images
images
  • श्री ३ हर्क साङपाङलाई एक लिम्बुको नाङगो चिठ्ठी

    हर्कजी, म सुरुमै भन्छु, यो नाङगो चिठ्ठीको प्रतिवाद गर्न गालीगलौज गर्नुभयो भने ठीक हुने छैन । नाङगो चिठ्ठी लेखेकोमा मलाई गाली गर्न तपाईंको ढुंगे सेना खटाउनुभयो भने पनि ठीक हुने छैन । तपाईंका ढुंगे सेना म बाट टाढै राख्नुहोला । त्यसो नगरेर धम्काउन थाल्नुभयो भने म के गर्छु भन्ने यो चिठ्ठीको अन्त्यमा लेखेको छु ।

    सर्वप्रथम के बुझ्नुस् भने म तपाईंको शुभचिन्तक भएर यो चिठ्ठी लेख्दैछु । शुभचिन्तकले मेरो फोटो भएको टिसर्ट लगाउँछ, हर्क साङपाङ भगवान भन्छ भन्ने रोग तपाईंलाई छ । मेरो फोटो भएको टिसर्ट लगाउनेहरु मानिस हुन्, अरु सबै जनावर हुन् भन्ने तपाईंलाई लाग्छ । यस्तो मानिसक रोग हटाएर मात्र यो चिठ्ठी पढ्न अनुरोध छ ।

    बौद्धिक बहसमा आउनुभयो भने म हार्दिक स्वागत गर्छु, जस्तोसुकै आलोचना सहन तयार हुन्छु । मेरो गल्ती प्रमाणित गर्नुभयो भने सच्याउन सहर्ष तयार हुनेछु । तर, गालीगलौज गरेर मेरो मुख र कलम बन्द गर्ने दुस्साहस गर्नुभयो भने तपाईंलाई ठेगान लगाउन म वाध्य हुनेछु भन्ने चेतावनी दिँदै चिठ्ठी सुरु गर्छु ।

    १. तपाईं चिठ्ठा परेर नेता बनेको हो । एकजना भूमिगत पाराका षडयन्त्रकारी पत्रकारले बालेन सँगै तपाईंलाई धरानमा लौरो चिन्ह लिन सिकाएका हुन् । लौरो चिन्हका कारण चिठ्ठा परेर मेयर जित्नुभयो । जेन्जी आन्दोलनले पूराना पार्टी र नेता सखाप भए । मैदान रित्तो भएपछि तपाईं नेता बन्नुभयो, निजी पार्टी खोल्नुभयो । वास्तवमा तपाईंको पार्टी होइन, प्रालि (प्राइभेट लिमिटेड) हो, निजी हो । तपाईं ढुंगे युगको नेता हो ।

    २. ढुंगा बोकेर, श्रमदान गरेर देश बन्छ भन्ने तपाईंको विचार देखेर मलाई दया लाग्छ । ढुंगा खानी नभएको ठाउँमा तपाईंको पार्टीको काम छैन । जस्तो कि बिर्तामोड भद्रपुर जस्ता ढुंगा खानी नभएका पालिकामा तपाईं नआउनुहोला, काम छैन । किनभने यहाँ ढुंगा खानी पनि छैन, झोलुंगे पुल पनि छैन ।

    ३. हर्कजी, तपाईं र ममा धेरै फरक छ । म जनतालाई ढुंगा बोक्ने श्रम नगर, आम्दानी हुने श्रम गर भन्छु । पसिना खर्च हुने भन्दा बुद्धि खर्च हुने श्रममा गर, सीप सिक भन्छु । बल र पाखुराले होइन, बुद्धि र आइडियाले देश बन्छ । देश बनाउन दीर्घकालीन योजना बनाउन सक्नुपर्छ । देश बनाउन बौद्धिक बहस गर्नुपर्छ । ढुंगा बोकेर, तरतरी पसिना चुहाएर देश बन्दैन । जमाना कहाँ पुगिसक्यो तपाईं चाहिँ ढुंगा बोकेर देश बन्छ भनेर जनताको बुद्धि भुट्दै हुनुहुन्छ ।

