images
images
  • मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

    जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् ।

    मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामआशिष यादवले प्रदेशसभा बैठक आह्वान गरेका छन् ।

    बैठकको कार्यसूची तय गर्न शनिबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सभामुख यादवले जानकारी दिएका छन् ।

    सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिन लागेका हुन् ।

    विश्वासको मतका लागि आवश्यक बहुमत जुटाउन मुख्यमन्त्री यादव विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफलमा जुटेको बताइएको छ ।

    नेपाली कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्दै आएका एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए । त्यसपछि सरकारमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले पनि कात्तिक २० गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

    दुई प्रमुख सहयोगी दलले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । सरकारको निरन्तरताका लागि मुख्यमन्त्री यादवले विभिन्न दलसँग राजनीतिक समीकरण मिलाउने प्रयास गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images