images
images
  • घटुवा भए प्रधानमन्त्री बालेनको सचिवालयका विज्ञ ! अब विषयगत संयोजक र उपसंयोजक

    काठमाडौं– प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयमा नियुक्त भएकाहरूलाई विज्ञको भूमिकाबाट घटुवा गरेका छन् । अब उनीहरुलाई विषय तथा मन्त्रालयगत संयोजक र उपसंयोजकमा सीमित गरिएको छ ।

    विभिन्न मन्त्रालयमा हुने छलफलमा प्रधानमन्त्रीको सचिवालयमा विज्ञ भनेर राखिएका व्यक्तिहरुको विज्ञताको विषयमाथि प्रश्न उठ्न थालेपछि प्रधानमन्त्री शाहले उनीहरूलाई पदीय जिम्मेवारीगत रुपमा घटुवा गरिदिएको बताइएको छ ।

    सचिवालयका अनुसार विज्ञ भनेर नियुक्त पाए पनि उनीहरुको भूमिका भने संयोजन गर्ने नै थियो । तैपनि उनीहरूको विज्ञतामाथि प्रश्न उठ्न थालेपछि प्रधानमन्त्रीले संयोजनको भूमिका प्रस्ट हुने गरी जिम्मेवारी तोकेको सचिवालयले बताएको छ ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीको स्वकीय सहसचिव एवम् विकास परियोजनाको जिम्मेवारी पाएका इन्जिनियर सञ्जीव पाण्डेलाई विकास तथा मन्त्रालयगत समन्वय संयोजक तोकिएको छ ।

    त्यस्तै स्वकीय सहसचिव एवम् प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाललाई मिडिया व्यवस्थापन संयोजकमा घटुवा गरिएको छ । दाहालको अनुसन्धान विज्ञ भूमिकासमेत खोसिएको छ ।

    सामाजिक विकास विज्ञको पदमा रहेका विश्व राईलाई सामाजिक विकास समन्वय संयोजक बनाइएको छ । कार्यक्रम तथा भ्रमण संयोजक भनिएका सन्तोष गिरीलाई अन्तरनिकाय समन्वय संयोजक बनाइएको सचिवालयले जनाएको छ ।

    स्वकीय उपसचिवमा नियुक्ति दिइएकाहरूलाई भने उपसंयोजक बनाइएको छ । जसअनुसार स्वकीय उपसचिव प्रकृति ढकाललाई स्वास्थ्य समन्वय उपसंयोजक र नागरिक उड्ययन सहायक विज्ञ रहेका सुमन गौतमलाई नारिक उड्ययन समन्वय उपसंयोजक बनाइएको छ ।

    प्रधानमन्त्रीको भाषा तथा मस्यौदासम्बन्धी सहायक विज्ञ रहेका रविकिरण अधिकारीलाई सामाजिक विकास समन्वय उपसंयोजक बनाइएको छ ।

    प्रधानमन्त्रीको सल्लाहकारमा नियुक्त पाएकाहरूको भने जिम्मेवारी यथावत् रहेको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images