images
images
  • बंगलादेशमा प्रतिबन्धित अवामी लिग समर्थकहरुको प्रदर्शन, ठाउँठाउँमा आगजनी र तोडफोड

    काठमाडौं– बंगलादेशको गोपालगञ्जमा अवामी लिगका नेता, कार्यकर्ता तथा समर्थकहरूले विरोध प्रदर्शन गरेका छन् । बंगलादेश सरकारले उक्त पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको अवस्थामा उनीहरूले प्रदर्शन गरेका हुन् ।

    स्थानीय पत्रकारहरूका अनुसार दिनभर चलेको प्रदर्शनमा सहभागी केही व्यक्तिहरू धारिलो हतियार र लाठी बोकेर सडकमा उत्रिएका थिए ।

    बीबीसी बंगलाका अनुसार प्रदर्शनकारीहरूले जिल्ला अवामी लिगको कार्यालय कब्जा गरी तोडफोड गरेका छन् । उनीहरूले सहरको लन्चघाट क्षेत्रमा रहेको जुलाई स्मारकमा समेत आगजनी गरेका छन् ।

    प्रदर्शनका क्रममा प्रहरीको एउटा गाडी पनि जलाइएको समाचारमा उल्लेख छ ।

    त्यस्तै प्रदर्शनकारीहरूले गोपालगञ्ज सरकारी कलेजको नाम लेखिएको बोर्ड हटाएर त्यसको ठाउँमा ‘गभर्नमेन्ट बंगबन्धु कलेज’ लेखिएको ब्यानर राखेका छन् ।

    अवामी लिग नेतृत्वको सरकार पतन भएपछि उक्त कलेजको नाम परिवर्तन गरेर गोपालगञ्ज सरकारी कलेज राखिएको थियो ।

    यसैगरी गोपालगञ्ज विज्ञान तथा प्रविधि विश्वविद्यालयको हादी चत्तरमा रहेको नामपाटीसमेत तोडफोड गरिएको छ ।

    सामाजिक सञ्जालमा सार्वजनिक भएका प्रदर्शनका भिडियोमा सहरका विभिन्न स्थानमा प्रहरीको उपस्थिति देखिन्छ । प्रदर्शनकारीहरूले प्रहरीको निगरानीमा र्‍याली निकाल्नुका साथै सडक अवरुद्ध गरेका थिए ।

    यस घटनाबारे जिल्ला प्रहरीले भने कुनै प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images