images
images
  • ‘आइमाई’ भन्नु ठीक कि बेठीक ?

    २०४७ सालपछि दक्षिण एसियाको दुइटा देशमा एनजीओ उग्रराज थियो, समानान्तर शासन थियो- बंगलादेश र नेपालमा ।

    त्यसबेला नेकपा एमाले ‘एनजीओ पार्टी’ जस्तै थियो । आन्दोलन एनजीओले गर्थे, अभियान एनजीओले गर्थे । एमालेलगायतका कम्युनिष्ट पार्टीहरु तिनका आन्दोलन अभियानमा पछाडि पछाडि दगुर्थे । कुन विकास आयोजना चल्न दिने, कुन बन्न दिने र कुन नदिने भन्ने निर्णय एनजीओले गर्थे । कतिसम्म भने नेपाली भाषामा समेत एनजीओले आक्रमण गरेका थिए ।

    २०४७ सालपछि नेपालमा महिला आन्दोलन सशक्त रुपमा अगाडि बढ्यो । आन्दोलनमा एनजीओको चलखेल नहुने कुरै भएन । महिला आन्दोलनमा एनजीओको उग्र बोलवाला चल्दै जाँदा एउटा फण्डा ल्याइयो- आइमाई शब्द प्रयोग गर्न नपाइने । विभिन्न एनजीओ तथा त्यसका मालिक्नी-मालिकहरुले आइमाई शब्दलाई प्रतिवन्ध लगाइदिए । लाचार राजनीतिक दल तथा नेताहरुले आइमाई शब्द प्रयोग गर्न छाडे । त्यसपछि मिडियामा पनि आइमाई शब्द प्रयोग हुन छाड्यो ।

    ‘राजनीति’ यतिमा मात्र सीमित भएन । एनजीओहरुले अन्धा, अपांग, बहिरा जस्ता शब्द प्रयोग गर्न नपाउने फतवा जारी गरे । अन्धाको सट्टा ‘दृष्टिविहीन’ र ‘अपांगको बदला फरक क्षमता भएको व्यक्ति’ प्रयोग गर्नुपर्ने उर्दी जारी भयो । बहिरालगायत कैयौं शब्दमा पनि फतवा र उर्दी जारी भए ।

    महिला आन्दोलनको अग्रपंक्तिमा पार्टीका महिला भ्रातृ संघसंस्था थिए । खासगरी कम्युनिस्टका भ्रातृ संघसंस्था एनजीओ नियन्त्रित थिए । ती एनजीओलाई आईएनजीओले नियन्त्रण गर्थे, लगानी गर्थे । ती आईएनजीओ चाहिँ कसको नियन्त्रण र लगानीमा चल्थे भन्ने अहिले व्याख्या नगरौं, लेखाई लामो हुन्छ ।

    आजकाल ‘आइमाई’ भन्न प्रतिवन्ध जस्तै छ । विकल्पका शब्द नराम्रा छैनन्, राम्रै छन् । तर अन्धा, बहिरा, अपांग जस्ता शब्दको विकल्पमा ल्याइएका शब्दहरु हास्यास्पद छन् ।

    विभिन्न एनजीओ तथा त्यसका मालिक्नी-मालिकहरुले आइमाई शब्दलाई प्रतिवन्ध लगाइदिए । लाचार राजनीतिक दल तथा नेताहरुले आइमाई शब्द प्रयोग गर्न छाडे ।

    आइमाई शब्द प्रयोगको विरोधमा चलाइएको अभियानताका (२०४७ सालपछि) नेपालमा नारी पुरुषबीच गृहयुद्ध नै होला कि जस्तो माहोल बनाइएको थियो । महिला आन्दोलनका कैयौं राम्रा पक्ष छन्, ती आन्दोलनले जागरण ल्यायो, समावेशीकरणतर्फ पाइला चाल्न राज्यलाई बाध्य बनायो । महिला सशक्तीकरणमा योगदान दियो । यी त छँदै थियो । तर यहाँ कुरा ‘आइमाई’ को हो ।

    उनीहरुको देशमा लगायतका शब्द प्रतिवन्धित भएनन् तर नेपालमा माया गरेर ‘काले’ या ‘काली’ भन्यो भने सकारात्मक हो, गाली गरेर भन्यो भने नकारात्मक हो । कुनै पनि शब्द कुन प्रसंग, लवज र भावमा प्रयोग गरिन्छ भन्नेले त्यसको अर्थ निर्धारणमा ठूलो भूमिका खेल्छ ।

    ‘आइमाई’ लगायतका शब्द पनि सम्मानजनक रुपमा प्रयोग गर्न सकिन्छ । तर ती दिन गए । ‘आइमाई’ शब्द सहिद भइसकेको छ, शब्दकोषको चिहानमा पुगिसकेको छ । ‘आइमाई’ शब्दको हत्याको इतिहास जस्तो भए पनि आजको सन्दर्भमा यो शब्द प्रयोगमा आपत्ति जनाउने ‘आइमाई’ अर्थात् महिला-नारीहरुको बाहुल्य छ । त्यसैले ‘आइमाई’ शब्द प्रयोग नगरेकै राम्रो ।

    ल ठीक छ, ‘आइमाई’ शब्द प्रयोग नगरौं । तर ‘आइमाई’ शब्द सहिद भएको प्रसंगबाट भने पाठ सिक्नैपर्छ । हाम्रो समाज कस्तो बनाउने भन्ने निर्णय हाम्रै विवेकले गरिनुपर्छ, अरुले सुनियोजित रुपमा सिकाएको कुराको पछाडि लाग्न हुँदैन । ऊ बेलाको जस्तो एनजीओराज अहिले छैन, किनभने त्यस्तो ‘राज’ को शैली र स्वरुप फेरिएको छ ।

    त्यो बेला कुन एनजीओ आईएनजीओले के एजेन्डाको भारी बोकेको छ भन्ने प्रस्ट देखिन्थ्यो । अहिले देख्न सकिँदैन । किनभने अहिले खासखास एजेन्डा बोकेका एनजीओ आईएनजीओ लगभग भूमिगत शैलीमा काम गर्छन् । तिनले पढाएका, खटाएका र सिकाएका पात्रहरु अभियन्ताका रुपमा समाजमा देखिन्छन् र त्यस्तै पात्रहरुले एजेन्डा सेटिङमा भूमिका खेल्छन् ।

    त्यस्ता पात्रहरुलाई नै ‘नेता’ मान्न, भन्न र पद क्याप्चर गरेको हेर्न हामी विवश छौं । किनभने हामी नेपाली बुद्धि र विवेकले नभएर क्षणिक आवेग र भावनाले निर्देशित हुने जनता हौं ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images