images
images
  • भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा बागमती सरकारले ६ अर्ब परिचालन गर्ने

    काठमाडौं – बागमती प्रदेश सरकारले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना, पुनर्निर्माण र प्रभावित नागरिकको जीविकोपार्जनका लागि ६ अर्ब रुपैयाँ परिचालन गर्ने भएको छ । प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विभिन्न क्षेत्रका कम प्राथमिकताका विकास योजना कटौती गरेर विपद् प्रभावित क्षेत्रका लागि बजेट व्यवस्थापन गरिएको जानकारी दिएका हुन् ।

    बागमती प्रदेशको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले सोमबार ललितपुरमा आयोजना गरेको भोटेकोशी बाढीपछिको पुनर्निर्माण तथा पुनःस्थापनासम्बन्धी समन्वय बैठकमा मुख्यमन्त्री थापा मगरले प्रभावित क्षेत्रको आवश्यकता र नागरिकको मागका आधारमा बजेट परिचालन गरिने बताए ।

    उनका अनुसार प्रदेश विपद् कोषमा रहेको १० करोड पाँच लाख रुपैयाँ तत्काल खर्च गर्न सकिने अवस्था नरहेपछि चालु आर्थिक वर्षको बजेटमा रहेका कम प्राथमिकताका विकास योजनाहरू कटौती गरी प्रत्येक मन्त्रालयबाट १० देखि २० प्रतिशतसम्म बजेट व्यवस्थापन गरिएको छ ।

    मुख्यमन्त्री थापा मगरले सडक, पुल, बस्ती व्यवस्थापन, व्यवसाय पुनःस्थापना तथा अन्य प्रभावित संरचनाको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने बताए । प्रभावित नागरिकको जीविकोपार्जनलाई पनि पुनःस्थापना योजनाको महत्त्वपूर्ण हिस्साका रूपमा अघि बढाइने उनको भनाइ छ । गत भदौ १० गतेको बाढीपछि प्रदेश सरकारले तत्काल विपद् परिषद्को बैठक बसेर खोज तथा उद्धार, उपचार, राहत वितरण र वैकल्पिक सडक सञ्चालनका काम सुरु गरेको उनले स्मरण गरे ।

    प्रभावित नागरिकका आवश्यकता पहिचान गरेर स्थानीय तहसँग समन्वय गरी योजनाबद्ध रूपमा बजेट कार्यान्वयन गरिने मुख्यमन्त्रीले प्रतिबद्धता जनाए। विपद् व्यवस्थापन र पुनर्निर्माणमा सङ्घ, प्रदेश तथा स्थानीय सरकार एउटै लक्ष्य र योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै उनले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।

    पुनर्निर्माणमा स्थानीय आवश्यकतालाई प्राथमिकता दिन सुझाव

    बैठकमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले वास्तविक समस्याको पहिचान गरी त्यसलाई सम्बोधन गर्ने गरी पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । उनले स्थानीय निर्वाचन नजिकिँदै गर्दा पुनर्निर्माणका काम ओझेलमा पर्न सक्ने सम्भावना औँल्याउँदै उपलब्ध बजेटबाट तत्काल गर्न सकिने काम पहिचान गरी कार्यान्वयनमा जोड दिनुपर्ने बताए । प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री सरल सहयात्री पौडेलले पुनर्निर्माणलाई प्रभावकारी बनाउन परम्परागत कार्यान्वयन प्रणालीभन्दा फरक र परिणाममुखी मोडेल अपनाउनुपर्ने बताए।

    उनका अनुसार पुनःस्थापनाका कार्यक्रमलाई मानवीय सहायता, रोजगारी तथा जीविकोपार्जन, भौतिक पूर्वाधार र बस्ती व्यवस्थापन गरी चार क्षेत्रमा केन्द्रित गर्नुपर्छ । मन्त्री पौडेलले विपद्का कारण परिवारका सदस्य गुमाएका, व्यवसाय गुमाएका तथा आर्थिक रूपमा कमजोर बनेका नागरिकलाई लक्षित गरी मनोसामाजिक सहयोग, सीपमूलक तालिम र रोजगारीका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।

    बैठकमा प्रदेशसभा सदस्य प्रभात तामाङ र रमेशकुमार महतसहित रसुवा तथा नुवाकोटका स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र अन्य जनप्रतिनिधिले प्रभावित क्षेत्रका समस्या तथा पुनर्निर्माणका आवश्यकताबारे जानकारी गराएका थिए । बैठकले विपद् प्रभावित नागरिकको तत्कालीन आवश्यकता सम्बोधन गर्दै दीर्घकालीन पुनर्निर्माण र जीविकोपार्जनका कार्यक्रमलाई समन्वयात्मक रूपमा अघि बढाउने विषयमा छलफल गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images