काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सोही दिन पत्र बुझेको गृह मन्त्रालयले जानकारी दिएको छ ।
मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्न प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन कार्कीलाई यही कात्तिक १८ गतेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी नियुक्त गरेको थियो ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले कार्कीले सोही दिन नियुक्ति पत्र बुझेको जानकारी दिए । त्यसपछि तिहार र छठ पर्वको समेत लामो बिदा परेका कारण उनी कार्यालय हाजिर भने नभएको उनको भनाइ छ ।
सरकारले कार्कीको लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यकक्ष समेत स्थापना गरिसकेको छ ।
तर कार्कीले भने आफूलाई महानिरीक्षक पदबाट हटाएको भन्दै सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छन् । जसको पेशी सोमबारको लागि तोकिएको थियो । तर सरकारले सोमबार सार्वजनिक बिदा दिएकाले उक्त पेशी के हुन्छ भन्नेबारे अन्योल रहेको छ ।






















