images
images
  • आजको युगमा बुद्धका शिक्षाको महत्त्व

    पुण्यप्रसाद पराजुली

    आजभन्दा करीब २५०० वर्ष अगाडि दक्षिण-पश्चिम नेपाल र उत्तर-पूर्वी भारतमा विकसित बौद्ध धर्म भौतिक विकासको उन्नत अवस्था भएको आजको परिवेशमा कति सान्दर्भिक छ ? यस लेखमा यही विषयमा चर्चा गरिँदैछ । नेपालको लुम्बिनीमा जन्मेका राजकुमार सिद्धार्थले २९ वर्षको उमेरमा वृद्धा, रोगी, शव र श्रमण देखेपछि कपिलवस्तु राज्यका सम्पूर्ण सुख, सुविधा र परिवार त्यागेर भिक्षुको जीवन अँगालेका थिए । ६ वर्षसम्म उनले विभिन्न गुरु भेट्ने र तपश्चर्या गर्ने कार्यहरू गरे । ३५ वर्षको उमेरमा, वैशाख पूर्णिमाको रातमा बोधिवृक्षमुनि बोध प्राप्त गरेपछि उनी बुद्ध भएका थिए ।

    अविद्याको निद्राबाट जागेको अथवा सांसारिक दुःख र यसको कारण बुझेको अवस्थालाई बुद्ध भनिन्छ । यसरी हेर्दा बुद्ध एक व्यक्ति मात्र नभएर अवस्था वा पद हो । यो अवस्थामा पुग्न धेरै जन्मदेखिको अनवरत अभ्यास चाहिन्छ, जुन सिद्धार्थले तीन असंख्य कल्प अगाडि शुरु गरेका थिए र बोधगया पुगेपछि उनको त्यो यात्रा पूरा भएको थियो । परापूर्वकालमा दीपङ्कर बुद्धको उपस्थितिमा सुमेध ऋषिले जुन प्रतिज्ञा लिएर अभ्यास शुरु गरेका थिए, त्यसको पूर्णता बोधगयामा भएको थियो । सुमेधदेखि सिद्धार्थसम्मका ५४७ जन्महरूको विवरण जातक कथामा उल्लिखित छ । बोधिप्राप्त गर्नुभन्दा पहिले उहाँलाई बोधिसत्व भनिन्थ्यो । बोधिसत्वले १० वा ६ पारमिताहरू पूर्ण गरेपछि मात्र बुद्ध बन्छन् । तसर्थ लुम्बिनीमा जन्मेका राजकुमार बोधगयामा बुद्ध भए भनेर मात्र पुग्दैन । भविष्यमा बुद्ध बन्ने अठोट गरेका सुमेध ऋषि तीन असंख्य कल्प पारमिताहरूको अभ्यास गरेपछि मात्र लुम्बिनीमा जन्मेको बेला बुद्ध भए ।

    पारमिताहरू के हुन् ?

    एक सामान्य व्यक्तिले बोधिसत्वका विभिन्न चरण पार गर्दै बुद्ध बनुन्जेल १० पारमिताहरू पूरा गर्नुपर्छ । संस्कृत वाङ्मयमा दान, शील, क्षान्ति, वीर्य, ध्यान, प्रज्ञा, उपाय, प्रणिधान, बल र ज्ञानलाई पारमिता मानिएको छ । अन्तिमका चार अर्थात् उपाय, प्रणिधान, बल र ज्ञानलाई छैटौं प्रज्ञाभित्रका अवयवहरू मानेर दानदेखि प्रज्ञासम्मका ६ वटालाई षट्पा-रमिता मान्ने प्रचलन पनि छ ।

