काठमाडौं– इरानले अमेरिकासँग युद्ध अन्त्य र परमाणु कार्यक्रमसम्बन्धी वार्ता अघि बढाउनुअघि आफ्ना सातवटा सर्त पूरा गर्नुपर्ने अडान दोहोर्याएको छ ।
इरानी संसद्का सभामुख मोहम्मद बाकर गालिबाफले सर्तहरू पूरा नभएसम्म अमेरिकासँग वार्ता सम्भव नहुने स्पष्ट पारेका छन् ।
मंगलबार (नोभेम्बर २४) सार्वजनिक गरिएको उनको अभिव्यक्तिले अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि भइरहेको कूटनीतिक प्रयास थप जटिल बन्न सक्ने संकेत गरेको छ ।
इरानले वार्तालाई केवल युद्धविराममा सीमित नराखी प्रतिबन्ध, आर्थिक क्षतिपूर्ति, समुद्री व्यापार र क्षेत्रीय सुरक्षासँग जोडेर अघि बढाउन चाहेको देखिन्छ ।
इरानका सात सर्त के–के हुन् ?
१. सबै मोर्चामा युद्ध अन्त्य : इरानसँगै लेबनान र गाजासहितका सबै क्षेत्रमा जारी सैन्य आक्रमण र शत्रुता अन्त्य गर्नुपर्ने ।
२. आर्थिक प्रतिबन्ध हटाउनुपर्ने : अमेरिकाले इरानमाथि लगाएका प्रतिबन्ध हटाउनुपर्ने ।
३. नौसैनिक नाकाबन्दी अन्त्य : इरानका बन्दरगाह र पानीजहाजमाथि लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने ।
४. होर्मुज जलडमरूमध्यको व्यवस्थापन : इरान र ओमानको सहमतिमा समुद्री आवागमन नियन्त्रण तथा व्यवस्थापन गर्ने प्रणालीलाई मान्यता दिनुपर्ने ।
५. युद्धको क्षतिपूर्ति : युद्धका क्रममा भएको भौतिक तथा आर्थिक क्षतिको क्षतिपूर्ति सुनिश्चित गर्नुपर्ने ।
६.विदेशमा रोक्का सम्पत्ति फुकुवा : विभिन्न देशमा रोक्का गरिएका इरानका वित्तीय सम्पत्ति र रकम फिर्ता गर्नुपर्ने ।
७. इरानमाथिका धम्की अन्त्य : अमेरिकालगायतका पक्षबाट इरानविरुद्ध सैन्य कारबाही गर्ने धम्की र दबाब बन्द गर्नुपर्ने ।
गालिबाफको चेतावनी : दबाबमा पछि हट्दैनौँ
इरानी संसद्मा मंगलबार सम्बोधन गर्दै सभामुख गालिबाफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पछिल्ला अभिव्यक्ति र धम्कीका बाबजुद इरान आफ्नो अडानबाट पछि नहट्ने बताएका छन् ।
उनले अमेरिकाले इरानी जनतामाथि अपमानजनक अभिव्यक्ति दिने, धम्की दिने र आर्थिक दबाब बढाउने काम गरिरहेको भन्दै त्यसलाई इरानमाथि दबाब सिर्जना गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन् ।
गालिबाफले इरानमाथि कुनै शत्रुतापूर्ण कदम चालिए त्यसको निर्णायक जवाफ दिने चेतावनीसमेत दिएका छन् ।
उनका अनुसार अमेरिकी पक्षले गलत आकलन गरेर सैन्य कदम चाले युद्धको स्वरूप र भौगोलिक दायरा परिवर्तन हुन सक्छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले पनि सोमबार सातवटा सर्तलाई असाधारण माग नभई इरानी जनताको वैध अधिकारका रूपमा व्याख्या गरेका थिए ।

होर्मुज जलडमरूमध्य खोल्ने प्रस्ताव
इरानले युद्ध अन्त्यका लागि कूटनीतिक पहलअन्तर्गत दुई दिनको कार्ययोजनासमेत अघि सारेको छ ।
उक्त प्रस्तावअनुसार अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने, सबै मोर्चामा युद्ध अन्त्य गर्ने र विदेशमा रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने प्रक्रिया अघि बढाए ४८ घण्टाभित्र होर्मुज जलडमरूमध्यमा व्यावसायिक जहाजको आवागमन पुनः सुरु गर्न सकिने इरानको प्रस्ताव छ ।
विश्वको तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने होर्मुज जलडमरूमध्यको आवागमन अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय ऊर्जा बजार र समुद्री व्यापारमा प्रत्यक्ष प्रभाव पर्ने गरेको छ ।
इरानले यस जलमार्गको व्यवस्थापनमा आफ्नो र ओमानको भूमिका सुनिश्चित गर्नुपर्ने मागसमेत राखेको छ ।

अमेरिका र इरानबीच वार्ताको मुख्य विवाद
अमेरिका र इरानबीचको विवाद केवल युद्धविराममा सीमित छैन ।
दुई देशबीच वार्ता कुन विषयबाट सुरु गर्ने र पहिलो कदम कसले चाल्ने भन्ने विषय नै प्रमुख अवरोध बनेको छ ।
अमेरिका इरानको परमाणु कार्यक्रमलाई प्रारम्भिक वार्ताकै विषय बनाउन र त्यसमा प्रमाणित गर्न सकिने प्रतिबद्धता खोजिरहेको छ ।
तर इरानले भने नाकाबन्दी हटाउने, आर्थिक प्रतिबन्ध फुकुवा गर्ने र रोक्का सम्पत्ति फिर्ता गर्ने जस्ता माग पूरा भएपछि मात्र परमाणु कार्यक्रमलगायतका विषयमा सार्थक वार्ता गर्न सकिने अडान राख्दै आएको छ ।
नोभेम्बर १७ मा प्रकाशित रोयटर्सको विश्लेषणअनुसार दुवै पक्ष एकअर्काले पहिले कदम चाल्नुपर्ने अडानमा छन् ।
कतार र ओमानले मध्यस्थताका लागि प्रयास जारी राखे पनि दुवै पक्षका मागबीच ठूलो अन्तर छ ।
यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानका मागलाई अस्वीकार्य र अव्यावहारिक बताउँदै आएका छन् ।
अमेरिकी प्रशासनले आर्थिक दबाब र नौसैनिक नाकाबन्दीलाई इरानलाई वार्तामा ल्याउने रणनीतिका रूपमा अघि बढाइरहेको छ ।

युद्ध अन्त्यको सम्भावना अझै अनिश्चित
अमेरिका र इरानबीच करिब नौ महिनादेखि जारी द्वन्द्व अन्त्यका लागि कूटनीतिक प्रयास भइरहे पनि दुवै पक्षको अडानका कारण सहमति जुट्न सकेको छैन ।
नोभेम्बर २४ मा इरानी संसद्का सभामुखले सात सर्त पूरा नभएसम्म कुनै वार्ता नहुने बताएपछि तत्काल सहमति हुने सम्भावनामा थप चुनौती देखिएको छ ।
यद्यपि कतार र ओमानजस्ता क्षेत्रीय मध्यस्थकर्तामार्फत संवादका प्रयास जारी छन् ।
युद्ध पुनः चर्किएमा खाडी क्षेत्रको सुरक्षा, अन्तर्राष्ट्रिय तेल आपूर्ति र विश्व अर्थतन्त्रमा थप असर पर्न सक्ने भन्दै अन्तर्राष्ट्रिय समुदायले चासो व्यक्त गरिरहेको छ । –अलजजीरा