    ४. हर्कजी, नेपालीले ढुंगा बोक्ने होइन । श्रम गर्न, ढुंगा बोक्न, लेबर काम गर्न नेपालले विदेशीलाई ल्याउने हो । खाडी, मलेसियाहरुले नेपाली कामदार लगेजस्तै विभिन्न देशबाट नेपालमा कामदार ल्याउने हैसियत बनाउनुपर्छ । यस्तो योजना बनाउने पो नेता । तपाईं नेता नभएर लेबर नाइके जस्तो हुनुभयो । ढुंगा बोक्न नसिकाएर अलि उन्नत सीप सिकाएको भए खाडी मलेसिया जानेलाई काम लाग्थ्यो । खाडी मलेसियामा समेत ढुंगा बोक्ने काम पाइँदैन । किनभने ढुंगा बोक्नपर्यो भने मेसिनले बोक्छ । नेपाली जनतालाई म अपिल गर्छु, ढुंगा बोक्न समय खर्च नगरेर मेसिनलाई ढुंगा बोक्ने बनाउन दिमाग खर्च गर्नुस् । ढुंगा बोक्ने समयमा त्योभन्दा धेरै आम्दानी हुने काम गर्नुस्, सीप सिक्नुस् ।

    ५. देश बनाउन भिजन चाहिन्छ । तपाईं र म बीच धेरै फरक छ । म हरेक नेपाली उद्यमी व्यवसायी बन्नुपर्छ भन्छु । हरेक नेपालीले आधुनिक सीप सिक्नुपर्छ, एआई र इन्टरनेट सिक्नुपर्छ भन्छु । तपाई ढुंगा बोक भन्नुहुन्छ, जनतालाई ढुंगे युगमा फर्काउन खोज्दै हुनुहुन्छ । जनता टाठावाठा भए भने उनीहरुलाई पछाडि लगाउन सकिँदैन, त्यसैले ढुंगे युगको काम, कुरा र व्यवहार गर्ने, त्यस्तै खाले स्टन्ट गर्ने काम गरिरहनुभएको छ । तपाईं लाटासोझा जनताको नेता बन्न चाहनुहुन्छ, म टाठावाठा जनताको नेता बन्न चाहन्छु । तपाईं गरिब जनताको नेता बन्न चाहनुहुन्छ, म हरेक नेपालीलाई धनी बनाएर धनी जनताको नेता बन्न चाहन्छु । हर्कजी, मसँग सिक्न आउनुस् ।

    अब म तपाईंको शैलीको कुरा गर्छु

    ६. उत्तर कोरियामा किमलाई देउता जसरी मान्नुपर्छ । देशभरी जताततै किमको फोटो झुण्डाइएको छ । पहिले इराकमा सद्दाम हुसेनले त्यसै गरेका थिए । तपाईं पनि त्यस्तै खालको हो । साँच्चै सत्ता पाउनुभयो भने उनीहरुजस्तै बन्नुहुन्छ । हरेक कार्यकर्ताले तपाईंको फोटो भएको टिसर्ट लगाउनुपर्ने । जसले पनि तपाईंको प्रशंसामा बोल्नपर्ने । तपाईंको सनकलाई हर्कवाद भन्नुपर्ने । तपाईंले फेसबुकमा लेखेको अन्टसन्ट स्टाटसलाई विचार मानिदिनुपर्ने । तपाईंको गालीलाई दर्शन मानिदिनु पर्ने । तपाईंको स्वार्थलाई देशको स्वार्थ मानिदिनु पर्ने । हैट, कस्तो नेता हो तपाईं ? अठारौं शताब्दीको राजाजस्तो छ तपाईंको शैली । हर्कजी, राजाजस्तो नेता होइन, जनताको सेवकजस्तो नेता बन्नुस् ।

    ७. तपाईंको पार्टीमा ‘म’ मात्र चल्छ । म भनेको हर्क साङपाङ । हामी भन्न तपाईंले जानेकै छैन । पार्टीमा कसैको विचार भावनाको अर्थ नहुने, कसैले बोल्न नपाउने । कसैको बोलिको सुनुवाई नहुने । विधान कुन चरीको नाम हो थाहा छैन, हर्क साङपाङको बोलि नै कानुन । फेसबुक स्टाटस लेखेर पार्टीबाट जसलाई पनि हटाउन सकिने, स्टाटसबाटै पार्टीमा जसलाई पनि पद दिन सकिने । तपाईं श्री ५ होइन, राणाकालको श्री ३ जस्तो नेता हो । अर्थात् श्री ३ हर्क साङपाङ । पार्टीभित्र यस्तो तानाशाही चलाउने, आफ्नो भजन मात्र गाउन लगाउने नेता बन्न तपाईंलाई लाज लाग्दैन ?

