अमेरिका र चीनबीच विकसित हुँदै गएको नयाँ प्रविधिगत तथा भूराजनीतिक प्रतिस्पर्धामा नेपाल समयमै सचेत हुनुपर्छ । अमेरिकाले सन् २०२५ डिसेम्बरमा प्याक्स सिलिका नामक रणनीतिक प्रविधि सहकार्यको पहल अघि बढाएको थियो । यसको मुख्य उद्देश्य आपूर्ति शृङ्खला, महत्त्वपूर्ण खनिज, कृत्रिम बुद्धिमता, प्रविधि पूर्वाधार र रणनीतिक आपूर्ति प्रणालीलाई सुरक्षित तथा विश्वसनीय बनाउनु हो । यस पहलमा विभिन्न साझेदार राष्ट्रहरू सहभागी छन् ।
यसको जवाफमा चीनले सन् २०२६ जुलाईमा वर्ल्ड आर्टिफिसियल इन्टेलिजेन्स कोअपरेसन अर्गनाइजेसन (वाइको) स्थापना गरेको छ। यसको प्रारम्भिक संरचनामा २९ संस्थापक सदस्य रहेको र त्यसपछि सहभागिता विस्तार भएको बताइएको छ । वाइकोले अन्तर्राष्ट्रिय कृत्रिम बुद्धिमता सहकार्य, कृत्रिम बुद्धिमताको सुशासन, प्रविधि हस्तान्तरण तथा कृत्रिम बुद्धिमतासम्बन्धी क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखेको छ ।
प्याक्स सिलिका र वाइकोलाई केवल प्रविधिसम्बन्धी पहलका रूपमा मात्र बुझ्नु पर्याप्त हुँदैन । यी विश्वव्यापी प्रविधि प्रणाली, रणनीतिक साझेदारी, आर्थिक प्रभाव र भविष्यको अन्तर्राष्ट्रिय शक्ति सन्तुलनसँग जोडिएका महत्त्वपूर्ण पहल हुन् । एउटा अमेरिकी नेतृत्वको प्रविधि तथा आपूर्ति शृङ्खलामा केन्द्रित छ भने अर्को चिनियाँ नेतृत्वमा कृत्रिम बुद्धिमता सहकार्य र प्रविधिको पहुँच विस्तारमा केन्द्रित छ ।
नेपालले यी दुवै पहललाई समयमै अध्ययन गरी आफ्नो राष्ट्रिय हितअनुकूल स्पष्ट धारणा निर्माण गर्नुपर्छ । अन्यथा अमेरिका र चीनबीच विकसित हुँदै गएको नयाँ प्रविधिगत तथा भूराजनीतिक प्रतिस्पर्धामा नेपाल अनावश्यक रूपमा रणनीतिक दबाब र द्वन्द्वको चपेटामा पर्न सक्नेछ ।
नेपालमा पछिल्लो समय सूचना प्रविधि, गिग अर्थतन्त्र, नयाँ उद्यम तथा कृत्रिम बुद्धिमतालाई आर्थिक विकासका सम्भावित आधारका रूपमा प्रस्तुत गरिँदै आएको छ । तर यी क्षेत्रको विकास केवल आन्तरिक नीति र जनशक्ति विकासले मात्र सम्भव हुँदैन । विश्वव्यापी प्रविधि पूर्वाधार, लगानी, डिजिटल बजार, तथ्याङ्क सुरक्षा, अन्तर्राष्ट्रिय मापदण्ड र रणनीतिक साझेदारीसँग पनि यसको प्रत्यक्ष सम्बन्ध हुन्छ ।
अमेरिकाको प्याक्स सिलिका र चीनको वाइकोबीचको एआई प्रतिस्पर्धामा नेपालले हार्डवेयर र सफ्टवेयरबीच ५०–५० को सन्तुलित अवधारणासहित अघि बढ्न सक्छ । नेपालले एकातर्फ डेटा सेन्टर, कम्प्युटिङ पूर्वाधार, सर्भर, ऊर्जा र डिजिटल कनेक्टिभिटी जस्ता हार्डवेयर क्षेत्रमा लगानी तथा सहकार्यको सम्भावना खोज्नुपर्छ भने अर्कोतर्फ सफ्टवेयर विकास, एआई अनुसन्धान, डिजिटल सेवा, नवप्रवर्तन, दक्ष जनशक्ति र गिग अर्थतन्त्रको विस्तारमा जोड दिनुपर्छ ।
अहिलेको विश्वव्यापी रणनीतिक तथा प्रविधिगत प्रतिस्पर्धाको अवस्थामा चीन वा अमेरिकामध्ये कुनै एकलाई पूर्ण रूपमा बाहिर राखेर प्रविधिको विकास गर्न सम्भव हुन्न । विश्व प्रविधि अर्थतन्त्र एकअर्कासँग अन्तरसम्बन्धित रहेकाले नेपालले दुवै देशसँग सहकार्यका सम्भावना खुला राख्नुपर्छ । त्यसैले हार्डवेयर र सफ्टवेयर विकासलाई समान प्राथमिकता दिँदै ५०–५० को सन्तुलित अवधारणाअनुसार चीन तथा अमेरिकासँग साझेदारी अवलम्बन गर्नु नेपालको राष्ट्रिय हितअनुकूल हुन सक्छ ।
(लेखक पन्त एआईको युगमा नेपाल अभियानका संयोजक हुन् ।)


सौरभराज पन्त 



