    संस्कृत शब्दहरू ‘पारम्’ र ‘इता’ को सन्धि भएर पारमिता शब्द बनेको हो, जसको अर्थ पारि पुगेको (गएको) भन्ने हुन्छ । जस्तै- दान दिने क्रममा यसको पराकाष्ठा अर्थात् उत्कर्षमा पुग्नु दान पारमिता हो । केही ग्रन्थहरूमा दान आदि कार्यहरूमा शून्यता वा निस्वभावताको भावना गरेपछि मात्र उक्त कार्य उत्कर्षमा पुग्छ र उक्त कार्य पारमिता बन्दछ भनी लेखिएको पाइन्छ । शून्यता वा निस्वभावता प्रज्ञा पारमिताको विषयवस्तु भएकाले दानदेखि ध्यानसम्मका अभ्यासमा प्रज्ञाको छाप लागेपछि मात्र दान पारमिता आदि बन्छन् । यसरी प्रज्ञालाई आँखा र दान आदि पाँच अभ्यासहरूलाई शरीरसँग तुलना गरिन्छ । ६ वा १० पारमिताहरूमध्ये प्रज्ञा पारमितालाई सर्वोत्कृष्ट मानिएको छ । दान, शील, क्षान्ति, वीर्य र ध्यानविनाको प्रज्ञाको अभ्यासले मात्र बोधि वा बुद्धत्व लाभ नहुने भएकाले ६ वटैको उत्तिकै महत्त्व रहेको पाइन्छ ।

    वस्तुहरू, मित्रता, निर्भयता र धर्मशिक्षा- अरूहरूलाई दिनु दान हो । हिंसा जस्ता अरू प्राणीहरूलाई हानि पुग्ने कामबाट बच्नुलाई शील भनिन्छ । प्रतिकूल परिस्थितिमा अविचलित भई सहजशील बन्नु क्षान्ति हो । कुशल कार्यमा आलस्यतामुक्त भई उत्साहका साथ कार्य गर्नु वीर्य हो भने छुट्टिएको मन एकाग्र पार्नु ध्यान हो । आफूलगायत सबै वस्तु अनित्य अर्थात् परिवर्तनशील र निस्वभाव (शून्य) छन् भनी स्पष्ट बोध गर्नु प्रज्ञा हो ।

    प्रज्ञा विकास गर्न ध्यान चाहिन्छ । ध्यान सफल हुन वीर्य (उत्साह) चाहिन्छ । उत्साह जगाइराख्न क्षान्तिवान अर्थात् सहनशील हुनुपर्छ । क्षान्तिवान हुन शील (सदाचार) चाहिन्छ । शील पालना गर्न दानबाट प्राप्त पुण्य हुनुपर्छ । यसैले दान नगरिकन अन्य पारमिताहरूको अभ्यास गर्न कठिन हुन्छ ।

    संसारका दुःखहरूबाट सदाका लागि मुक्त भई निर्वाण वा बोधिप्राप्त गर्न हरेक व्यक्तिले यी ६ वा १० पारमिताहरूको अनिवार्य रूपमा अभ्यास गर्नैपर्छ । यी ६ पारमिताहरू पूर्ण गर्न एकै जुनीमा सम्भव नभएकाले जानी बुझिकन धेरै जन्महरू लिनुपर्ने हुन्छ । जुन कुरा बुद्धका अघिल्ला जन्महरूको वर्णन गरिएको जातक वाङ्मयमा पाइन्छ । दान पारमिता अभ्यासको क्रममा एक जन्ममा राजकुमार महासत्व हुँदा भोकाएकी एक बघिनी र डमरुहरूलाई आफ्नै मासु र रगत दान गरेको कुरा काभ्रे जिल्लामा पर्ने नमोबुद्धको कथामा उल्लेख छ । कुन पारमिता पूर्ण गर्न शाक्यमुनि बुद्धले पहिले कुन जन्म लिनु भएको थियो भन्ने कुरा जातक कथाहरूमा पढ्न पाइन्छ ।

    के सबैलाई पारमिता चाहिन्छ त ?

