images
images
  • अमेरिकी राडार प्रणालीमा इरानको हवाई आक्रमण, विफल पारेको बहराइनको दाबी

    काठमाडौं– इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले बहराइनस्थित इसा एयरबेसमा रहेको अमेरिकी राडार प्रणालीलाई निशाना बनाएर गरेको हवाई आक्रमण विफल पारेको बहराइनले दाबी गरेको छ ।

    बहराइनको सेनाले इरानबाट भएका हवाई आक्रमणलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीमार्फत निस्तेज पारेको दाबी गरेको हो ।

    सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको वक्तव्यमा बहराइन डिफेन्स फोर्सले आफ्नो हवाई प्रतिरक्षा प्रणाली उच्च सैन्य सतर्कता र दृढताका साथ परिचालित भएको र इरानले राखेको उद्देश्य पूरा हुन नदिएको जनाएको छ ।

    पछिल्लो पाँच दिनमा इरानले बहराइनमाथि तीन पटक ड्रोन आक्रमण गरेको छ ।

    इरानी हवाई क्षेत्रमा अमेरिकाले निरन्तर उल्लंघन गरेको भन्दै त्यसको जवाफस्वरूप आक्रमण गरिएको आईआरजीसीले बताउँदै आएको छ ।

    शुक्रबारयता अमेरिका र इरानबीचको सैन्य द्वन्द्वमा आक्रमण तथा प्रतिकारका नियम परिवर्तन हुँदै गएको छ । यसअघि इरानले आफ्नो समन्वयविना स्ट्रेट अफ होर्मुज हुँदै तेल बोकेका जहाजलाई अमेरिकाले सुरक्षा दिएर अघि बढाए अमेरिकी सैन्य अखडामाथि आक्रमण गर्ने चेतावनी दिएको थियो ।

    अहिले भने इरानले बहराइनस्थित अमेरिकी राडार प्रणालीमाथिको आक्रमणलाई आफ्नो हवाई क्षेत्रमा अमेरिकाले निरन्तर गर्दै आएको उल्लंघनको प्रतिक्रियाका रूपमा व्याख्या गरेको छ । यसबाट इरानले अमेरिकासँग आफ्नो प्रतिरोध क्षमता पुनः स्थापित गर्न खोजिरहेको देखिन्छ ।

    -फाइल तस्विर

    प्रतिक्रिया दिनुहोस्
    images
    images