देवेन्द्र उप्रेती
नेपालका विभिन्न भूभागमा अहिले पनि कैयौं अब्बल सामुदायिक विद्यालय छन् । यी विद्यालयमा बालबच्चा भर्ना गर्नका लागि अभिभावकको भीड लाग्छ । तिनमा पढ्न पाएकोमा विद्यार्थी गर्व गर्छन् । शिक्षण पेशाप्रति शिक्षकमा जाँगर-उत्साह छ । र, आफ्ना विद्यार्थीप्रति उनीहरूमा गहिरो जिम्मेवारीबोध समेत देखिन्छ ।
तर, देशका अधिकांश सामुदायिक विद्यालयको अवस्था यो भन्दा ठीक विपरीत छ । जहाँ अनेक कारणले नियमित पठनपाठन हुँदैन, पर्याप्त शिक्षक/कर्मचारी छैनन्, जेजति शिक्षक/कर्मचारी छन् उनीहरू बीच समेत गतिलो ‘टीमवर्क’ छैन । स्कूलको भौतिक पूर्वाधार कमजोर छ । विद्यालयको आफ्नै आन्तरिक स्रोत छैन अथवा विद्यालयको स्वामित्वमा भएका चल-अचल सम्पत्ति (विशेषगरी जग्गाजमिन, पोखरी, बगैंचा) को पनि उचित उपयोग गर्न समेत तिनले सकेका छैनन् । अरूको कुरा छोडौं, अधिकांश शिक्षक-कर्मचारीले समेत आफ्ना सन्तान सामुदायिकमा होइन, निजी स्कूलमा भर्ना गरेका छन् । सबैभन्दा चिन्ताको विषय- समाजमा सामुदायिक विद्यालयको प्रतिष्ठा क्रमशः क्षयीकरण हुँदै गएको छ ।
सामुदायिक विद्यालय कमजोर हुनुका थुप्रै ऐतिहासिक कारण छन् । विद्यालय कुन भूभागमा छ ? विद्यालय कहिले स्थापना (२०२८ साल अघि कि पछि) भएको हो ? विद्यालयमा योग्य शिक्षकको पर्याप्तता के कस्तो छ ? विद्यालय सञ्चालन प्रक्रियामा विद्यालय स्थापना गर्ने समुदायको भूमिका अहिले के कस्तो छ ? र, विगतमा विद्यालय सञ्चालनको ‘संस्थागत परिपाटी’ के-कस्तो थियो भन्ने कुराले तत्तत् विद्यालयको स्थिति ठम्याउन मद्दत गर्छन् । संक्षेपमा भन्दा सार्वजनिक शिक्षाका प्रमुख अवयवका रूपमा देशैभर छरिएर रहेका यी सामुदायिक विद्यालयका आफ्नै खाले ‘विशिष्टता’ छन् । त्यसैले नेपालको सार्वजनिक शिक्षा सुधार गर्न बहुल र धेरै हदसम्म ‘स्थानिक’ (लोकलाइज्ड) रणनीति अख्तियार गर्नु जरूरी देखिन्छ ।
यति हुँदाहुँदै पनि, सार्वजनिक शिक्षामा देखिएका मोटामोटी केही साझा समस्याबारे मात्र यो लेखमा विवेचना गरिएको छ । ती हुन्: पहिलो, शिक्षामा राज्यको न्यून लगानी; दोस्रो, पछिल्लो समय समाजमा वर्गीय रूपमा विकसित भएका समानान्तर दुई- सामुदायिक र निजी- शिक्षा प्रणाली; तेस्रो, सामुदायिक विद्यालयको अधिक संख्या; चौथो, सामुदायिक विद्यालयका प्रअ/शिक्षकको कमजोर शैक्षिक योग्यता र पाँचौं, सामुदायिक विद्यालय संरचनाभित्र रहेका विभेद एवं असमानताका पत्रैपत्र ।
शिक्षामा न्यून लगानी