    बौद्ध धर्ममा दुई प्रकारको लक्ष्य भएका साधक वा साधिका हुन्छन् । एकथरी यो संसारका दुःखहरूबाट मुक्त भई फेरि नजन्मने लक्ष्य लिएका हुन्छन् । अर्काथरी आफू मात्र संसारको दुःखबाट मुक्त हुन नचाहेर अरूहरूलाई पनि दुःखको सागरबाट मुक्त गराउन चाहन्छन् । बुद्धले आफू मात्र दुःखबाट मुक्त हुन खोज्ने चेलाहरूलाई सोहीअनुसारको मार्ग देखाउनुभयो, जसलाई श्रावकयान भनियो । कालान्तरमा यसमा लाग्ने व्यक्तिहरूको आशय सीमित भएकाले हीनयान भन्न थालियो । यस पद्धतिमा पारमिताहरू पूर्ण नगरिकन पनि श्रोतापन्न, सकृदागामी, अनागामी हुँदै अर्हत बन्न सकिन्छ । राग, द्वेष (रीस), मोह (अज्ञानता), घमण्ड, ईर्ष्या जस्ता नकारात्मक पक्षलाई ‘अरि’ वा शत्रु भनिन्छ । यस्ता अरिहरू नष्ट गरिसकेको अर्थात् हत गरिसकेको (मरिसकेको) व्यक्ति नै अरिहत वा अर्हत हो । जीवनको लक्ष्य नै अर्हत बनेर संसारको दुःखसागरबाट मुक्त हुनुभएका व्यक्तिहरूका लागि प्रज्ञा पारमिता अनिवार्य भए पनि अन्य पारमिताहरूको अभ्यास गर्ने चलन हुँदैन ।

    आफूलगायत सम्पूर्ण प्राणीहरूको हितका लागि बुद्ध बन्ने लक्ष्य लिएको व्यक्तिलाई बोधिसत्व भनिन्छ । बोधिसत्वहरूको मार्गलाई बोधिसत्व यान भनिन्छ । कालान्तरमा महान् लक्ष्य लिएको यान अर्थात् वाहन भएकाले महायान भन्न थालियो । महायानभित्रै विभिन्न उपाय प्रयोग गरेर छिट्टै बुद्ध बन्न खोज्नेहरूका लागि बताइएको मार्गलाई बज्रयान भनिन्छ । मन्त्रयान वा तन्त्रयानको नामले पनि चिनिने बज्रयानभित्र बोधिसत्वहरूले बाह्य देवीदेवता वा शरीरका नाडी, चक्र, वायु, तिलक (बिन्दु) आदिको प्रयोग हुनाले बज्रयानका कतिपय तत्त्वहरू शैव, शाक्त, जैन, वैष्णव आदिसँग पनि मिल्दाजुल्दा देखिन्छन् । तर बज्रयानको अभ्यास गर्न पारमिताहरूको अभ्यास अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ । पारमिताहरूको अपरिहार्यता भएकाले बोधिसत्व यानलाई पारमिता यान पनि भनिन्छ । यही पारमिता यानमा तन्त्रका विविध पक्षलाई प्रयोग गर्दा बज्रयान हुने भएकाले बज्रयान बढी रोचक देखिन्छ । कला र वास्तुकलामा यसको प्रचुर प्रयोग हुनाले मूर्त रूपमा वैष्णव, शैव, शाक्तहरूको जस्तै देखिए पनि अमूर्त रूपमा दानदेखि प्रज्ञा पारमिताहरूको अभ्यास अनिवार्य हुन्छ । पारमिताहरूको राम्रो जग नभएको व्यक्तिलाई बज्रयानमा सीधै प्रवेश नगराइने भएकाले बज्रयान इतर व्यक्तिहरूमा यसको विषयमा धेरै भ्रम रहेको पाइन्छ । यसरी महायान (बोधिसत्व यान) र यसकै एक शाखाको रूपमा रहेको बज्रयान अभ्यास गर्ने साधक÷साधिकाहरूका लागि पारमिताहरूको अभ्यास अनिवार्य हुन्छ ।

    के बुद्ध धर्म अर्हत र बोधिसत्वको मात्रै हो ?