    अब म तपाईंको पार्टीको अवस्थाको कुरा गर्छु–

    ८. तपाईं एक्लै रमाउने मान्छे हो, सानो घेरामा रमाउने मान्छे हो । देशको प्रधानमन्त्री बन्छु भनेर फुर्ति लाउनुहुन्छ तर एउटा जातीय समुदायलाई मात्र साथ लिएर प्रधानमन्त्री बनिन्छ र ? सबै जाती समुदाय र भूगोललाई समेट्छु भन्ने आँट हिम्मत तपाईंसँग छैन । यो देश सबै जातिको फूलबारी हो, हामी आदिवासी जनजातिले क्षेत्रीबाहुन, मधेसी, हिमाली, दलित, थारु, मुस्लिम सहित सबैलाई समेटेर देशको नेतृत्व गर्नुपर्छ, यो देशमा सबै समुदायको सम्मान र कदर गर्नुपर्छ भन्ने तपाईंले जान्नुभएन । सिक्ने भए मसँग आउनुहोला ।

    हर्कजी, राजनीति गर्दा जातथर भन्दा माथि उठ्नुपर्छ । संकीर्ण बन्न हुँदैन । म लिम्बू हूँ तर म यो देशको सबै समुदायको कदर र सम्मान गर्छु, सबैलाई समेटेर अगाडि बढ्नुपर्छ भन्छु । क्षेत्रीबाहुनले मलाई नेता मानेनन् भन्दै गुनासो गरेर हुन्छ ? म देउप्रसाद लिम्बूलाई क्षेत्रीबाहुन सहित सबै समुदायले नेता मानिरहेका छन् । किनभने म जाति र धर्मभन्दा माथि उठेर विचार राख्छु, सबैलाई समेट्ने विचार राख्छु । जनताको कुरा आउँदा मेरो जात पनि छैन, थर पनि छैन, धर्म पनि छैन भन्छु । ढुंगे युगको संकीर्ण विचार छाडेर उदार विचार सिक्ने, सबै समुदायलाई समेट्ने हो भने म सँग आउनुस् । म तपाईंलाई निशुल्क ट्युसन पढाउन तयार छु ।

    हर्कजी,

    तपाईंको पार्टीको हल्लाखल्ला ठूलो छ, कतिपय वडा तथा पालिकामा चुनाव जितिन्छ भनेर केही मानिसहरु टिकट किन्न तपाईको पछाडि लागेका होलान् । तपाईं साँच्चै इमानदार हो भने दुईटा काम आजैका मितिमा, अहिले नै गरिहाल्नुस् ।

    १. चन्दा नउठाउने । चन्दा उठाएको अवस्थामा पनि हिसाब पारदर्शि गरेर जनतालाई देखाउने ।

    २. स्थानीय चुनावमा टिकट नबेच्ने, चन्दा नउठाउने ।

    स्थानीय चुनावमा टिकट नबेच्ने हो भने आजै, अहिले नै गैरदलीय स्थानीय चुनावको माग गर्नुस् । तपाईंको कार्यशैली हेर्दा मलाई के लाग्छ भने स्थानीय तहमा पार्टीको नाममा उम्मेदवार उठाउने र उम्मेदवार नै पिच्छे चन्दा उठाउने तपाईंको दाउ छ । कृपया यसो नगर्नुहोला, राजनीति गरेर पैसा कमाउनु अपराध र पाप हो भन्ने मनन गर्नुहोला । अबको युगमा पैसामुखी नेतालाई जनताले ढिलोचाँडो लात हान्छन् र दिएको चन्दाको हिसाब खोज्छन् भन्ने बुझ्नुहोला ।

    तपाईं इमादार हो भने, तपाईं साँच्चै नै जनताको नेता हो भने आफू पनि टिकट नबेच्नुस्, अरुलाई पनि टिकट बेच्न नदिनुस् । गैरदलीय स्थानीय चुनावको पक्षमा उभिनुस् ।

    कुरा अरु धेरै छ । आवश्यकता अनुसार लेख्दै जानेछु । तपाईंमा बुद्धिविवेक छ भने यो नाङगो चिठ्ठीमा लेखिए अनुसार चल्नुहोला, चल्न सक्नुभएन भने पनि मनन गर्नुहोला । तपाईं सच्चिनुहोला । सारा नेपालीको नेता बन्ने बाटोमा हिँड्नुहोला । त्यसो गर्नुहुन्न भने पनि यो चिठ्ठीलाई मनपरी गाली गर्ने दुस्साहस नगर्नुहोला, नत्र ठीक हुने छैन । दुस्साहस गर्नुभयो भने तपाईंलाई श्री ३ को कुर्सीबाट सडकमा ल्याउन म राजनीतिक कदम चाल्नेछु ।

    गालीगलौज गर्नुभयो र ढुंगे सेना खटाउनुभयो भने म नाङगो चिठ्ठी भाग २ लेख्न वाध्य हुनेछु । नाङगो चिठ्ठी भाग २ तपाईंलाई बहुत महंगो पर्नेछ हर्कजी, बेलैमा चेतावनी दिएको छु ।

    धन्यवाद

    देउप्रसाद लिम्बू
    विर्तामोड झापा ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images