विद्यालय शिक्षामा लगानी बढाउनुपर्ने मुद्दा बारम्बार उठे पनि सार्वजनिक शिक्षा तीन वटै सरकारको प्राथमिकतामा परेको देखिंदैन । गएको एक दशकयता संघीय कुल बजेटमा शिक्षामा विनियोजन भएको रकम ११ प्रतिशतको हाराहारीमा मात्र देखिन्छ । त्यसैगरी, संविधानमा विद्यालय शिक्षा स्थानीय सरकारको मातहतमा भए पनि सामुदायिक विद्यालयको सबलीकरणका लागि आवश्यक स्रोत के कसरी जुटाउने भन्नेमा उनीहरूको कुनै योजना देखिंदैन । अपवाद बाहेक, अधिकांश स्थानीय सरकारहरूले आफ्नो कुल बजेटको २-३ प्रतिशत रकम पनि शिक्षामा खर्चेका छैनन् । जबकि सार्वजनिक शिक्षालाई रूपान्तरण गर्न देशको कुल बजेटको न्यूनतम २० प्रतिशत विनियोजन हुनु जरूरी ठानिन्छ । तर स्रोत नभएर भन्दा पनि राज्यको प्राथमिकता नपरेका कारण सार्वजनिक शिक्षामा अहिले आवश्यक लगानी जुट्न नसकेको देखिन्छ ।
समानान्तर दुई वर्गीय शैक्षिक प्रणाली
२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालको शैक्षिक प्रणालीमा सार्वजनिक र निजी धारको विस्तार अरू तीव्र भयो । २०४६ पछि शिक्षामा निजी लगानीका ‘एक्टरहरू’ प्रवेश गरे । शिक्षामा लगानी गरिरहेका विश्व बैंक र एशियाली विकास बैंक जस्ता दातृ निकायले समेत शिक्षाको निजीकरणलाई प्रोत्साहन गरे । फलस्वरूप, शिक्षामा तीव्र रूपमा निजीकरण भयो । २०४७ सालतिर संस्थागत (निजी) विद्यालयमा पढ्ने विद्यार्थीको हिस्सा करीब ७ प्रतिशत थियो । त्यसको करीब २४ वर्षपछि, २०७१/७२ सालमा कुल स्कूले विद्यार्थीमध्ये करीब १७ प्रतिशत संस्थागत र ८३ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा पढ्न जान्थे । २०८२/८३ सालमा कुल स्कूले विद्यार्थीमध्ये करीब ३८ प्रतिशत संस्थागत र बाँकी (६२ प्रतिशत) सामुदायिक विद्यालयमा भर्ना भएको देखिन्छ (अर्थ मन्त्रालय, आर्थिक सर्वेक्षण २०८२/८३) । निजी विद्यालयमा पढ्ने विद्यार्थीको दर यस्तै रफ्तारमा बढ्ने हो भने केही वर्षभित्रै संस्थागत र सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको अनुपात ५०ः५० हाराहारीमा पुग्ने देखिन्छ ।
२०८१/८२ को फ्लास रिपोर्ट अनुसार सामुदायिक विद्यालयमा कार्यरत २४ हजार ८३९ प्रधानाध्यापक (प्रअ) मध्ये करीब ४४ प्रतिशतको शैक्षिक योग्यता आईए वा सोभन्दा कम छ । त्यसैगरी, प्राथमिक विद्यालयमा कार्यरत १३ हजार ८६५ प्रअमध्ये करीब ६१ प्रतिशतको शैक्षिक योग्यता आईए वा सोभन्दा कम देखिन्छ । अझ, करीब २ हजार जति विद्यालयका प्रअको शैक्षिक योग्यता केवल कक्षा १० या सोभन्दा पनि कम छ ।