    बुद्धकै पालादेखि केही व्यक्तिहरू निर्वाण वा बुद्धत्व प्राप्तिको लक्ष्य लिएर आउँथे भने धेरै व्यक्ति तत्कालीन समस्या समाधानका लागि आउँथे । बुद्धले सम्भव भएसम्म व्यक्तिका तत्कालीन समस्या समाधान गर्ने प्रयास गर्नुभएको देखिन्छ । केही व्यक्तिहरू तत्कालीन समस्या समाधान भएपछि पनि बुद्धका निर्वाणपरक उपदेशहरूमा आकर्षित भएको देखिन्छ । मानिसहरू मात्र नभएर देव, नाग आदि अमानुषहरू पनि बुद्धसँग उपदेश लिन आएको पाइन्छ । बुद्ध स्वयम् पनि आफ्नी आमा मायादेवीको मृत्युपछि देव भएर जन्मेको स्वरूपलाई शिक्षा दिन त्रायस्त्रिंश देवलोक गएर तीन महिना पढाएर फेरि संकास्य नगरमा ओर्लिएको प्रसंग बुद्ध जीवनीमा पाइन्छ । सहम्पति ब्रह्मा र देवराज इन्द्र (शक्र) ले उपदेश लिएर अभ्यास गरेका प्रसंग पनि छन् ।

    सम्पूर्ण प्राणीको हितका लागि बुद्घ बन्ने लक्ष्य लिएको व्यक्तिलाई बोधिसत्व भनिन्छ । तिनको मार्गलाई बोधिसत्व यान भनिन्छ । कालान्तरमा महान् लक्ष्य लिएको यान अर्थात् वाहन भएकाले महायान भन्न थालियो । महायानभित्रै छिट्टै बुद्घ बन्न खोज्नेहरूका लागि बताइएको मार्गलाई बज्रयान भनिन्छ ।

    प्रज्ञा पारमिताका गम्भीर उपदेश तत्कालीन समयका मानिसहरूले बुझन गाह्रो भएपछि नागहरूलाई सुरक्षार्थ दिएको र ४०० वर्ष नागार्जुन नामक विद्वान् गएर नागलोकबाट फेरि पृथ्वीमा ल्याएको प्रसंग नागार्जुनको जीवनी तथा ठमेलस्थित विक्रमशील महाविहारमा रहेको सुनको मसीले लेखिएको शतसाहस्रिका प्रज्ञा पारमिता ग्रन्थको इतिहासमा पनि पाइन्छ । बुद्धको उपदेश पालना गर्ने देव, नाग, यक्ष, यक्षिणी आदिको सहयोग मानिसहरूले लिएको पाइन्छ । थाइल्यान्डमा बौद्ध विहार र निजी घर अगाडि ब्रह्माको सानो मन्दिर बनाएर पूजा गर्ने गरेको पनि ब्रह्माजी बुद्धका अनुयायी भएकाले हो भनी थाइल्यान्डका भिक्षुहरू नै बताउने गर्छन् ।

    प्रज्ञा विकास गर्न ध्यान चाहिन्छ । ध्यान सफल हुन वीर्य (उत्साह) चाहिन्छ । उत्साह जगाइराख्न सहनशील हुनुपर्छ अर्थात् क्षान्तिवान हुनुपर्छ । क्षान्तिवान हुन शील (सदाचार) चाहिन्छ । सही रूपमा शील पालना गर्न दानबाट प्राप्त पुण्य हुनुपर्छ । यसरी दान नगरिकन अन्य पारमिताहरूको अभ्यास गर्न कठिन हुने हुनाले गृहस्थहरूलाई सही तरिकाले दान दिन प्रोत्साहन गरिन्छ । साथै पुण्य कमाउन, दीर्घायु प्राप्त गर्न र आरोग्यका लागि स्तूप, विहार, चिकित्सालय, विद्यालय बनाउने प्रेरणा बुद्धले नै दिनुभएको छ । धेरै व्यक्तिहरू दीर्घायु, पारिवारिक मेलमिलाप र सम्पन्नताका लागि भिक्षु संघलाई दान गर्दछन् । धनी उपासकहरूले विहार नै बनाएर चढाउँछन् भने विहार सञ्चालनार्थ निश्चित जग्गा दान गरेर गुठीहरू बनाउँछन् ।

