प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणबाट फर्किने क्रममा पशुपतिनाथको रुद्राक्ष, शालिग्राम र चन्दन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उपहार दिएको खबरले नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदाको अन्तर्राष्ट्रिय परिचय गराएको छ । यो पक्षलाई सकारात्मक रूपमा लिन सकिन्छ ।
नेपालबाट हिन्दु राष्ट्रलाई विनाकारण खारेज गरिएकोमा प्रधानमन्त्रीले चन्दन बोकेर जानुलाई खारेजको निर्णय गलत रहेछ भन्ने कुरा प्रमाणित भएको छ । प्रधानमन्त्रीले शालिग्राम चन्दन र रुद्राक्षा बोकेर भारत जानुको अर्थ भनेका नै हिन्दु राष्ट्रको औचित्यको एउटा सबुत प्रमाण हो ।
भारतले नेपाललाई २४ हजार करोड रुपैयाँ बराबरको विकास सहायता घोषणा गर्नु, जसमा ५,६०० करोड अनुदान र १८,४०० करोड सहुलियतपूर्ण ऋण रहेको छ, आर्थिक दृष्टिले महत्त्वपूर्ण विषय हो ।
तर एउटा गम्भीर प्रश्न छ, ऋण लिएर मात्रै देश समृद्ध हुन्छ कि ऋण तिर्न सक्ने उत्पादन, रोजगारी, उद्योग र आम्दानीको आधार पनि निर्माण गर्नुपर्छ ?
ऋण लिनु ठूलो उपलब्धि होइन, लिएको ऋणलाई राष्ट्रिय सम्पत्ति र आर्थिक समृद्धिमा बदल्नु वास्तविक उपलब्धि हो । विकासका नाममा आज ऋण थप्ने तर भोलि नेपाली जनताका सन्ततिले त्यसको भार बोक्नुपर्ने अवस्था आउनु हुँदैन । त्यसैले ऋणभन्दा प्रतिफल ठूलो हुनुपर्छ र सम्झौताभन्दा नेपालको राष्ट्रिय हित माथि हुनुपर्छ।
हवाई मार्ग, रेलमार्ग, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा भएका सहमतिहरू कागजमा मात्र सीमित नभई व्यवहारमा कार्यान्वयन हुनुपर्छ ।
तर नेपालको विकास केवल सडक, रेल र आर्थिक सहयोगले मात्र पूर्ण हुँदैन । हाम्रो सनातन संस्कृति, धार्मिक स्वतन्त्रता, ऐतिहासिक पहिचान र राष्ट्रिय स्वाभिमानको संरक्षण पनि उत्तिकै महत्त्वपूर्ण छ ।
मेरो व्यक्तिगत मान्यता राजसंस्थासहितको प्रजातन्त्र र नेपाललाई हिन्दु राष्ट्रका रूपमा कायम राख्ने पक्षमा छ । यी विषयमा लोकतान्त्रिक र शान्तिपूर्ण राष्ट्रिय बहस हुनुपर्छ ।
भारतसँग मित्रता होस्, सहकार्य होस्, व्यापार र विकासका ढोका खुलून् । तर नेपालको स्वाभिमान, सार्वभौमिकता र राष्ट्रिय हितमा कुनै सम्झौता नहोस् ।
हामीलाई ऋणको भारी होइन, समृद्धिको आधार चाहिएको छ । अनुदानभन्दा आत्मनिर्भरता, आश्वासनभन्दा परिणाम र परनिर्भरताभन्दा स्वाभिमानी नेपाल चाहिएको छ ।
–लेखक जयनेपाल पार्टी सम्बद्ध महिला संगठनको अध्यक्ष हुन् ।





















