images
images
  • न्यायाधीश नियुक्ति अभियानमा ट्रम्पलाई बाधा हाल्दै उनकै पार्टी रिपब्लिकन

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीले अमेरिकी सिनेटको नियन्त्रण लिनुअघि सकेसम्म धेरै न्यायाधीश नियुक्त गर्ने अन्तिम प्रयास गरिरहेका छन् । तर उनको यो अभियानमा आफ्नै रिपब्लिकन पार्टीका केही सिनेटरले नै अवरोध पुर्याएका छन् ।

    केही समयअघिसम्म सिनेटमा रिपब्लिकन सदस्यहरूले ट्रम्पका न्यायिक नियुक्तिका प्रस्तावलाई नियमित रूपमा अनुमोदन गर्दै आएका थिए । उनको दोस्रो कार्यकालमा अहिलेसम्म ५७ जना न्यायाधीश नियुक्त भइसकेका छन् । यसले ट्रम्पलाई आफ्नो राष्ट्रपतीय कार्यकाल सकिएपछि पनि लामो समयसम्म प्रभाव पार्ने गरी अमेरिकी न्यायपालिकामा रूढिवादी विचारधाराको प्रभाव स्थापित गर्न सहयोग गरेको छ ।

    तर सिनेटको कार्यकाल हस्तान्तरण हुनुअघिको अन्तिम सत्रमा ह्वाइट हाउस र रिपब्लिकन नेतृत्वले न्यायाधीश नियुक्ति प्रक्रियालाई तीव्रता दिएपछि आफ्नै पार्टीका केही सिनेटरले तीन जना प्रस्तावित न्यायाधीशको नियुक्तिमा असहमति जनाएको रोयटर्सले लेखेको छ ।

    अमेरिकामा परम्परागत रूपमा सम्बन्धित राज्यका सिनेटरहरूले आफ्नो राज्यमा रिक्त न्यायाधीश पदका लागि उम्मेदवार छनोट प्रक्रियामा भूमिका खेल्ने गर्छन् । विशेषगरी जिल्ला अदालतका न्यायाधीश नियुक्तिमा उनीहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । सिनेटको न्यायिक समितिलाई समर्थन जनाउने ‘ब्लु स्लिप’ नामक फाराममा हस्ताक्षर नगरेर सम्बन्धित राज्यका सिनेटरले उम्मेदवारको नियुक्ति प्रक्रिया रोक्न सक्छन् ।

    ह्वाइट हाउसले सामान्यतया यो परम्परालाई सम्मान गर्दै आए पनि कहिलेकाहीँ रिपब्लिकन सिनेटरहरूको असहमतिका बाबजुद आफ्नै रोजाइका रूढिवादी उम्मेदवारलाई न्यायाधीशका रूपमा अघि सार्ने गरेको छ ।

    ओक्लाहोमाका रिपब्लिकन सिनेटर एलन आर्मस्ट्रङले भने, ‘हामीले निकै योग्य उम्मेदवारहरूको सूची तयार पारेर ह्वाइट हाउस पठाएका थियौं । तर उनीहरूले त्यसलाई बेवास्ता गर्दै आफ्नै उम्मेदवार अघि सारे ।’

    सिनेटको न्यायिक समितिमा रहेका कार्यकाल सकिन लागेका दुई रिपब्लिकन सदस्य थोम टिलिस र जोन कोर्निनले पनि केही उम्मेदवारलाई आवश्यक समर्थन नदिने संकेत गरेका छन् । टिलिस उत्तर क्यारोलिनाका र कोर्निन टेक्सासका सिनेटर हुन् ।

    आफ्नै राज्यका सिनेटरको सहमति आवश्यक

    गत मंगलबार ह्वाइट हाउसले अमेरिकी जिल्ला अदालतका न्यायाधीश ली रुडोफ्स्कीलाई सेन्ट लुइसस्थित आठौं अमेरिकी सर्किट कोर्ट अफ अपिल्सको न्यायाधीश बनाउने प्रस्ताव फिर्ता लिएको थियो । उनको स्थानमा अर्कान्सास सर्वोच्च अदालतका न्यायाधीश जे. कोडी हिलान्डलाई अघि सारिएको छ ।

    अर्कान्सासका सिनेटर जोन बोजम्यान र टम कटनले रुडोफ्स्कीको नियुक्तिको विरोध गरेपछि ह्वाइट हाउसले उम्मेदवार परिवर्तन गरेको हो ।

    कार्यकाल सकिन लागेका रिपब्लिकन सिनेटर आर्मस्ट्रङ र कोर्निनले आआफ्नो राज्यबाट प्रस्तावित दुई उम्मेदवारलाई सार्वजनिक रूपमा समर्थन गरेका छैनन् । त्यस्तै सिनेटर टिलिसले पनि आफ्ना सहकर्मीहरूले विरोध गरेका उम्मेदवारलाई रोक्न न्यायिक समितिमा आफ्नो भूमिका प्रयोग गरिरहेका छन् ।

    राष्ट्रपति ट्रम्पसँग सम्बन्ध चिसिएको टिलिसले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै ह्वाइट हाउसले कतिपय अवस्थामा सिनेटरहरूलाई आफ्नो उम्मेदवार स्वीकार गर्न दबाब दिने गरेको बताए ।

    उनले भने, ‘ह्वाइट हाउसले कतिपय अवस्थामा सिनेटरहरूलाई यो हाम्रो उम्मेदवार हो, तपाईंहरू पनि समर्थनमा उभिनुहुन्छ भन्ने आशा छ भन्ने सन्देश दिएको छ ।’

    तर उनले यस्तो शैली सिनेटको कार्यप्रणालीअनुसार नभएको बताए । ‘यहाँ यसरी काम हुँदैन । उनीहरूले यसको जवाफ पनि पाउने अपेक्षा गर्नुपर्छ’, टिलिसले भने ।

    रोयटर्सका अनुसार ट्रम्पका लागि आगामी केही साता पहिलो राष्ट्रपतीय कार्यकालदेखि सुरु भएको न्यायपालिकाको वैचारिक सन्तुलनलाई दक्षिणपन्थी अर्थात् रूढिवादी दिशातर्फ परिवर्तन गर्ने अभियानको अन्तिम अवसर हो । यसको प्रभाव ट्रम्प राष्ट्रपति पदबाट बाहिरिएपछि पनि वर्षौंसम्म कायम रहने अपेक्षा गरिएको छ ।

    ह्वाइट हाउसका एक अधिकारीले भने, ‘सिनेटमा विचाराधीन रहेका सबै न्यायिक नियुक्ति यसै वर्ष अनुमोदन हुने हाम्रो अपेक्षा छ ।’

    ट्रम्पले सन् २०१७ देखि २०२१ सम्मको आफ्नो पहिलो कार्यकालमा २३४ जना न्यायाधीश नियुक्त गरेका थिए । तीमध्ये तीन जना अहिले अमेरिकी सर्वोच्च अदालतमा रहेको ६–३ को रूढिवादी बहुमतका सदस्य हुन् । हाल सक्रिय अवस्थामा रहेका अमेरिकी न्यायाधीशमध्ये करिब एकतिहाइ ट्रम्पकै नियुक्तिबाट आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images