    यसरी पुण्य आर्जन गर्न चाहने व्यक्तिहरूका लागि पनि बौद्ध धर्मको ढोका खुला रहन्छ । पुण्य आर्जन गर्न धनको आवश्यकता पर्ने भएकाले वैश्रवण, कुवेर, वसुन्धरा, जन्भल जस्ता देव र यक्षहरूको उपासना गर्ने प्रचलन बौद्ध समाजमा पाइन्छ । बुद्धले आफ्नो शासन (उपदेश पद्धति) कायम राख्न भिक्षु, भिक्षुणी, उपासक र उपसिका सम्मिलित परिषद्को व्यवस्था गर्नुभएको छ । भिक्षु र भिक्षुणीको प्रमुख कर्तव्य एकान्त स्थलमा रहेर प्रज्ञाको विकास गर्नु हो । तर प्रज्ञा विकास गर्न पुण्य आर्जन गर्नुपर्ने भएकाले आफूले प्राप्त गरेको दान विपन्न र आपत्मा परेका व्यक्तिहरूका लागि फेरि दान गर्ने गरिन्छ । सम्पन्न उपासक र उपासिकाहरूबाट प्राप्त दान गोन्पा (विहार)हरूले बाढी पीडितहरूलाई दिएको समाचार यसैको एउटा उदाहरण हो ।

    उपासक र उपासिकाहरूको प्रमुख कर्तव्य आफ्नो परिवारको पालनपोषणबाट बाँकी रहेको धन विहार; भिक्षु, भिक्षुणी, गरीब गुरुवा आदिलाई निष्पक्ष रूपमा दान गर्नु हो । केही व्यक्तिहरू दानमै सीमित हुन्छन् भने केही पवित्र दिनहरूमा शील पालनामा पनि जोड गर्छन् । त्यसैले अष्टमी, पूर्णिमा आदि तिथिहरूमा विहारको कुनै निश्चित क्षेत्रमा जम्मा भएर उपोषथ व्रत बसेको पाइन्छ । हत्या नगर्ने, चोरी नगर्ने, यौन दुराचार नगर्ने, झूट नबोल्ने र मादकपदार्थ सेवन नगर्ने जस्ता पञ्चशीलहरूको अलावा विकाल भोजन नगर्ने, अग्लो ओछ्यानमा नसुत्ने, संगीत आदिको मनोरञ्जन नगर्ने जस्ता नियमहरू थपेर अष्टशील पालना गरिन्छ ।

    यसरी उत्सुक गृहस्थ पनि विभिन्न प्रक्रियाबाट बौद्ध धर्ममा आवद्ध हुन सक्छन् । अर्हत र बोधिसत्वको परिभाषा नै थाहा नपाएका श्रद्धालु भक्तजनहरू पनि बौद्ध धर्ममा आवद्ध हुन सक्छन् ।

    बौद्ध धर्ममा लोककल्याणको अवधारणा

    भगवान् बुद्धले यो लोकमा सुख पाउन र मृत्युपछि ब्रह्मलोकहरूमा जन्म पाउन चार ब्रह्म विहार भावनाहरू सिकाउनुभएको थियो । मैत्री, करुणा, मुदिता र उपेक्षा भावनालाई नै चार ब्रह्म विहार वा अप्रमेय भनिन्छ । सम्पूर्ण प्राणीहरू सुखी होऊन् र सुख पाउने कारणहरूले युक्त होऊन् भन्ने भावना मैत्री हो । सम्पूर्ण प्राणीहरूको दुःख हटोस् र दुःख पाउने कारणहरूबाट पनि मुक्त होऊन् भन्ने भावना करुणा हो । अरूहरूले कुशल कर्म गरेको देख्दा खुशी हुने भावना मुदिता हो । नजिकका व्यक्तिहरूप्रतिको अत्यधिक राग (आसक्ति) र टाढाका व्यक्तिहरूप्रति बेवास्ता र द्वेषबाट मुक्त भएर सबैप्रति समभाव राख्नु उपेक्षा भावना हो ।

