images
images
  • जटिल विषयमा मौन: पुरानै अवधारणमा नयाँ सहमति, ३० वर्षअघि सुरु भएको पाइपलाइन उद्घाटनमा खुशीयाली

    काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका समझदारी अधिकांश पुरानामै सीमित रहेको पाइएको छ। भैरहवा हवाई रुटको विषय धेरै पहिलादेखि नै नेपाल-भारतबीच छलफल भइरहेको विषय हो।

    त्यसैगरी सोमबार भर्चुअलमार्फत उद्घाटन गरिएको रक्सौल अमलेखगन्ज पेट्रोलियद पाइपलाइनको अवधारणाको दुई देशबीच २०५१ सालमा सहमति भई निर्माण प्रक्रिया अगाडि बढेको हो। सरकार भने पुरानै सहमतिमा हस्ताक्षर गरेर खुशीयाली प्रकट गरेको विज्ञहरु बताउँछन्।

    यद्यपि तिनको कार्यान्वयनसम्म भए पनि त्यसलाई उपलब्धि मान्न सकिने विज्ञहरु बताउँछन् । सोमबार उद्घाटन भएको रक्सौल अम्लेखगन्ज पाइपलाइनको दोस्रो चरणको उद्घाटन पनि कुनै नयाँ परियोजना होइन। यो झण्डै ३० वर्षअघिको अवधारणा हो।

    यस्तो छ पाइपलाइनको नालीबेली

    – वि.सं. २०५२ सालमा भारतको रक्सौलदेखि बाराको अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन निर्माण गर्ने पहिलो प्रस्तावमा छलफल भएको थियो।

    – वि.सं. २०६० सालमा नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच पहिलो समझदारीपत्रमा हस्ताक्षर र प्रारम्भिक सम्भाव्यता अध्ययन गर्न सहमति भयो।

    – वि.सं. २०७० सालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा निर्माण अघि बढाउने सहमति गरेपछि भारतले रक्सौलको डिपो मोतिहारी सार्ने निर्णय गरेपछि रुट ६९.२ किलोमिटर कायम भएको थियो।

    – वि.सं. २०७२ साउन १६ देखि भदौ १५ सम्म दुई देशका सरकारी निगमहरूबीच निर्माण सम्झौतामा हस्ताक्षर भए पनि भूकम्प र सीमा अवरोधका कारण काममा केही ढिलाइ भएको थियो।

    – वि.सं. २०७४ चैत १८ देखि २०७५ वैशाख १७ सम्म प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा शिलान्यास भई जमिनमुनि पाइप बिछ्याउने काम सुरु गरिएको थियो।

    – वि.सं. २०७६ भदौ २४ गतेबाट निर्माणका लागि ३० महिनाको लक्ष्य राखिए पनि १५ महिनामै काम सम्पन्न भई पहिलो चरणको संयुक्त उद्घाटन र डिजेल आयात सुरु भएको थियो।

    – वि.सं. २०७८ पुस १७ देखि २०८१ पुस १६ सम्म पेट्रोल र मट्टीतेलसमेत ल्याउन अमलेखगन्ज डिपोमा भण्डारण ट्याङ्की र आधुनिक पूर्वाधार बनाउने दोस्रो चरणको निर्माण गरियो।

    – वि.सं. २०८१ असोजदेखि पुससम्म प्राविधिक परीक्षणपछि पाइपलाइनबाट नियमित रूपमा पेट्रोल र मट्टीतेलको आयात सुरु भएको थियो।

    – वि.सं. २०८३ मङ्सिर ७ मा प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भर्चुअल माध्यमबाट दोस्रो चरणको संयुक्त उद्घाटन र नेपाललाई औपचारिक हस्तान्तरण सम्पन्न भएको हो ।

    अहिले भएका भनिएका अधिकांश सहमति यसभन्दा अघि नै भारतसँग सहमतिको चरणमा रहेका थिए।

    विकास सहयोग, ऊर्जा र पूर्वाधारमा ठोस घोषणासहित सकिएको छ। सीमा विवाद, व्यापार घाटा, प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) को प्रतिवेदन जस्ता राजनीतिक रूपमा संवेदनशील विषय भने संयुक्त वक्तव्यमा समेटिएनन्।

    विज्ञहरूले भ्रमणलाई सकारात्मक भने पनि अप्ठेरा विषय पन्छाइएको टिप्पणी गरेका छन्। भ्रमणको अन्त्यमा दुई सरकारले २४ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन्।

    विज्ञहरूले भ्रमण फलदायी भए पनि दुईतिहाइ बहुमत नजिकको सरकारका प्रधानमन्त्रीले महत्त्वपूर्ण विषय उठाउन नसकेको प्रतिक्रिया दिएका छन्।

    परराष्ट्रविद् राजन भट्टराईले भ्रमणका क्रममा नीतिगत सहमति र पुराना सहमति अघि बढाइनुलाई सकारात्मक मानेका छन्। तर कार्यान्वयनमा विगतमा झैं ढिलाइ हुन नहुने उनको जोड छ।

    हवाई मार्गमा सकारात्मक कदम भए पनि भारतले आकाश प्रयोगको अनुमति दिनुपर्ने र जुनसुकै जहाजलाई भैरहवामा अवतरण गर्न दिनुपर्ने उनको भनाइ छ। पञ्चेश्वर परियोजनाको भाषा पुरानै भएको भन्दै उनले कार्यान्वयन तहमै प्रश्न उठाए।

    दुईतिहाइको सरकारले सीमा विषयमा स्पष्ट अडान राख्नुपथ्र्यो भन्ने उनको टिप्पणी छ। जलस्रोतको अवरोध र अलैँची, अदुवा र चियाको निर्यातमा गैरभन्सार अवरोध सम्बोधन नभएको उनको गुनासो छ।

    नेपालको जलविद्युत् विकास र विद्युत् व्यापारमा भारतले मुख्यतया चिनियाँ संलग्नता भएका आयोजनाको बिजुली नकिन्ने नीति, प्रसारण लाइन तथा तेस्रो मुलुक (बंगलादेश) निर्यातमा अवरोध र ठुला आयोजनाहरू वर्षौंसम्म ‘होल्ड’ गर्नेजस्ता विषयमा झमेला (लफडा) गर्ने गरेको नेपाली पक्षको गुनासो रहँदै आएको विषय हो।

    त्यस्तै अलैंची, अदुवा र चियाको निर्यातमा देखिने गैरभन्सार अवरोध नेपालको व्यापार क्षेत्रमा वर्षौंदेखि निरन्तर उठ्दै आएको एक प्रमुख र गम्भीर विषय हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images