काठमाडौं– काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७७४ जना सवारीचालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई नियमित निगरानी तथा चेकजाँचका क्रममा कारबाही गरिएको हो ।
कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने ६१ जना, सिसिटिभी फुटेजका आधारमा पहिचान भएका ३५ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने २० जना र तीव्र गतिमा सवारी चलाउने १२६ जना छन् ।
त्यस्तै निषेधित क्षेत्रमा हर्न बजाउने १८ जना, सवारीसाधनको अवस्था ठीक नभएका २२ जना र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने दुई जना कारबाहीमा परेका छन् ।
अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ४९० जनालाई समेत कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए ।
कारबाहीमा परेका चालकलाई नियमअनुसार जरिवानासहितको कारबाही गरिएको उनले बताए ।
ट्राफिक प्रहरीले सडक अनुशासन कायम राख्न उपत्यकाका विभिन्न स्थानमा नियमित चेकजाँच तथा निगरानीलाई तीव्रता दिँदै आएको छ ।
प्रहरीले सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, तीव्र गतिमा सवारी नचलाउन तथा मादक पदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गरेको छ ।
सवारी नियमको पालना चालकको जिम्मेवारी मात्र नभई पैदलयात्रुसहित सडक प्रयोग गर्ने सबैको सुरक्षासँग जोडिएको विषय भएकाले जिम्मेवार र सुरक्षित रूपमा सवारी चलाउन प्रहरीले सबैलाई अनुरोध गरेको छ ।






