    ६ वा १० पारमिताहरूमध्ये प्रज्ञा पारमितालाई सर्वोत्कृष्ट मानिएको छ । दान, शील, क्षान्ति, वीर्य र ध्यान विनाको प्रज्ञाको अभ्यासले मात्र बोधि वा बुद्घत्व प्राप्त नहुने भएकाले ६ वटैको उत्तिकै महत्त्व रहेको छ ।

    यी चार भावनाहरूबाट मानसिक शान्ति हुने भएकाले बौद्ध धर्मावलम्बीहरूले नित्य रूपमा भावना र अभ्यास गर्दछन् । आफ्नो मतका व्यक्ति मात्र सुखी र खुशी होऊन् भन्ने सीमित दायराबाट माथि उठेर, आफ्ना शत्रुहरूले पनि सुख पाऊन् भन्ने असीम राख्दा मृत्यु क्षणमा उक्त व्यक्तिको चित्तसन्तान (हंश) ब्रह्मलोकमा जन्मन्छ भन्ने कुरा त्रिपिटकमा लेखिएको छ । यो जन्ममा पनि सुखले निदाउने र सबै प्राणीहरूसँग मित्रता कायम हुन्छ भनिएको छ ।

    मैत्री भावनामा सबैले सधैं सुख पाऊँ भनेर ध्यान नै गरिन्छ । ध्यानका चालीस आलम्बन वा कर्मस्थानहरूभित्र मैत्रीलगायतका करुणा, मुदिता र उपेक्षाहरू पनि पर्दछन् । बुद्धले आफ्ना अनुयायीलाई मात्र यस्तो सिकाएको नभएर उहाँको सम्पर्कमा आएका अन्य धर्मावलम्बीहरूलाई पनि यसको विषयमा सिकाउनुभएको थियो । अहिले धेरै भौतिकवादी मानिसहरू पनि बौद्ध धर्ममा प्रवेश नगरिकन नै मनोचिकित्सा (साइकोथेरापी) मार्फत यी अभ्यासहरू गरिरहेका छन् । अन्य धर्मावलम्बीहरू पनि मैत्री र करुणाको भावनामा अभ्यासरत पाइन्छन् ।

    धम्मपदको यमक बग्गमा बुद्धले यस्तो बताउनुभएको छ- “नहि वैरेण वैराणि, शाम्यन्तीह कदाचन । अवैरेण तु शाम्यन्ति, एष धर्मः सनातनः ।।” अर्थात् वैरभावले वैर साम्य हुन्न, अवैरभाव (मैत्री) बाट वैरभाव (शत्रुता) साम्य हुन्छ । यही नै सनातनदेखिको धर्म हो । बुद्धको यो भावनालाई राजा अशोक आदि धेरै शासकहरूले अंगीकार गरेका थिए र अहिले पनि धेरै सफल व्यक्तिहरूको जीवनीमा यो कुरा मुखरित भएको पाइन्छ ।

