेषण गरिएकोप्रति सञ्चारमाध्यमहरूसँग समेत गम्भीर असन्तुष्टि पोखेका छन् ।
‘म अदालतको निर्णय मान्छु । यद्यपि समाचारमा आए जस्तो कुनै पनि सल्लाहकारको नियुक्तिको पत्र बुझेको छैन । म अन्यायमा परेको छु । न्यायका लागि अदालतसँग अपिल गरेको छु’, कार्कीले भने ।
उनले समाचार प्रकाशन गर्नुअघि सम्बन्धित पक्षसँग सत्यतथ्य बुझ्नु पत्रकारिताको न्यूनतम व्यावसायिक धर्म भएको उल्लेख गर्दै आफ्नो विषयमा समाचार बनाउँदा कम्तीमा एकपटक प्रतिक्रिया लिन प्रयास गरिदिन सञ्चारमाध्यमहरूलाई आग्रह गरेका छन् ।
आइतबार गृह मन्त्रालयको हवाला दिएर कार्कीले यही कात्तिक १८ गते सरकारको पत्र बुझेको खबर आएको थियो । कार्तिक १८ गते नै बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी नियुक्त गरेको थियो ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले कार्कीले सोही दिन सल्लाहकार नियुक्तिको पत्र बुझेको जानकारी दिएको भनी समाचार सार्वजनिक भएको थियो । त्यसपछि तिहार र छठ पर्वको समेत लामो बिदा परेका कारण उनी कार्यालय हाजिर भने नभएको उनको भनाइ थियो ।
सरकारले कार्कीको लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यकक्ष समेत स्थापना गरिसकेको छ ।
तर कार्कीले भने आफूलाई महानिरीक्षक पदबाट हटाएको भन्दै सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । जसको पेशी सोमबारको लागि तोकिएको थियो । तर सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ ।
यो पनि पढ्नुस्




