सार्वजनिक र निजी शिक्षा प्रणालीले नेपाली समाजलाई स्पष्ट रूपमा विभाजन गरेको छ । नेपालको उच्च र मध्यम वर्गले ‘निजी’ विद्यालय मात्र रोज्न थालेको छ भने विपन्न वर्गका लागि सामुदायिक विद्यालय बाध्यता बन्न पुगेको छ । बाध्यता यसकारण कि आर्थिक हैसियत/अवसर नभएकाले मात्र उनीहरूले आफ्ना बालबच्चालाई सामुदायिक विद्यालयमा भर्ना गरेका हुन् । गुणस्तरीय पठनपाठन हुने विद्यालय भनेका बोर्डिङ (निजी विद्यालय) हुन् भन्ने भाष्य/मान्यता समाजमा अत्यन्त गहिरोसँग स्थापित हुँदै गएको छ । देशको नीति र समाजका मुद्दालाई प्रभावित गर्न सक्ने वर्गले आफ्ना सन्तान बोर्डिङमा पढाउन थालेपछि सामुदायिक विद्यालयको गुणस्तरमा यो वर्गको चासो रहेन । यसले सरकार र विद्यालयलाई सामुदायिक विद्यालयको सुधार गर्नका लागि जुन स्तरको दबाब आवश्यक थियो, सो भएन । परिणामस्वरुप, बालबच्चा सामुदायिक विद्यालयका पढाउने कि बोर्डिङमा भन्ने विषय अब शिक्षण सिकाइ एवं पठनपाठनको विषयमा मात्र सीमित नभई, यो समाजमा ‘इज्जत’ को विषय समेत बन्न पुगेको छ ।
अझ, केही समय अघिसम्म पनि शहर-गाउँमा भएका सामुदायिक विद्यालय (कलेज पनि) मा समाजका सबै वर्गका छोराछोरी पढ्न जान्थे । विभिन्न वर्गका सदस्यको यो घुलमिलले शिक्षालयहरू एकअर्काका अनुभव साटासाट गर्ने, समस्या बुझने सामाजिक संस्थाको रूपमा उभिएका थिए । तर, शिक्षालय चयनमै हुने विभेदका कारण अबका दिनमा समाजका विभिन्न वर्गका सन्तानहरू बीचमा कुनै पनि किसिमको सम्मिलन नहुने स्थिति खडा भएको छ । समाजमा वर्ग पुनरुत्पादनका मुख्य अवयवको रूपमा अब शिक्षालय भएका छन् । दुर्भाग्य, नेपालको शैक्षिक प्रणाली असमान, बहुरङ्गी र वर्गका आधारित भेदभाव गर्ने प्रणालीमा रूपान्तरित भएको छ ।
बढी भए स्कूल
नेपालको सार्वजनिक शिक्षा यसरी कमजोर र अव्यवस्थित हुनुमा आवश्यकभन्दा बढी स्कूलको संख्याले पनि अप्रत्यक्ष रूपमा काम गरेको छ । अहिले मुलुकभर करीब २७ हजार सामुदायिक (परम्परागत स्कूल सहित) स्कूल छन् । बालबालिकाको अनुपातमा सामुदायिक स्कूलको यो संख्या अधिक छ । पछिल्लो समय शहर-बजारमा संस्थागत स्कूल खुल्न थालेपछि शहरी क्षेत्रमा मात्र होइन, शहरोन्मुख ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको संख्यामा ठूलो गिरावट आएको छ । त्यसैगरी, नेपालमा घट्दो प्रजनन दर र गाउँबाट शहरतर्फको बसाइँसराइ आदि कारणले पहाडी भेगका कतिपय स्कूल बन्द हुने अवस्थामा पुगेका छन् । खुलेका स्कूल खारेज गर्ने या अर्को स्कूलमा ‘गाभ्ने’ (मर्ज गर्ने) विषय राजनीतिक रूपमा जटिल र सामाजिक न्यायका हिसाबले पेचिलो छ । समुदायका हरेक परिवारका बालबच्चाले आफ्नै गाउँठाउँमा सहज रूपमा गुणस्तरीय शिक्षा पाउने सुनिश्चितता हुनुपर्छ । तर, यो भनेको कुनै समय आवश्यक भएर सामुदायिक पहलमा खोलिएका स्कूल बन्द गर्नै हुँदैन भन्ने पनि होइन ।
