काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्वका विभिन्न मुलुकका विश्वविद्यालय तथा अनुसन्धान संस्थासँग शैक्षिक सहकार्य विस्तार गर्न ‘कन्ट्री फोकल पर्सन’ नियुक्तिका लागि आवेदन माग गरेको छ । त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रले स्थायी प्राध्यापकहरूमध्येबाट उक्त जिम्मेवारीका लागि छनोट प्रक्रिया अघि बढाएको हो । उपकुलपतिबाट नियुक्त हुने प्रावधानसहित केन्द्रले इच्छुक प्राध्यापकसँग आशयपत्र माग गरेको जनाएको छ ।
नियुक्त हुने प्राध्यापकको मुख्य जिम्मेवारी सम्बन्धित देशका विश्वविद्यालयसँग यसअघि भएका सम्झौतालाई सक्रिय बनाउने, संयुक्त अनुसन्धान तथा विद्यार्थी र प्राध्यापक आदानप्रदानलाई प्रवर्द्धन गर्ने हुनेछ । त्यस्तै, अनुसन्धानका लागि आर्थिक स्रोत खोज्ने र विदेशी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयमा आकर्षित गर्न आवश्यक सहजीकरण गर्ने जिम्मेवारीसमेत तोकिएको छ ।
त्रिविका अनुसार इच्छुक प्राध्यापकले आगामी मङ्सिर १० गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । आवेदनसँगै अन्तर्राष्ट्रिय अनुभव, व्यक्तिगत विवरण र आगामी दुई वर्षका लागि तयार गरिएको ठोस कार्ययोजना पेस गर्नुपर्नेछ । आवेदकको अन्तर्राष्ट्रिय अनुभव, सम्बन्धित देशका शैक्षिक संस्थासँगको पूर्वसम्पर्क तथा सहकार्य विस्तार गर्न सक्ने क्षमताका आधारमा ‘कन्ट्री फोकल पर्सन’ छनोट गरिने त्रिविले जनाएको छ ।






















