प्रधानमन्त्री बालेनजीको भारत भ्रमण नेपाल-भारत सम्बन्धलाई नयाँ विश्वास, नयाँ दृष्टिकोण र परिणाममुखी सहकार्यको उचाइमा पुर्याउने ऐतिहासिक अवसर बनोस्। यसका लागि भ्रमणको तयारी र प्राथमिकता निर्धारण गर्दा विगतका अनुभव, वर्तमानको यथार्थ र भविष्यका सम्भावनाबारे गम्भीर मन्थन आवश्यक छ।
विश्व व्यवस्था बदलिँदैछ, त्यसैले कूटनीतिक सोच पनि बदलिनुपर्छ
विश्व शक्ति, अर्थतन्त्र र सामरिक सम्बन्धका समीकरण तीव्र गतिमा फेरिँदैछन्। कृत्रिम बुद्धिमता (एआई), प्रविधि र डिजिटल अर्थतन्त्रले उत्पादन, रोजगारी, सुरक्षा र मानवीय मूल्य-मान्यताकै स्वरूप परिवर्तन गरिरहेका छन्। भौतिक शक्ति र आर्थिक प्रतिस्पर्धासँगै प्रविधि, सूचना र स्रोतसाधनमाथिको नियन्त्रण नयाँ शक्तिका आधार बन्दैछन्।
यस्तो समयमा नेपालले आफ्नो परराष्ट्र नीतिको समयानुकूल पुनरवलोकन गर्नुपर्छ। पुराना सन्धि–सम्झौताको समीक्षा, राष्ट्रिय प्राथमिकताको निर्धारण र आर्थिक तथा सामरिक हितको स्पष्ट पहिचान आवश्यक छ। इतिहासको सम्मान गरौँ। तर इतिहासकै सीमाभित्र भविष्यलाई कैद नगरौँ।
नेपाल-भारत सम्बन्धः निकटता, सम्मान र राष्ट्रिय स्वाभिमान
नेपाल र भारतबीचको सम्बन्ध भूगोलले मात्र होइन, इतिहास, संस्कृति, धर्म, समाज, अर्थतन्त्र र जनस्तरको आत्मीयताले जोडिएको छ। खुला सीमा, व्यापार, पारवहन, जलस्रोत र सुरक्षा चासोले हामीलाई एकअर्काको आवश्यकता र संवेदनशीलतासँग जोड्छन्।
तर मित्रता भनेको मौनता होइन, सहकार्य भनेको समर्पण होइन र निकटता भनेको राष्ट्रिय हितमा सम्झौता पनि होइन।
अबको सम्बन्ध सार्वभौम समानता, पारस्परिक सम्मान, विश्वास र साझा हितका आधारमा अघि बढ्नुपर्छ। नेपालले आफ्नो राष्ट्रिय स्वाभिमान कायम राख्दै भारतको जायज चासो बुझ्ने र नेपालको जायज चासो स्पष्टसँग राख्ने कूटनीतिक क्षमता विकास गर्नुपर्छ।
इतिहासबाट प्रेरणा, वर्तमानको विश्लेषण र भविष्यको रणनीति
हाम्रो कूटनीतिक चिन्तनको आफ्नै ऐतिहासिक आधार छ। श्रीकृष्णको दूरदर्शिता र संवादकला, चाणक्यको रणनीतिक चातुर्य, पृथ्वीनारायण शाहको राष्ट्रिय एकता र शक्ति सन्तुलनको चेतना, बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप, सुवर्णशमशेरको संवादशीलता, राजा वीरेन्द्रको शान्ति क्षेत्रको अवधारणा र सन्तनेता कृष्णप्रसाद भट्टराईको आकर्षक कूटनीतिक पहल, शब्द चयन र व्यवहारबाट हामीले धेरै कुरा सिक्न सक्छौँ।
यी इतिहासका प्रसङ्ग केवल गौरवगानका विषय होइनन्। आजको कूटनीतिक चुनौती सामना गर्ने वैचारिक र रणनीतिक प्रेरणा पनि हुन्।
नेपालले आफ्नो राष्ट्रिय स्वाभिमान कायम राख्दै भारतको जायज चासो बुझ्ने र नेपालको जायज चासो स्पष्टसँग राख्ने कूटनीतिक क्षमता विकास गर्नुपर्छ।
जटिल राष्ट्रिय मुद्दामा प्राविधिक तहको वार्ता आवश्यक हुन्छ। तर प्राविधिक वार्ताले समाधानको आधार तयार गर्छ भने राजनीतिक नेतृत्वबीचको विश्वासपूर्ण संवादले निर्णयको ढोका खोल्छ। त्यसका लागि देशभित्रको राष्ट्रिय सहमति, स्पष्ट तयारी र संस्थागत निरन्तरता अपरिहार्य हुन्छ।
अबको कूटनीतिः सन्तुलन, सहकार्य र आर्थिक रूपान्तरण
भारतसँगको सम्बन्ध महत्त्वपूर्ण छ। तर नेपालको परराष्ट्र नीति कुनै एक देशसँगको सम्बन्धमा मात्र सीमित हुनुहुँदैन। चीन, अमेरिका र विश्वका अन्य मित्रराष्ट्रसँग पनि नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित, विश्वसनीय र परिणाममुखी सम्बन्ध विस्तार गर्नुपर्छ।
