काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को दुईदिने भारतको राजकीय भ्रमणका क्रममा शुभारम्भ गरिएको अयोध्याधाम-जनकपुरधाम रेल मंगलबार जनकपुरधाम आइपुगेको छ ।
सोमबार भारतको हैदरावाद हाउसबाट नेपाल र भारतका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर शुभारम्भ गरेको सरयू-कमला एक्सप्रेस रेल मंगलबार जनकपुरधाम आइपुगेको हो ।
उक्त रेलमार्फत नेपाल आएका यात्रुलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र संघीय श्रममन्त्री रामजी यादव तथा जनकपुरधाम उपमहानगरपालिका, स्थानीय प्रशासन, जनकपुरधाम उद्योग वाणिज्य सङ्घलगायतका प्रतिनिधिहरुले स्वागत गरेका थिए । स्वागत समारोहमा बटुकहरूले स्वस्तिवाचन गरेका थिए ।
हप्तामा एक दिन सञ्चालन हुने यस रेल सेवाले नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । विवाह पञ्चमी महोत्सव नजिकिँदै गर्दा अयोध्याबाट जनकपुर आउने श्रद्धालु तथा भक्तजनलाई रेल सेवामार्फत आउन अझ सहज हुने विश्वास गरिएको छ ।
प्रधानमन्त्रीद्वयले भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन गरेपछि उत्तर प्रदेशको अयोध्या क्यान्ट स्टेसनबाट जनकपुरधामका लागि रेल प्रस्थान गरेको थियो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भिडियो कन्फरेन्समार्फत ताली बजाउँदै रेललाई बिदाइ गरेका थिए । १७ डिब्बा रहेको उक्त रेलमा करिब एक हजार यात्रु सवार थिए ।

भगवान् श्रीरामको जन्मस्थल अयोध्या र माता सीताको जन्मस्थल जनकपुरधामलाई प्रत्यक्ष रेलमार्गबाट जोड्ने यो सेवाले धार्मिक पर्यटन, सांस्कृतिक आदानप्रदान तथा सीमापार आवागमनमा नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
करिब ६०४ किलोमिटर दूरीको यात्रा रेलमार्फत करिब १९ घण्टामा पूरा हुनेछ । ‘सरयू-कमला एक्सप्रेस’ नाम दिइएको रेल भारतको बिहारस्थित जयनगर हुँदै नेपाल प्रवेश गर्नेछ । रेलले जनकपुरधाम, जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर, अयोध्या धाम र अयोध्या क्यान्टलगायतका स्टेसनमा यात्रु चढाउने तथा ओराल्ने व्यवस्था गरिएको छ ।
सातामा एक दिन दुबैतर्फ सञ्चालन हुने रेल सेवाअन्तर्गत जनकपुरधामबाट अयोध्या जाने रेल नम्बर १५५९५ र अयोध्याधामबाट जनकपुरधाम आउने रेल नम्बर १५५९६ निर्धारण गरिएको छ । अयोध्या-जनकपुर र जनकपुर-अयोध्या भाडा तय भएको छैन । तर अयोध्याबाट जनकपुरको भाडा ९०० भारु प्रस्तावित गरिएको छ ।
जनकपुरधामबाट शनिबार दिउँसो १ः१० बजे छुट्ने रेल आइतबार बिहान अयोध्या क्यान्ट पुग्नेछ । त्यसैगरी अयोध्या क्यान्टबाट सोमबार साँझ ५ः५० बजे छुट्ने रेल मंगलबार दिउँसो १२ः४० बजे जनकपुरधाम आइपुग्ने समयतालिका छ । नेपालका रेल स्टेसनको समय भारतीय समयभन्दा १५ मिनेट अगाडि हुने भएकाले यात्रुले स्थानीय समयअनुसार तालिका हेर्नुपर्नेछ ।

यसअघि भारतबाट जनकपुरधाम आउने यात्रुले जयनगरमा सीमासम्बन्धी प्रक्रिया पूरा गरेपछि नेपालतर्फको रेल परिवर्तन गर्नुपर्ने अवस्था थियो । नयाँ सेवाबाट आवश्यक सीमा जाँचपछि एउटै रेलमा गन्तव्यसम्म पुग्न सकिने सुविधा उपलब्ध हुने भएको छ ।
रेल सेवा शुभारम्भ अघि उत्तर प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री योगी आदित्यनाथले अयोध्या र जनकपुरधाम दुई संस्कृतिको पौराणिक मिलन भएको बताएका थिए । उनले सरयु-कमला रेल सेवाले दुई तीर्थस्थलबीचको ऐतिहासिक सम्बन्धलाई पुनर्जीवित गरेको उल्लेख गर्दै राममन्दिर र जानकी मन्दिर दर्शन गर्न जाने श्रद्धालुका लागि यो सेवा महत्त्वपूर्ण हुने बताए ।
यसबाट जनकपुरको मिथिला चित्रकलाले समेत अन्तर्राष्ट्रिय बजार पाउने उनले विश्वास गरेका छन् ।






