गुणस्तरीय पठनपाठन हुने विद्यालय भनेका बोर्डिङ (निजी विद्यालय) हुन् भन्ने भाष्य/मान्यता समाजमा अत्यन्त गहिरोसँग स्थापित हुँदै गएको छ । परिणामस्वरुप, बालबच्चा सामुदायिक विद्यालयका पढाउने कि बोर्डिङमा भन्ने विषय अब शिक्षण सिकाइ एवं पठनपाठनको विषयमा मात्र सीमित नभई, यो समाजमा ‘इज्जत’ को विषय समेत बन्न पुगेको छ ।
खासमा अहिले नेपालमा कतिको संख्यामा प्राथमिक, आधारभूत र माध्यमिक विद्यालय चाहिन्छ; यसबारे गम्भीर अध्ययन गर्नुपर्छ । पठनपाठन खासै नहुने; नाममात्रका रुग्ण एवं ससाना र धेरै विद्यालयभन्दा पनि स्रोत र साधनले सम्पन्न सबल सामुदायिक विद्यालय अहिलेको आवश्यकता हो । विशेषगरी, शहरी इलाका जहाँ नजिक नजिक सामुदायिक विद्यालय छन् तर पर्याप्त विद्यार्थी छैनन् ती विद्यालयहरू ‘मर्ज’ गर्ने नीतिलाई स्थानीय सरकारले अझै गति दिनुपर्छ ।
त्यसैगरी, स्कूल खोलेपछि कम्तीमा पनि स्कूल सञ्चालन गर्न सक्ने सक्षम प्रधानाध्यापक/शिक्षक आवश्यक पर्छ । यसका लागि विद्यालयको प्रमुख नेतृत्व गर्ने प्रधानाध्यापक (शिक्षकहरूको पनि) को शैक्षिक योग्यता बारे समेत ध्यान पुर्याउनु आवश्यक छ । खासै छलफलमा नआएको विषय भनेको हाम्रा सामुदायिक विद्यालय सञ्चालनको नेतृत्व कस्ता व्यक्तिबाट भइरहेको छ भन्ने हो । राज्यबाट प्रकाशित पछिल्ला तथ्याङ्कले भन्छ- सामुदायिक विद्यालयका प्रअको शैक्षिक योग्यता कमजोर छ । उदाहरणका लागि २०८१/८२ को फ्लास रिपोर्ट अनुसार सामुदायिक विद्यालयमा कार्यरत २४ हजार ८३९ प्रधानाध्यापक (प्रअ) मध्ये करीब ४४ प्रतिशतको शैक्षिक योग्यता आईए वा सोभन्दा कम छ । त्यसैगरी, प्राथमिक विद्यालयमा कार्यरत १३ हजार ८६५ प्रअमध्ये करीब ६१ प्रतिशतको शैक्षिक योग्यता आईए वा सोभन्दा कम देखिन्छ । अझ, करीब २ हजार जति विद्यालयका प्रअको शैक्षिक योग्यता केवल कक्षा १० या सोभन्दा पनि कम छ ।
सामुदायिक विद्यालयका प्रअको शैक्षिक योग्यताबारे शिक्षा विभागबाट प्रकाशित यी तथ्याङ्कले हाम्रा सार्वजनिक शिक्षा कमजोर हुनुमा स्कूलका प्रअ/शिक्षकहरूको कमजोर शैक्षिक योग्यताले पनि उल्लेखनीय भूमिका खेलेको छ भन्नुपर्ने हुन्छ । कुनै समय प्राथमिक एवं आधारभूत तहसम्मको विद्यालयमा प्रअ हुनका लागि आईए वा सोसरह पढेको भए पनि हुन्थ्यो होला तर अब त्यो ग्राह्य छैन । प्राथमिक विद्यालय त हो नि ? धेरै पढेको प्रअ किन चाहियो भन्ने मानसिकताले विद्यालय शिक्षा सुध्रिंदैन । विद्यालय कस्तो बनाउने भन्नेमा सबैभन्दा धेरै भूमिका प्रअको हुन्छ । त्यसैले स्थायी शिक्षकबाटै प्रअ छान्ने हालको प्रचलनलाई भङ्ग गर्दै विद्यालयमा प्रअलाई छुट्टै पदको रूपमा विकास गर्दै विद्यालयको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी दिनुपर्छ ।