यस भ्रमणमा विज्ञान तथा प्रविधिका नयाँ विश्वविद्यालय स्थापना, स्वास्थ्य, एआईको प्रयोग, हवाई प्रवेशमार्ग, व्यापार तथा पारवहन, ऊर्जा व्यापार, जलविद्युत्, लगानी, पूर्वाधार र सीमा व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्छ।
विशेषगरी अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्ग, नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँच, भारतीय लगानीको सुरक्षा र सुनिश्चितता, ऊर्जा व्यापारको विस्तार तथा विगतका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयनमा ठोस प्रगति हुनुपर्छ।
सम्झौताको सङ्ख्या होइन, कार्यान्वयनको परिणाम महत्त्वपूर्ण हुन्छ। आश्वासन होइन, उपलब्धि चाहिन्छ।
नेपालको अर्को सम्भावनाः भौतिक समृद्धिसँगै मानवीय सन्तुलन
आज विश्वले भौतिक विकास र आर्थिक समृद्धि हासिल गरिरहेको छ। तर त्यससँगै बढ्दो उपभोक्तावाद, असीमित आकाङ्क्षा, असन्तुष्टि र मानसिक अशान्ति पनि गम्भीर चुनौती बनेका छन्।
पूर्वीय दर्शनले संयम, सन्तुष्टि, सहअस्तित्व, प्रकृतिप्रतिको सम्मान र मानवीय करुणाको सन्देश दिएको छ। सनातन सभ्यताको ‘वसुधैव कुटुम्बकम्’ सम्मको चिन्तनदेखि बुद्धको शान्ति दर्शनसम्म नेपालका मौलिक सम्पदा हुन्।
नेपालले यी मूल्यलाई केवल सांस्कृतिक गौरवका रूपमा होइन, विश्वलाई आवश्यक पर्ने वैकल्पिक जीवनदृष्टि, शान्ति, शिक्षा, अनुसन्धान, योग, ध्यान र आध्यात्मिक पर्यटनको सम्भावनालाई समेटेर ठूला विश्वविद्यालयका रूपमा अघि बढाउन सक्छ।
सरकार परिवर्तन हुन सक्छ, नेतृत्व परिवर्तन हुन सक्छ। तर राष्ट्रिय हित, परराष्ट्र नीतिका आधार र छिमेकीसँग सम्बन्ध सञ्चालन गर्ने राष्ट्रिय दृष्टिकोण अस्थिर हुनुहुँदैन।
भौतिक समृद्धि र मानवीय सन्तुष्टिबीच सन्तुलन खोजिरहेको विश्वका लागि नेपाल एउटा महत्त्वपूर्ण केन्द्र बन्न सक्छ। यसले आर्थिक अवसर मात्र होइन, दीर्घकालीन शान्ति र सभ्यताबीचको संवादलाई पनि नयाँ आयाम दिन सक्छ।
बाह्य कूटनीतिको शक्ति देशभित्रको राष्ट्रिय एकता
प्रधानमन्त्रीले भारत भ्रमणअघि र पछि संसद्, प्रमुख राजनीतिक दल, पूर्वप्रधानमन्त्री, कूटनीतिक क्षेत्रका विज्ञ, निजी क्षेत्र र सम्बन्धित सरोकारवालासँग गम्भीर संवाद गर्नुपर्छ। संसद् र सरकारबीचको संवादले कूटनीतिक अडानलाई संस्थागत बल दिन्छ। सरकार र प्रतिपक्षको राजनीतिक दृष्टिकोण फरक हुन सक्छ। तर नेपालको राष्ट्रिय हितमा साझा प्रतिबद्धता हुनुपर्छ।
सरकार परिवर्तन हुन सक्छ, नेतृत्व परिवर्तन हुन सक्छ। तर राष्ट्रिय हित, परराष्ट्र नीतिका आधार र छिमेकीसँग सम्बन्ध सञ्चालन गर्ने राष्ट्रिय दृष्टिकोण अस्थिर हुनुहुँदैन। कूटनीति कुनै व्यक्ति वा सरकारको निजी विषय होइन, राष्ट्रको दीर्घकालीन जिम्मेवारी हो।
भ्रमणको सफलता कसरी मापन गर्ने ?
कूटनीतिमा शब्दको अर्थ मात्र होइन, समय, सन्दर्भ, शक्ति सन्तुलन र परिणाम पनि बुझ्नुपर्छ। औपचारिक भेटघाट, स्वागत, आतिथ्य र संयुक्त वक्तव्यले भ्रमणको वातावरण देखाउँछन्। तर वास्तविक सफलता नेपाली जनताको जीवनमा आएको परिवर्तन, राष्ट्रिय अर्थतन्त्रमा थपिएको सामर्थ्य र राष्ट्रको दीर्घकालीन हितमा प्राप्त उपलब्धिबाट मापन हुन्छ।
मित्रता सबैसँग, सहकार्य पारस्परिक हितमा र निर्णय नेपालको राष्ट्रिय हितमा, राष्ट्रको हितमा स्पष्टता, सम्बन्धमा आत्मीयता र परिणाममा प्रतिबद्धता- यही नै सफल कूटनीतिको आधार हो।
सफल र उपलब्धिमूलक भ्रमणको हार्दिक शुभकामना ! जय नेपाल !
(लेखक भण्डारी नेपाली कांग्रेसका उपसभापति हुन्)


चन्द्र भण्डारी 



