    बौद्ध धर्ममा औपचारिक प्रवेश गर्न त्रिरत्न अर्थात् बुद्ध, धर्म र संघको शरणमा जानुपर्छ । बुद्धलाई मार्ग निर्देशक (पथ प्रदर्शक), धर्मलाई मार्ग र संघलाई सहयात्रीको रूपमा स्वीकार गरेर उनीहरूमा भर पर्नुलाई शरणगमन भनिन्छ । धेरै व्यक्तिलाई आफूले मानिआएकाहरू र गुरुहरूलाई चटक्कै छाडेर बुद्धलाई नयाँ गुरु मान्न गाह्रो हुन्छ । त्यस्तो अवस्थामा बुद्धका आधारभूत मान्यताको विपरीत नगइकन आफ्नै परम्परागत पद्धतिलाई नछाडी बुद्धका उपदेशहरूको अभ्यास गर्न सकिन्छ । आचार्य सत्यनारायण गोयन्काले चलाएका ध्यान केन्द्रहरूमा अबौद्ध र नास्तिक मतका व्यक्तिहरू पनि ध्यान गरिरहेका छन् । भिग्युर रिन्पोछेले पनि अबौद्धहरूका लागि जिउनुको मज्जा (Joy of Living) शीर्षकको ध्यान पद्धति विश्वभर सिकाइरहनुभएको छ । थुप्रै नेपाली विद्वान्, चिकित्सक, कलाकर्मीहरू औपचारिक रूपमा बौद्ध धर्ममा प्रवेश नगरिकन नै बुद्धका उपदेशहरूको अभ्यास गरिरहेका छन् । नेपालका विश्वविद्यालयहरूमा अबौद्धहरूका लागि पनि बौद्ध-अध्ययन विषयको पढाइ भइरहेको छ । बुद्धको जीवनी, दर्शन, संस्कृति, कला, वास्तुकला, वाङ्मय आदिको स्नातकोत्तर तहको पढाइ भइरहेको छ ।

    गोन्पा वा विहारमा नगइकन पनि बुद्धका उपदेशहरूको अध्ययन गर्ने सुविधा नेपालमा उपलब्ध छ । अधिकांश शिक्षक अबौद्ध भए पनि सबैथरी विद्यार्थीलाई बौद्ध धर्मका विविध पक्ष पढाइरहेका छन् । विशेषगरी पर्यटन क्षेत्रमा बौद्ध सम्पदाहरूको व्याख्या गर्ने पथप्रदर्शकहरू अन्य धर्मसँग सम्बन्धित धेरै भेटिन्छन् । बौद्ध कलाकृतिका सर्जकहरू अबौद्ध पनि भेटिन्छन् । निर्वाण वा बोधिका लागि समर्पित व्यक्तिहरू विहार वा गोन्पासँग आबद्ध हुँदा लाभदायी हुन्छ भने बौद्ध धर्मको सामान्य जानकारी राख्ने व्यक्तिहरूका लागि विश्वविद्यालयको शिक्षा उपयुक्त हुन्छ । गोन्पा वा विहारमा शील, समाधि र प्रज्ञा तीनवटैको अभ्यास हुन्छ भने विश्वविद्यालयमा प्रज्ञाको विकासमा जोड दिइन्छ । विश्वविद्यालयका विद्यार्थी पनि केही समय विहारमा गएर त्यहाँको शिक्षा लिएर अभ्यास गरेमा दैनिक जीवन तनावमुक्त र सुखमय हुन सक्छ ।

    यसरी बुद्धले गृहस्थ र प्रवर्जितहरूलाई समेटेर आफ्नो शासन (पद्धति) अगाडि बढाए जस्तै त्यसलाई निरन्तरता दिन बुद्धका शिक्षाहरूप्रति सकारात्मक सोच भएका व्यक्तिहरूलाई समेटेर लैजाँदा सबैको कल्याण हुन्छ । पाली वाङ्मयको सिगालोवाद सुत्तमा सिगालक नामक गृहस्थलाई बुद्धले दिएका उपदेशहरू अहिलेको समाजमा सुव्यवस्था, शान्ति र सहिष्णुता कायम गर्न लाभदायक हुन सक्छन् । यसको नेपाली अनुवाद भिक्षु अमृतानन्दले ‘गृही विनय’ नामबाट गर्नुभएको छ ।

    -‘शिक्षक मासिक’ कात्तिक-मङ्सिर २०८३ बाट साभार

    प्रतिक्रिया दिनुहोस्
    images
    images