शिक्षकको खस्कँदो सामाजिक हैसियत
नेपालको शिक्षामा विद्यमान लैङ्गिक, जातीय, वर्गीय तथा भौगोलिक असमानता बारे प्रशस्तै बहस भएको छ । तर, विद्यालयभित्र हुने यस्ता विभेद बारे भने हामीले खासै ध्यान दिएका छैनांै । अलिक ध्यान दिएर हेर्दा हाम्रा सामुदायिक विद्यालयभित्र विभेद/असमानताका पत्रैपत्र भेटिन्छन् । एउटै विद्यालयमा थरीथरीका शिक्षक (स्थायी, अस्थायी, राहत, निजी, अन्य) छन्, उनीहरू बीच तहगत लगायत अन्य प्रकारका असमानता छन् । स्थायीले राहतलाई र राहतले निजी स्रोतमा राखेका अस्थायी प्रकृतिका शिक्षकलाई आफूभन्दा ‘तल्लो कोटिका’ ठान्छन् । त्यति मात्र होइन, पढाउने विषय (गणित, विज्ञान, अंग्रेजी या नेपाली) र तह (प्राथमिक कि माध्यमिक) अनुसार पनि शिक्षकहरूले आफूलाई विद्यालयमा शक्तिशाली र कमजोर सम्झन्छन् । यतिसम्म कि विद्यालयमा कुन जात, लिङ्ग, राजनीतिक दलको प्रधानाध्यापक छ भन्ने विषयले समेत विद्यालय सञ्चालन प्रक्रियामा प्रभाव परेको देखिन्छ । करीब दुई वर्षअघि मधेश प्रदेशको एक सामुदायिक स्कूलका प्रअले विद्यालय सञ्चालनमा आफूलाई परेको सकस बारे यसरी बताएका थिए- “स्कूलमा शिक्षक जति कथित उच्च जातका छन्, म उनीहरूको जातमा पर्दिनँ, विद्यार्थी जति गरीब र दलित छन् । मैले भनेको कुरा शिक्षकले सुन्दैनन् सर !” विद्यालयको आन्तरिक जीवन जति स्वच्छ, पारदर्शी, विभेदरहित र निष्पक्ष हुन्छ त्यति नै विद्यालयले शैक्षिक प्रगति गर्ने सम्भावना रहन्छ ।
केही वर्ष अघिसम्म पनि सामुदायिक विद्यालयका शिक्षक र प्रधानाध्यापकलाई जुन प्रकारको ‘सामाजिक हैसियत’ प्राप्त थियो त्यो क्रमशः क्षय हुँदै गएको छ । यदि सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि अन्य प्रकारका ‘इन्सेटिभ मेकानिजम’ निकट भविष्यमा तयार गर्न सकिएन भने क्षमता भएका व्यक्ति सामुदायिक विद्यालयको शिक्षक बन्न सक्ने सम्भावना कम हुँदै जान्छ । अहिले विद्यालय र विश्वविद्यालयमा पढिरहेका अब्बल विद्यार्थीमध्ये अति कमले मात्र सामुदायिक विद्यालयको शिक्षक बन्ने चाहना राख्लान् । यसले, फेरि पनि कमजोर मात्रै शिक्षण पेशामा रहन सक्ने सम्भावनालाई बढाएको देखिन्छ । यदि शिक्षण पेशा नै धरापमा पर्यो भने देशको शिक्षा प्रणाली स्वतः धराशायी हुने नै भयो ।
‘शिक्षक मासिक’ कात्तिक-मंसिर २०८३ बाट साभार






















